शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विष्फोटको विरोधमा लहान बन्द, मोर्चाले जिम्मा लियो

शनिबार, १० चैत २०७४, १९ : १३
शनिबार, १० चैत २०७४

लहान ।  नाबालकसहित आठजना घाइते हुने गरी शुक्रबार भएको बम विष्फोटका दोषीमाथि कारवाही गर्नुपर्ने माग गर्दै आज सिरहाको लहान बजार बन्द गरियो । 

उद्योग वाणिज्य संघ, लहानको आह्वानमा बिहानैदेखि बजार, पसल बन्द भएको संघका अध्यक्ष सुनिल महतोले जानकारी दिए । 

तीन÷चार महिनादेखि पटक पटक उद्योगी तथा व्यापारीकेन्द्रित विष्फोट र आक्रमण बढेपछि सरकारी निकायलाई सचेत गराउन बन्दको आह्वान गरिएको अध्यक्ष महतोको भनाइ छ । 

“तीन चार महिनामा पटकपटक गरी चार पाँचवटा आक्रमण भए, तर सुरक्षा निकायले यसलाई गम्भीररुपमा नलिएकाले बाध्य भएर बजार पसल बन्द गरेर विरोध जनाएको अध्यक्ष महतोले बताए। 

व्यवसायीको सुरक्षाका लागि प्रशासनले ठोस कदम नचाले अझ सशक्त आन्दोलनका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने अध्यक्ष महतोले बताए । 

लहानबजारस्थित विकास ट्रेडर्समा शुक्रबार कुकर बम विष्फोट हुँदा सात वर्षीय बालकसहित आठजना घाइते भएका थिए । 

विष्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले लिएको छ । मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति जारी गर्दै आर्थिक सहयोग लिन गएका आफ्ना कार्यकर्तालाई प्रहरीद्वारा पक्राउ गर्ने षडयन्त्र गरेकाले चेतावनीस्वरुप प्रेसर कुकर बम विष्फोट गराएको उल्लेख गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप