बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली–रारा पर्यटन वर्ष २०७५

शनिबार, १७ चैत २०७४, १५ : ५२
शनिबार, १७ चैत २०७४

शुरबहादुर सिंह-दिपेन्द शर्मा 
सुर्खेत -“कर्णाली समृद्धिको आधार, पर्यटन र पूर्वाधार” भन्ने मूल नारासाथ ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ मनाउने भएको छ । 

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री तथा “कर्णाली–रारा पर्यटन वर्ष २०७५” का प्रचारप्रसार संयोजक दलबहादुर रावलले पत्रकारहरुबीच आज यहाँ यसको लोगोे, उद्देश्य र महत्व सार्वजनिक गर्नुभएको हो । 

सो अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पर्यटन विकासबाट यो प्रदेशमा समृद्धि ल्याउन तथा राष्ट्रिय अन्तर्राष्ट्रिय समुदायसम्म यसको पहिचान बढाउन “कर्णाली–रारा पर्यटन वर्ष– २०७५” आयोजना गरिएको बताउनुभयो । 

कर्णाली प्रदेश आयोजक रहने गरी मनाउन लागेको “कर्णाली–रारा पर्यटन वर्ष– २०७५” को आगामी वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्नुहुने कार्यक्रम छ । सो कार्यक्रमको प्रत्यक्ष प्रसारण, पत्रकारहरुको सहजताका लागि इन्टरनेटको व्यवस्था गर्न वल्र्डलिङ र मोबाइल टेलिफोनका लागि नेपाल टेलिकमसँग कुराकानी भइरहेको मुख्यमन्त्री शाहीले बताउनुभयो । 

बाह्य तथा आन्तरिक पर्यटकलाई कर्णाली राजमार्ग भएर सहजताका साथ रारा पुग्नका लागि कालिकोटको दहिखोलासम्म सडक डिभिजन कार्यालय सुर्खेत र दहिखोलादेखि जुम्लासम्मको सडक खण्ड सुधारका लागि सडक डिभिजन कार्यालय जुम्लालाई निर्देशन दिइसकिएको छ, उहाँले भन्नुभयो –“कम भन्दा कर्म खर्चले पर्यटन वर्ष मनाउने लक्ष्य राखिएको छ ।” 

यो प्रदेशलाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक पर्यटकीय गन्तव्य बनाइ आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने र गरिबी घटाउने उद्देश्यले “कर्णाली–रारा पर्यटन वर्ष– २०७५” मनाउन थालिएको हो, सामाजिक विकासमन्त्री एवं प्रचारप्रसार संयोजक रावलले भन्नुभयो – “कर्णालीका प्राकृतिक, ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक सम्पदायुक्त पर्यटकीय क्षेत्रको पहिचान, संरक्षण र प्रवद्र्धन गर्ने कार्यमा यसले ठूलो सहयोग पु¥याउँछ ।” 

उहाँले भन्नुभयो, “कर्णाली पर्यटन विकासका लागि अथाह सम्भावना भएको प्रदेश हो, तर यहाँ वर्षमा ५० हजार भन्दा बढी पर्यटकको आगमन भइरहेको छैन, यसको एउटै मात्र कारण हो, प्रचारप्रसार र पर्यटन क्षेत्रको विकास हुन नसक्नु ।” 

आगामी वर्ष पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ “कर्णाली–रारा पर्यटन वर्ष २०७५” मनाउन थालिएको हो, प्रचारप्रसार संयोजक रावलले भन्नुभयो – “कर्णाली–रारा पर्यटन वर्ष २०७५” मा संघीय सरकारका मन्त्री, राजनीतिक दलका प्रमुख, संघीय सभाका सदस्य, नेपाल सरकारका उच्च अधिकारी, विदेशी कुटनीतिक नियोगका प्रमुख, कर्णाली प्रदेशसहित सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख, प्रदेश सभाका सदस्य सबैलाई निमन्त्रणा गरिने छ ।” 

समृद्ध प्रदेशका लागि महत्वाकांक्षी लक्ष्य 

कर्णाली प्रदेशको समृद्धिका लागि यहाँका सरकारले कर्णालीलाई अर्गानिक प्रदेश, डिजिटल प्रदेश, सुरक्षित प्रदेश, पर्यटकीय प्रदेश र हाइड्रो प्रदेश निर्माण गर्ने महत्वाकांक्षी लक्ष्य लिएको छ । त्यही लक्ष्यभित्रबाट यहाँको अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यले पहिलो वर्षमै प्रदेश सरकारले “कर्णाली–रारा पर्यटन वर्ष २०७५” मनाउन लागेको हो । 

वर्षैभरि गरिने पर्यटन गतिविधिका कार्यक्रम भने पर्यटन मन्त्रालयले सार्वजनिक गर्ने मुख्यमन्त्री महेन्द्र शाहीले बताउनुभयो । “सकेसम्म पहाड, हिमाल, वनखोँचमा पैदलयात्रा गर्ने कर्णाली पर्यटकीय पदमार्ग हो, यसलाई त्यही तरिकाले विकास गर्नुपर्छ,” उहाँले भन्नुभयो– “पर्यटकहरुले जुन रुटबाट भएपनि कर्णाली प्रवेश गर्छन्, तिनको सबै अभिलेख राखिने छ ।” 

प्रदेश सरकारले आगन्तुक पाहुनाका लागि अर्गानिक खानासहित होमस्टेको व्यवस्थापन गर्न थालेको छ । त्यससँगै यसले “कर्णाली–रारा पर्यटन वर्ष २०७५” का लागि हेर्न, घुम्न र बस्न लायकका पर्यटकीय स्थान पनि प्रकाशमा ल्याएको छ । 

ती स्थानमध्ये विश्वकै सबैभन्दा अग्लो स्थानमा धान फल्ने जुम्लाको छुमचौर, पातारासी हिमाल, मुगुको छायानाथ मन्दिर, सबैभन्दा ठूलो राराताल, रारा राष्ट्रिय निकुञ्ज, सर्वाधिक उचाइमा रहेको मानवबस्ती डोल्पाको छार्का भोट, शे–फोक्सुण्डो ताल, त्रिपुरासुन्दरी, विश्वकै अग्लो मानिएको कालिकोटको पचाल झरना, रास्कोट, पञ्चदेवल, हुम्लाको लिमी उपत्यका, सबैभन्दा पुरानो हाल्जी गुम्बा, रलिङ गुम्बा, खार्पुनाथदेखि मानसरोवर कैलाशको पैदलयात्रा, नेपाली भाषा तथा सभ्याताको उद्गमस्थल सिञ्जा उपत्यका, तिला त्रिवेणी, चन्दननाथ बाबा र तातोपानी आदि रहेका छन् । 

त्यसैगरी, दैलेखको दुल्लु दरबार र ज्वाला, सल्यानको कुपिण्डे दह, रुकुमको स्यार्पु दह, जाजरकोटको ठाकुरजी दह, सुर्खेतको काँक्रेबिहार, बुलबुले, बराहताल र देउती बज्यै मन्दिर पनि पर्यटकीय स्थान रहेका छन् । त्यस्तै, कर्णाली नदीमा ¥याफ्ङ्दिेखि सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा प्याराग्लाडिङ कार्यक्रम सञ्चालन गर्ने प्रयास भइरहेको जनाइएको छ । 

प्रदेश सरकारले कर्णालीको रैथानेबाली तथा बीउ, यहाँको सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक क्षेत्रको अध्ययन अनुसन्धानमा जोड दिने बताएको छ । प्रांगारिक कृषि पर्यटनमा जोड दिँदै यो प्रदेशको आर्थिक उन्नयनका लागि लगानीमैत्री वातावरण निर्माणमा प्रदेश सरकार लागि परेको सहकारीमन्त्री तथा कर्णाली प्रदेशका प्रवक्ता विमला केसीले जानकारी दिनुभयो । 

उद्घाटनसँगै वैशाख १ गते नै प्रधानमन्त्रीबाट राष्ट्रका नाममा सम्बोधन गर्ने, प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा रारामै कर्णाली प्रदेश सरकारको तेस्रो मन्त्रिपरिषद् बैठक बस्ने, हुम्लाको उत्तरी नाका हिल्सा, कालिकोटको पचाल झरना र डोल्पाको शे–फोक्सुण्डो तालको अवलोकन भ्रमण लगायतका कार्यक्रम तय गरिएको पनि प्रवक्ता केसीले बताउनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप