शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘डाक्टर’ करिश्मा मानन्धर !

मङ्गलबार, २० चैत २०७४, १० : ५१
मङ्गलबार, २० चैत २०७४

काठमाडौं – ‘खुकुरीको घाउ निको हुन्छ बरु, बचनको घाउ निको हुँदैन’ । हाम्रो समाजमा चलन चल्तीमा रहेको यो उखान कतिको जीवनसँग मिल्यो मिलेन थाहा छैन ।

तर नेपाली चलचित्र क्षेत्रकी सदाबहार अभिनेत्री करिश्मा मानन्धरको जीवनमा भने यसले मेल खाएको छ ।

कलाकारिताको ३० वर्षीय लामो यात्रामा उनको शरीरमा कैयौं चोट लागे होलान् । खाटा देखिए पनि ती घाउ अहिले निको भइसकेका छन् ।

तर करिब तीन वर्ष अगाडि राजनीतिमा प्रवेश गर्नेबित्तिकै लागेको एउटा घाउ भने उनको जीवनमा अझै आलै छ ।

प्रसङ्ग हो– केही वर्ष अगाडिको । राजनीति गर्ने उद्देश्यले भर्खर भर्खर डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालमा जोडिएकी थिइन् । त्यही समय पार्टीले एक भेलासमेत आयोजना गरेको थियो ।

उक्त भेलमा उनी पनि सहभागी भइन् । भेलामा धेरैले मन्तव्य राखे । तर पार्टी भित्रकी एक ‘पीएचडी’ महिलाले राखेको मन्तव्यले भने उनको मनमा घाउ बनायो ।

ती महिलाले करिश्मातिर लक्षित गर्दै ‘हाम्रो पार्टीमा एक अनपढ कलाकार पनि छन्’ भनेर टिप्पणी गरेकी थिइन् ।

उक्त टिप्पणीको घाउ उनको मनमा बाणझैं गाडिएको छ ।

सोही घाउ निको पार्न उनी अहिले कम्मर कसेर अध्ययनमा लागिपरेकी छन् ।

आइतबार आफ्नो अभिनय रहेको चलचित्र ‘हिरोज’को प्रचारका क्रममा बानेश्वरको एक रेस्टुरन्टमा भेटिएकी करिश्माले सो समय सम्झिँदै भनिन्, ‘मैले ती महिलालाई त्यति बेला नै भनेकी थिएँ । तपाईं, मैलेझैं ३० वर्ष कलाकारिता गर्न सक्नुहुन्न तर म तपाईंले जस्तो पीएचडी गरेर देखाउन सक्छु । एक दिन डाक्टर करिश्मा मानन्धर लेखेर देखाउँछु ।’

पछिल्लो समय उनी चलचित्रबाट केही टाढा रहेकी छन् । ‘वान वे’ पछि उनको कुनै चलचित्र आएका छैनन् । राजनीति र अध्ययनले उनलाई चलचित्रबाट टाढा बनाइरहेको छ । तर संयोग भनौँ वा के भनौँ आगामी शुक्रबार अर्थात् २३ चैतमा भने उनले अभिनय गरेको दुई चलचित्र ‘हिरोज’ र तिमीसँग’ रिलिज हँुदैछन् । यीमध्ये ‘हिरोज’को उनी मुख्य कलाकार हुन् भने ‘तिमीसँग’को एक गीतमा मात्र उनको अभिनय रहेको छ ।

रिलिजको सँघारमा आफ्नो चलचित्रको प्रचार गर्नु कलाकारको दायित्व पनि हो । तर अभिनेत्री करिश्मा अहिले ‘हिरोज’को मात्र प्रचारमा देखिएकी छन् । चलचित्र ‘तिमीसँग’ भने गीत रिलिज होस् वा पत्रकार भेटघाट कार्यक्रम दुवैमा उनी अनुपस्थित थिइन् ।

‘तिमीसँग’को मात्र होइन ‘हिरोज’को यस अगाडिका केही कार्यक्रममा पनि उनलाई देख्न पाइएन । अहिले के कारण उनी चलचित्र प्रचारमा हिँडिरेहेकी छन् ।

‘दुई महिना यता म कुनै पनि कार्यक्रममा सहभागी भएकी छैन । किनभने मेरो स्कुलको परीक्षा थियो’, उनले लामो सास फेर्दै भनिन्, ‘बल्ल सकियो, अब फ्री भएकी छु ।’
चलचित्रका अबका कार्यक्रममा सहभागी हुने उनले बताइन् । करिश्माले भर्खर सकेको परीक्षा ९ कक्षाको हो । बाहिर निस्कँदा पढ्न नभ्याइने र नपढ्दा परीक्षा बिग्रन डेरले आफू ननिस्किएको उनले खुलाइन् ।

७ कक्षादेखि नियमित अध्यायन थालेकी उनले तीन वर्षदेखि स्कुलको परीक्षा दिइरेकी छन् ।

७ कक्षाको परीक्षा स्कूल नगई दिएकी उनले ८ र ९ को परीक्षा भने स्कूलमा पढेर दिएकी छन् । अहिले अध्ययनमा पास र फेल भन्ने नहुने राम्ररी बुझेकी उनले धेरै अङ्क ल्याएर राम्रो ग्रेडमा पर्न मिहिनेत गरेकी हुन् ।

‘दुई महिनाको तयारी गरेर परीक्षा दिएकी छु । ग्रेड राम्रै आउँछ होला’ उनले खुसी प्रकट गरिन् ।

गोदावरी ललितपुर निवासी उनी अध्ययनका लागि मैतीदेवीको त्रिवेणी पब्लिक स्कुलमा भर्ना भएकी छन् । घरदेखि स्कुल आइपुग्न उनलाई डेढ घन्टा लाग्छ ।

त्यसैले ९ बजेको क्लास भेट्न उनी बिहान ७ बजे नै घरबाट हिँड्छिन् । ३ बजेसम्म क्लासमा बस्छिन् । स्कुलको कारणले गर्दा धेरै समय उनले बिहानको खाना र दिउँसोको खाजा एकसाथ खाने गरेकी छन् ।
कहिले काहीँ उनी घर फर्किंदा ५ पनि बज्छ । उनको दिन स्कुल आउँदा र जाँदा नै बित्छ ।

गोदावरी आसपासमा पनि थुप्रै राम्रा स्कुल थुप्रिएका छन् । तर उनी भने यति टाढा धाउने गरेकी छन् । धेरैले उनलाई घर पायकको स्कुलमा किन भर्ना नभएको प्रश्न गर्ने गरेका छन् ।

‘किनकि म सङ्घर्ष गर्न चाहन्छु । घरछेउकै स्कुलको प्रिन्सिपल मेरै आफन्त छन्, तर म त्यस्तो सजिलो बाटो अपनाउन चाहन्नँ, जेहोस् दुःख होस् भन्ने चाहन्छु ।’ सबैलाई उनले दिने जवाफ हो यो ।

उनले अहिले आएर अध्ययन थाल्नुको पनि एउटा रमाइलो कथा छ । ‘म बेलाबेला अनौठो अनौठो सपना देख्छु, अमेरिकामा हुँदा र नेपालमै आइसकेपछि पनि मैले धेरै पटक युनिफर्म लगाएर स्कुल गएको सपना देखेकी थिएँ,’ उनले ती दिन सझिइन्, ‘मलाई पढ्न नपाएको सधैं पछुतो हुन्थ्यो, सायद त्यही भएर त्यस्तो सपना आएको होला ।’

राजनीति प्रवेशको समय निकै चर्चामा छाएकी उनी अहिले सुस्ताएकी छन् । पार्टीका पछिल्लो गतिविधिमा पनि त्यति सक्रिय छैनन् ।

पढाइमा ध्यान दिन थालेदेखि पार्टीको ठूलो जिम्मेवारी नलिएको उनले खुलाइन् । भनिन्, ‘हप्तामा पाँच दिन स्कुल जानुपर्छ । यो समयमा पार्टीको जिम्मेवारी लिएर के गर्नु ?’

अध्ययनलाई अगाडि बढाउन उनी राजनीति छोड्ने मुडमा भने होइनन् । ‘हप्ताको दुई दिन पार्टीलाई दिन्छु’, उनले रुटिन सुनाइन् ‘सकेसम्म काठमाडौं बाहिर हुने कार्यक्रममा जाँदिनँ ।’

यसका लागि उनले नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग पनि सल्लाह गरिसकेकी छन् । भट्टराईले पनि उनलाई राजधानीे केन्द्रित कार्यक्रम गर्न सुझाएका छन् ।

स्कुल पढ्दा पढ्दै चलचित्र अभिनयमा होमिएपछि उनको पढाइ रोकिएको थियो । उनले अहिले त्यही पढाइ अगाडि बढाइरहेकी छन् ।

उनी अहिले भने आफ्नो पढाइलाई रोक्ने पक्षमै छैनन् । बाँचुन्जेल पढिरहने दृढता उनमा छ । उनलाई पढाइ अगाडि लैजान इखले पनि काम गरिरहेको छ ।

नयाँ शक्ति पार्टी उद्घाटन कार्यक्रममा टुटेफुटेको अङ्ग्रेजी बोलेको कारण धेरैको आलोचना खेपेकी थिइन् । ‘अहिले अङ्ग्रेजीमा धेरै सुधार गरेकी छु,’ उनी भन्छिन् ।

स्कुलमा औपचारिक रूपमै अङ्ग्रेजी किताब र ग्रामर पढ्न थालेपछि उनी अहिले राम्रोसँग अङ्ग्रेजी छाँट्न सक्छिन् ।

केही समयपछि उनी सम्मानका लागि भारत जाँदैछिन् ।

आफूलाई सम्मान गर्ने उक्त कार्यक्रममा अङ्ग्रेजीमा भाषण दिने उनले सुनाइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप