बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले नेताले नबुझेको सामूहिक नेतृत्व

बिहीबार, २२ असार २०७४, १२ : ५३
बिहीबार, २२ असार २०७४

 
एकाध एमाले नेताले पार्टीमा सामूहिक नेतृत्वको अर्थ, आशय र अन्तर्यलाई अपव्याख्या गरेको देखिन्छ । सामूहिक नेतृत्वसम्बन्धी सार तत्व नबुझेर र बढी बुझेर हो कि के हो यसको बराला अर्थ लगाएको पाइन्छ । सतिसाल नामको रुख वा काठ चुरो, गुदी, बोक्रा, हाँगाबिँगा र पातहरूसहित खडा हुन्छ, सुरक्षित र टिकाउ हुन्छ ।

यी सबै पक्ष मिलेर वा सामूहिक रूपमा मात्र सखुवाको काठ सय वर्ष लडा, सय वर्ष पडा र सय वर्ष खडा हुनसक्छ । यसरी अचल अविचल हुन र बन्न सखुवाको बाहिरी र भित्री बोक्रालगायत सबै पक्ष, तत्व र तहको आआफ्नो क्षमता र औकातअनुसार महत्वपूर्ण भूमिका हुन्छ तर त्यही सखुवाको काठ वा रुखलाई दिगो कालसम्म टिकाउने त्यसभित्रको चुरो हो वा चुर नै हो भन्ने कुरा बिर्सियो भने जस जति बोक्राले लिने अवस्था आउँछ । यसरी सही मूल्याङ्न हुँदैन । झरझर बल्ने बत्ती र धिपधिपे बत्ती दुवैले उज्यालो दिने हो तर ती दुईमा आकाश जमिनको फरक हुन्छ । ।

कहाँ चुक घोप्ट्याएको जस्तो घना अन्धकार मास्ने सूर्य, कहाँ टिमटिमे जुनकिरी ? तिनमा कुनै समान साम्य र समानता छ र ? कहाँ समी नामको वृक्षको फराकिलो शीतल छहारी ? कहाँ बकैनाको रुखको बकेर्ना ओत ? कहाँ नदीको अनन्त अविरल प्रवाह कहाँ खहरेको भेल ? कहाँ आकाशको फराकिलो आयतन, कहाँ कुवाको सीमित र सङ्कीर्ण आकाश ? अर्थात् भन्न खोजेको के भने नेतामध्येको नेता नै पार्टीको नेता वा प्रमुख नेतृत्व हो, हुन्छ र हुनुपर्छ । नत्र घिसेपिटे नेताले देश हाँक्ने पार्टीलाई परिचालित गर्नै सक्दैन । यो कुरा त पहिले मात्र होइन, अहिले पनि देखिँदैछ । 


 माक्र्स त माक्र्स नै हुन् नि । म पनि माक्र्स समान हुँ भनेर माक्र्ससहित मेरो वा हाम्रो सामूहिक नेतृत्वमा माक्र्सवादको जन्म भएको भन्न मिल्छ ? यस्तो फुइँ कसले पत्याउँछ ? मानव शरीर चलायमान हुन् र गर्न मुटुको जत्तिको भूमिका अरू कुनै अङ्गको हुन्छ र ? अनि यो शरीर मैले पो सञ्चालन गरेको भनेर खुट्टाले फुइँ गरेको कसले पत्याउँछ ? कुनै पनि पार्टी र अझ एमाले पार्टीमा पार्टीको अगुवा नेता हुन्छ, एउटा अगुवा हुन्छ अरू एक पाइला भए पनि उसका पछि नै हुन्छन् । यस्तो अगुवापन विचार, सिद्धान्त, सिर्जना र सङ्गठन आदि धेरै क्षेत्रमा देखिनुपर्छ । कम्युनिस्ट पार्टी र अझ एमाले पार्टीमा जसको विचार उसैको पार्टीमा प्रमुख नेतृत्व हुन्छ भनिन्छ तर यो चाहिँ मेरो मौलिक नवीन विचार भनेर झिनामसिना कुरा कथुरेर न्यून चेतनाका कार्यकर्ता केही दिन अलमल्याउन त सकिन्छ तर समयक्रममा त्यस खालको नाम मात्रको विचार पानीको फोकाझैँ फुटेपछि फेरि उठ्न गाह्रो हुन्छ । त्यसैले सबै नेताहरू सबै समान क्षमताका हुँदैनन् भन्ने हो ।

क्षमता आर्जन गर्न पनि नसकिने होइन तर समकक्षी नेताको आरिस र डाह गरेर किमार्थ प्रतिभा प्रस्फुटित हुँदैन । कम्तीमा पनि नेताहरूमा उन्नाइस र बीस क्षमताको फरक अवश्य हुन्छ । त्यसमा पनि सैद्धान्तिक श्रेष्ठता, दूरदर्शिता र प्रभावकारिता अरू क्षमताभन्दा पनि विशिष्ट प्रकारको हुन्छ । जनताको बहुदलीय जनवादले अयोग्यहरू मध्येको योग्य होइन, योग्यमध्येको योग्यतम नेतृत्व निर्माण गर्ने सोच राखेको देखिन्छ । त्यसैले सबै नेताहरू अब्बल हुन्छन् भन्ने हुँदैन । सबैमा समान क्षमता, प्रतिभा, सिर्जना र सङ्गठन क्षमता हुँदैन । तर प्रमुख नेतृत्व भनेको दुई वा दुईभन्दा बढी विशेषता र क्षमताको हुनैपर्छ । आफैँभित्रको योग्य र सक्षम नेतृत्वले मात्र गलत विचार र विपक्षीलाई हरहिसाबले परास्त गर्न सक्छ । एमाले पार्टीको आजसम्मको इतिहास हेर्ने हो यो लम्बे अभियानमा कति नेता कार्यकर्ता बीच बाटामै ओइलाए, हराए, सडे र बिलाए पनि तर पुष्पलाल, मनमोहन, साहनाहरू सतिसालझैँ अडिइरहे । जननेता मदन भण्डारीको शिखर व्यक्तित्वका अगाडि मै हुँ भन्ने त्यतिबेलाका माले र एमाले नेता लिलिपुट ठहरिए । अनि मदनसित दाँजिन नै नसक्नेले पार्टीमा आफूलाई पनि मदन बराबर, सरह र साम्य आत्ममूल्याङ्कन गर्न सुहाउँछ ? मदन पार्टीको चुरो व्यक्तित्व हो, जो सय वर्ष लडा, पडा र खडा हुने सामथ्र्य राख्छ । मदन बाहिरी र भित्री बोक्रा व्यक्तित्व होइन तर मदन व्यक्तित्वलाई जीवन्त र सक्रिय र सर्वव्यापक बनाउन अन्य साथ, सहयोगी र सहकार्यकारी तत्वहरूको महत्वपूर्ण भूमिका हुन्छ । गर्नेभन्दा गराउने ठूलो हो । जसरी सखुवाको रूखलाई जीवन्त र टिकाउ बनाउन चुरोसहित अन्य अवयवले महत्वपूर्ण भूमिका खेल्छन् । यो व्यक्तित्व पनि बोक्रा, हाँगा, पातसहित दीर्घजीवी हुन्छ । तर चुरो र बोक्रो किमार्थ समान हुँदैन । अनि मदन र म बराबरी हैसियतका हौँ अनि सामूहिक नेतृत्वका कारण बहुआयामिक अभूतपूर्व रूपमा प्राप्त उपलब्धि र प्राप्तिलाई केवल सामूहिक नेतृत्वका कारण मात्र भन्न सुहाउँछ ? यसरी आफ्नो कम योग्यतालाई मदनसित दाँजेकै भरमा योग्यता वृद्धि हुन्छ ? यसरी आफ्नै पार्टीको प्रभावशाली नेतृत्वलाई कम आँकेर पार्टीको शिर ठडिन्छ ? लामो समयदेखि सामन्ती संस्कार र संस्कृतिमा गाँजिएका कतिपय एमाले उच्च तहका नेताहरू आफ्नो स्वभाव, बेहोरा र आनीबानीलाई अझै पनि माक्र्सवाद र जबजअुनुसार कत्ति पनि परिवर्तित गरिरहेका छैनन् ।

धेरैजसो ठालु पल्टिने स्वभावका छन् । तिनमा मिजासिलो, फरासिलो र कम्रेड्ली भावनाका ठीक विपरीत देखिन्छन् । बरु तिनमा कम्रेड्ली यतना पर्याप्त पाइन्छ । यस्तो स्वभाव प्रायः पार्टीका जुनसुकै समूहका नेता र कार्यकर्तामा देखिन्छ । तीमध्ये अहिले चुनावमा उठेका छन् भने ती अवश्य पराजित हुनसक्छन् । अझ तिनमा पठन मैत्री, बौद्धिक मैत्री, स्रष्टा मैत्री पटक्क छैन । 


हिजोका दिनमा मदन भण्डारीको प्रभावशाली प्रतिभा देखेर भित्रभित्रै जल्ने जस्तो प्रवृत्ति अझै कसैकसैमा पर्याप्त देखिन्छ । यो प्रवृत्तिलाई अझै भुइँ तहदेख नै मलजल गरिरहेको देखिन्छ । एकाध नेतामा यस खालको लोभी लेबी जोगाइरहने बचाइरहने नियत देखिन्छ । यसो गर्दा आफूसहित आफ्ना समूहका वा लबीका असक्षम, अयोग्यलाई कुनै न कुनै राजनीतिक र राजकीय लाभ र शुभलाभ दिने र दिलाउने निकृष्ट नियोजित नियत देखिन्छ ।

आफ्नै लबीका नेता र कार्यकर्तालाई दुश्चरित्र र चिन्तनमा परिवर्तन ल्याउने असल संस्कार र बानी बेहोराका बन्न र बनाउन खासै ख्याल गरिएको छैन । यस खालका बानी बेहोरा मोरङ र सुनसरी जिल्लामा छ्यासछ्यास्ती देखापरेका छन् । धरानबाहेक अझ इटहरीमा हालका सभासद् र उपाध्यक्षमा उठेका उम्मेदवारले यस क्षेत्रका नेता र कार्यकर्तामा लबीगत क्षुद्र र निकृष्ट हरकत गरेको प्रमाणित कुरा यस लेखकको जानकारीमा रहेको छ । इटहरी उपमहानगर पालिका वार्ड नं. ४ निवासी एमाले बौद्धिक कार्यकर्ता तथा सेवानिवृत्त वरिष्ठ शिक्षक गुरुभक्त दाहालले नाम उल्लेख गर्ने गरी र अरूहरूले नाम उल्लेख नगर्ने शर्तमा यस लेखकलाई एमाले भित्रको चुनावी कुचालको सुइँको दिएका छन् । यसरी नियोजित रूपमा अहिले पनि निकृष्ट गुटगत कालकुट चिन्तन र चरित्र प्रदेश नं. १ का तराई क्षेत्रमा मलजल गरिएको छ । केही उपल्ला तहका एकाध नेताले के.पी. शर्मा अध्यक्ष र प्रधानमन्त्री रहेर गरेका दूरगामी कामहरू सामूहिक नेतृत्वका कारण भएको भनेर ओलीको प्रभावशाली शिखर र राष्ट्रवादी उदाहरणीय र अनुकरणीय व्यक्तित्वलाई पूरै ओझेल पार्ने गरी सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् ।

मानाँै अहिलेसम्मको पार्टी र पार्टी नेतृत्वको सरकारले गरेका अभूतपूर्व र दूरगामी कामहरूमा ओलीको खासै कुनै महत्वपूर्ण भूमिका नै छैन र थिएन । यसरी सार्वजनिक अभिव्यक्ति गर्ने ती नेताले पार्टीभित्र र आफ्ना सङ्कीर्ण समूह र लबीमा के–के बराला खुसखुस र घुसघुस गरे होलान् स्वतः अनुमान गर्न सकिन्छ । यस खालको गुप्त कू हर्कत नगरेको भए एमाले पार्टीको निर्वाचन परिणाम योभन्दा अझै बढी हुने निश्चित थियो । तर पार्टीका जिल्ला, नगर र गाउँका अध्यक्ष,  पदाधिकारी, सदस्यहरू समेत अन्तर्घातमा खुल्ला रूपमा लागेको नामनामेसीसहित यस लेखकलाई जानकारी छ । यसमा घटीबेसी सबै पार्टी समूह लागेको सुइँको पाइएको छ । 

 गुणी जनले मात्र गुणको कदर गर्छ । तर एमाले पार्टीको उपल्ला तहमा यस खालको स्थिति कमै देखिन्छ । दोस्रो चरणको निर्वाचनका बेला कथित लबीका आफ्नै पार्टीका केही उम्मेदवारलाई एमाले नेताहरूले अन्तर्घात गर्न र गराउन लगाएर हराएको कुराबाट स्पष्ट हुन्छ । 


 अहिले त ओलीको बहुआयामिक, प्रभावशाली तथा शिखर व्यक्तित्वको सही सत्यतथ्य चर्चा गर्दा पनि एकाध एमाले वरिष्ठ नेता पार्टी नेतृत्वलाई देवत्वकरण गर्न खोजिएको भनेर कोकोहोलो मच्चाउँछन् र आत्तिन्छन् । के विशिष्ट श्रेणीको अमुक विद्यार्थी, व्यक्ति र प्रतिभालाई विशिष्ट क्षमतावान् भन्दा देवत्वकरण गरिएको हुन्छ र ठहर्छ ? यस खालका पानीका फोका सरहका छिनछिनमा फुट्ने कुरा सुन्दा अचम्म लाग्छ । यही चालामाला रहिरहने लक्षण पार्टीमा अझै थिग्रिने अवस्था छ । तसर्थ के.पी. शर्मा ओलीको नेतृत्व आगामी दसौँ पाटी महाधिवेशन पछि र आगामी सरकारमा पनि अझै अपरिहार्य देखिन्छ । केही नेता असमयमै आगामी दसौँ महाधिवेशनको भित्री तयारीमा लागेझैँ आफ्ना भँडासाहरू उजागर गरिरहेका छन् । ओली नेतृत्व अझै आगामी दिनहरूमा कायम नरहने हो भने अहिलेका सारा उपलब्धि र प्राप्तिहरू मदन भण्डारीको निधनपश्चात् बिलाएझैँ हराउने निश्चित देखिन्छ । 


  एमालेका एकाध वरिष्ठ नेताहरू आफ्ना राजनीतिक र राजकीय प्रमुख नेतृत्वको कार्यकालमा भए गरेका सामान्य कामको पार्टीका खुल्ला कार्यक्रमहरूमा आफैँ निक्कै बढाइ गर्छन् । यसले गर्दा अर्को नेतालाई पनि आफ्नै कार्यकालका महत्वपूर्ण पक्षहरू आफैँले उजागर गर्न बाध्य हुनुपर्ने अवस्था देखिएको छ । अरूहरूले आफ्ना नेतृत्वका सामान्य काम भन्ने अनि अर्कोले विशिष्ट र महत्वपूर्ण काम र क्रियाकलाप नभन्ने गर्दा आम कार्यकर्ताहरूमा महत्वपूर्ण काम गर्नेका कुरा ओझेल पर्ने खतरा देखियो । अनि आफ्नो बखान आफैँ नगरौँ भन्दा भन्दै पनि आफैँ बोलेर पनि चामल भनी पिठो बेचेर आम जनता र कार्यकर्ताहरूलाई भ्रमित पार्नेहरूलाई जवाफ दिन पनि बोल्नै पर्ने देखिन्छ । नत्र कम्युनिस्ट पार्टी र त्यसमा पनि एमाले जस्तो पार्टीमा म, मेरो र आफ्नो भनेर आफ्नो कार्यकालका कामहरू बताउनु नै पर्ने थिएन ।

एउटा उखान नै छ नि देश, काल र ठाउँ अनुसार हिँड्नु बोल्नु र व्यवहार गर्नु भन्ने । अमुक एमाले वरिष्ठ नेताले मेरो कार्यकालमा सङ्गठित सदस्यको सङ्ख्या यति हजार बढेको बताउँथे । अर्का नेताले आफू उपप्रधानमन्त्री भए पनि प्रधानमन्त्री सरह भएर सरकार सम्हालेको सगर्व उल्लेख गर्थे । मानौँ मनमोहन अधिकारी प्रधानमन्त्री भए पनि उहाँ त थपना मात्र हुनुहुन्थ्यो । यसरी आफूले नै आफ्नो बखान आफैँले सगर्व उल्लेख गर्दा देख्दा श्रोतालाई नै असहज हुन्थ्यो । अझ परोक्ष रूपमा एमालेभित्र आफू मात्र प्रभावशाली, सक्षम र कुशल नेता हुँ भनेको पनि अन्तर्वाताको क्रममा बारबार सुन्नुपर्छ । कतिपय अवस्थामा पार्टीले गरेका उपलब्धि र प्राप्तिको चर्चा गर्दा आफू नेतृत्वको सामान्य चर्चा पार्टीअन्तर्गत रहेर गर्नु अनुचित हुँदैन ।

तर आफ्नै मात्रै केही नगण्य उपलब्धिलाई कान नै पाक्ने गरी भन्नु तर त्यसभन्दा पनि विशिष्ट र महानतम उपलब्धि, प्राप्ति र यसको प्रमुख नेतृत्वको नामसम्म नलिनु सरासर अस्वस्थ तरिका हो । यस्ता कुरा कथुरेर पार्टीमा सामूहिक नेतृत्वको कृत्रिम मुद्दाको पैरवी गर्नु बेकार छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बद्रीविशाल पोखरेल
डा. बद्रीविशाल पोखरेल
लेखकबाट थप