शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पर्यटकको अभिलेख राखिने

आइतबार, १८ चैत २०७४, १५ : ३१
आइतबार, १८ चैत २०७४

रसुवा -पदयात्राको क्रममा हिमाली क्षेत्र जाने पर्यटकको अभिलेख होटल व्यवसायीले पनि राख्न शुरु गरेका छन् । 

वसन्त ऋतुको आगमनसँगै दोस्रो यामअन्तर्गत लाङटाङ तथा गोसाइँकुण्डलगायत पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएकाले कुन पर्यटक कुन मार्ग प्रयोग गरी कहाँ पुगे र उनीहरूलाई आकस्मिक समस्या परे तुरुन्त उद्धारका लागि सहज वातावरण बनाउन होटलमा पनि अभिलेख राख्ने कार्य अघि बढाइएको जिल्ला प्रहरी प्रमुख शरतकुमार थापाक्षेत्रीले बताउनुभयो । 

पर्यटक बस्ने होटलवालाले पर्यटकको नाम राहदानी नम्बर र उसको देश समेत स्पष्ट हुने गरी अभिलेख राख्नुपर्ने र समय समयमा प्रहरीले खोजेका बखत विवरण दिनुपर्ने सुझाव दिइएको बताइएको छ । 

पहिलो याम मानिने असोज, कात्तिक र मंसिर तीन महिनामा दुई हजार ६३७ विदेशी पर्यटक आएका थिए भने दोस्रो यामअन्तर्गत अहिले एक हजारभन्दा बढी पर्यटक गोसाइँकुण्ड र लाङटाङलगायत विभिन्न हिमाली क्षेत्रको अवलोकनमा गएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । 

पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरी र नेपाल प्रहरीले गस्तीलाई तीव्रता दिएको र पर्यटकलाई सबै क्षेत्रबाट सहयोग मिल्ने प्रहरी प्रमुख थापा क्षेत्रीले जानकारी दिनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप