शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘चलिए पोखरा अभियान’

बुधबार, २१ असार २०७४, १४ : ४४
बुधबार, २१ असार २०७४

पोखरा - भारतीय पर्यटकलाई लक्षित गरी पश्चिमाञ्चल होटल सङ्घको आयोजनामा सुरु गरिएको ‘चलिए पोखरा अभियान’अन्तर्गत पाँच दिने भारत भ्रमण सकेर टोली आज यहाँ फर्केको छ । 

गत असार १६ गते पोखरा र लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्डका अधिकारी र सञ्चारकर्मीसहितको ३० जनाको टोली भारतको विहार र उत्तर प्रदेशको विभिन्न ठाउँको भ्रमण गरी फर्किएको छ । पोखरा र मुलुककै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सो अभियान थालिएको हो । 

टोलीले पटाना, लखनउ, कानपुर, बनारस, गोरखपुर, इलाहावाद र फैजावादमा पोखरा तथा यस वरपरका पर्यटकीय गन्तव्यको प्रचारप्रसार र भारतीय पर्यटकलाई विशेष प्याकेजका साथ पोखरा भ्रमणको निम्तो दिनुका साथै भारतीय पर्यटकसँग अन्तरक्रिया समेत गरेको थियो । 

पटनामा भएको अन्तरक्रिया कार्यक्रममा ‘विहार स्टेट टुरिजम कर्पोरेसन’का जनसम्पर्क अधिकृत गजेन्द्र सिंहले नेपालबारे जानकारी दिने गरी सूचना केन्द्र खोल्न सुझाव दिनुुभयो । पर्यटन व्यवसायी सञ्जय शर्मा, इन्डियन टुरिस्ट ब्यूरो पटनाका निर्देशक अमिताभ मिश्रले पोखरा र काठमाडौँबाट पटनासम्म सिधा हवाईसेवा, वीरगन्जबाट पोखरासम्म सिधा पर्यटक बस सेवा तथा पर्यटकलाई नेपाल भित्र्याउन उचित वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । 

यस्तै लखनउमा भएको कार्यक्रममा उत्तर प्रदेशस्थित भारतीय जनता पार्टीका प्रवक्ता राकेश त्रिपाठीले धार्मिक र सांस्कृतिकरुपमा उत्तर प्रदेश र नेपालबीच नजिकको सम्बन्ध रहेको तथा राम, कृष्ण, जानकी र बुद्धको सन्देशले दुई देशबीचको सम्बन्ध सुदृढ हुँदै गएको विचार व्यक्त गर्नुभयो । 

गोरखपुरमा भएको कार्यक्रममा पर्यटन व्यवसायी अतुल केसरवानीले पोखराको सुन्दरताबाट भारतीय नागरिक मोहित हुने गरेका र गोरखपुरबाट बर्सेनि अत्यधिक सङ्ख्यामा पर्यटक पोखरा पुग्ने गरेको बताउनुभयो । भूकम्प, नाकाबन्दी र तराई आन्दोलनबाट सुस्ताएको पर्यटन व्यवसायलाई उकास्न अभियानबाट सघाए पुगेको पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले बताउनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप