बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

खानाको विवादमा अल्झेकोे समाज

शनिबार, २४ चैत २०७४, ११ : ३२
शनिबार, २४ चैत २०७४

राहुल सांकृत्यायनले एक ठाउँमा के लेखेका छन् भने उनी हिँड्दै डुल्दै कुनै गाउँमा पुगे । त्यहाँ निकै स्वागत गर्दै उनलाई खाना टक्र्याइयो । खाना खाने क्रममै उनले– ‘के मासु हो, निकै मीठो रहेछ’ भनी सोधेछन् । परिवारका सदस्यले गाईको मासु हो भनेपछि उनलाई ‘कसो–कसो’ भएछ । यो घटनालाई विस्तृत रूपमा उल्लेख गर्दै उनले ‘गाईको मासु भन्ने बित्तिकै मभित्रको ब्राह्मण जागेछ’ भनेर लेखेका छन् । 

केही समयअघि भारत हुँदै नेपालमा गाईको मासु खान हुने कि नहुने भन्ने विषयमा निकै बहस भइरहेको छ । भारतमा सन् २०१४ पछि सरकारमा स्थापित भएका नरेन्द्र मोदीले हिन्दु धार्मिक अतिवादलाई बढावा दिँदै गाईको मासु काट्न र खान नपाइने बताएपछि त्यसले समग्र भारतलाई दुई ध्रुवमा विभाजित गरिदियो । 

राज्यले कसले के खान हुने र के खान नहुने भनेर निर्देशित गर्नु भनेको तानाशाही व्यवस्थाको प्रारम्भिक आभास भएको भनी भारतमा त्यत्रो बहस चल्यो तर सरकारी निर्णय कायमै राखियो । त्यो भारत हो, जहाँ त्यस्ता शासकले हाल सत्ताको सञ्चालन गरिरहेका छन् । तर नेपाल जो हालै मात्र राजतन्त्र फालेर गणतन्त्रमा प्रवेश गर्दै धर्मनिरपेक्ष भएको छ, त्यस्तो देशमा पनि कसले के खान हुने र नहुने बहस आफैमा उदेक लाग्दो हो । 

तथापि बहसको सुरुवात भइसकेपछि त्यसका विविध आयामहरूमा कुरा हुनु, छलफल हुनु स्वभाविक हो । कृषि युग सुरु हुनुभन्दा अगाडि आदिम कालमा मानिस झुण्ड बनाएर जनावरहरूको शिकार गर्ने तथा फलफूलहरू जम्मा पार्दै आफ्नो गुजारा चलाउँथ्यो । त्यो समाज हरिण, मृग, गाई, भैंसी, सुँगुर अथवा कुकुर जे भेटे पनि शिकार गरेर खाने समाज थियो । त्यतिबेला शिकार गर्ने जनावरको छनोट गर्नुभन्दा पनि त्यसको उपलब्धता महत्वपूर्ण थियो । 

इतिहास खोतल्दै जाने हो भने लगभग तीन सय पुस्ता अगाडिका पुर्खाहरूले जीवन धान्नका लागि के–के खाए होलान् ? आज हामीले अनुमान मात्रै गर्न सक्छौँ । हिजोआज पनि भौगोलिक, सामाजिक रीतिथिति, बनोट तथा संस्कारअनुसार नै मासु तथा पशुपक्षीको भोग गर्ने चलन छ, जसमा विविधता हुनु स्वभाविक हो । 

उदाहरणका लागि पेरुमा बिरालो, चीनमा सुँगुर र कुकुर, भियतनाम, दक्षिण कोरिया र जापानमा भ्यागुतो, थाइल्यान्डमा किराहरू, भारतमा खसी, गाईदेखि कुकुरसम्म खाने समुदाय छन् । भारतमा त कतिसम्म भने ओडिसा राज्यले आफ्नो प्रदेशका किसानहरूलाई प्रोटिनको मात्रा पूरा गर्न मुसा खान आह्वान नै गरेको थियो । मानव जातिले नखाएको सायदै कुनै जनावर होला । 

विश्व परिदृश्यबाट यदि हामी भारतीय उपमहाद्वीपमा आउने हो भने यहाँ गोमांस अर्थात गाई खाने प्रचलन इतिहासमै उल्लेख छ । भारतीय उपमहाद्वीपमा गाई खाने परम्पराबारे प्रसिद्ध भारतीय लेखक नीरद चौधरीको ‘द कन्टिनेन्ट अफ किर्की एनएस्से अन द पिपुल अफ इन्डिया’ तथा डीएन झालेको ‘द मिथ अफ द होली काउ’मा प्राचीन भारतमा उच्च जातका हिन्दु ऋषिहरूले समेत गोमांस खाने गरेको उल्लेख गरेका छन् । 

चौधरीका अनुसार वेदमा गाईप्रतिको लगाव त्यसको आर्थिक उपयोगितासँग मात्र जोडिएको थियो न कि धर्मशास्त्रसँग । त्यस्तै ‘हिस्ट्री अफ धर्मशास्त्र’ र ‘हिस्ट्री अफ कल्चरल पोइटिस’ लगायत किताबका लेखक तथा संस्कृतिविद डा. पान्दुराम बमन काणेले गाईलाई पवित्र मान्नुभन्दा पहिला हिन्दु समाजमा गोमांस चल्थ्यो भनेर उल्लेख गरेका छन् । 

वैदिक कालमा गाई पवित्र मानिन्थ्यो र पवित्र भएकै कारण गोमासको सेवन गर्नुपर्छ भन्ने धारणा समाजमा व्याप्त थियो । वैदिक कालको हिन्दु विधिशास्त्र ऋग्वेदमा तत्कालीन आर्यहरूले गोमांस सेवन गरेको दृष्टान्त नै छ । ऋग्वेद १०.८६.१४ मा ईन्द्रले सम्बोधन गर्दै एक पल्ट ५ भन्दा बढी गोरु पकाए भनिएको छ । 

त्यस्तै ऋग्वेद १०.९१.१४ मा अग्निका लागि घोडा, गोरु, साँढे, थारो गाई र भेडाको बलिदिइएको कुरा स्पष्ट उल्लेख छ । ऋग्वेद १०.७२.६ मा गाईलाई तरबार या कुल्हाडी प्रयोग गरी बध गर्न सकिने लेखिएको छ । ऋग्वेदमा उल्लेखित यी सन्दर्भहरूलाई आधार मान्दा तत्कालीन समयमा ब्राह्मण र गैरब्राह्मण हिन्दुहरूले गोमांस सेवन गरेको कुरा स्पष्ट हुन्छ ।   

तर गोमांसमा प्रतिबन्ध भने धेरैपछि मात्र लगाइयो । गौतम बुद्ध अनिश्वरवादी थिए । उनको प्रभाव भारतीय भूमिमा निकै बढ्दै थियो । बुद्धको विचारधाराले तत्कालीन भारतीय समाजको वैदिक संस्कृतिलाई निकै चुनौती थपिँदै आएको विश्वास बलियो हुँदै गइरहेको थियो । डा. भीमराव अम्बेडकरले समग्रमा सिङ्गो जात व्यवस्था र बौद्धकालीन जाति व्यवस्थाबारे अनुसन्धान गरेर ‘द अन्टचेवल्स’ नामको पुस्तक नै प्रकाशित गरे । 
जसमा उनले गौमांसको अभ्यास कसरी छोडियो भन्ने कुरा लेखेका छन् । उनले गौमांस परित्याग कुनै धर्मका कारण नभई तत्कालीन ब्राह्मणहरूको युद्ध नीति भएको लेखेका छन् । गौतम बुद्धले आर्यहरूद्वारा यज्ञमा गरिने पशुवलीको विरोध गरेको थिए । यसबाट प्रभावित भएर बहुसङ्ख्यक मानिस बुद्धधर्म अँगाल्न थालिसकेका थिए । 

यसकारण भारतमा जबरजस्ती बौद्धहरूको सङ्ख्या बढ्ने र हिन्दुहरू कमजोर हुने भयका कारण धर्म बचाउने नाममा हिन्दूहरूले गौमांस छोड्न र साकाहारी बन्न अभिप्रेरित भएका थिए, जुन उनको इख र युद्धको रणनीति थियो । तर कालान्तरमा यही भाष्य अपभ्रंश हुँदै धार्मिक मान्यताको आधार बन्न गयो । पछि मानिसहरू सूर्यलाई भगवान ठानेर पूजा गर्न थाले जस्तै गाईलाई पनि ‘गौमाता’ भनेर पूजा गर्न थाले । 

मावनशास्त्री डोरबहादुर विष्टले वि.सं. २०५२ साल जेठतिर दिएको एउटा अन्तरवार्तामा उनले नेपालमा गोमांसको प्रचलन उहिलैदेखि रहेको उल्लेख गरेका छन् । विष्टका अनुसार खस–आर्यहरू पशुपालक र घुमन्ते हुुन् । सोही कारण उनीहरू छिटो हिँड्ने जनावर गाई, घोडा, भेडाबाख्रा र कुकुरजस्ता जनावर लिएर नेपालको पश्चिमबाट बसाइँ सरेको उल्लेख गरेका छन् । 

तर यहाँका किराँत जातिहरू भने हिमालको फेदमा, दक्षिण चीन, बर्मा, थाइल्यान्डलगायत घना जङ्गल भएको ठाउँमा बसोबास गर्ने भएकाले उनीहरूले ढिलो हिँड्ने जनावरहरू भैँसी, सँुगुर पाल्थे र उनीहरू बिस्तारै पश्चिमतिर बढेको उल्लेख गरेका छन् । खस आर्यहरू पूर्वतिरबाट बाटोमा भेटिने ससाना समूहलाई जित्दै आफ्नो अधिपत्य कायम गर्दै अगाडि बढ्दै जाने क्रममा उनीहरूले जितेको ठाउँहरूमा खस–आर्यहरूले गाई खान बिस्तारै प्रतिबन्ध लगाउँदै गएको स्पष्ट पारेका छन् । 

उनका अनुसार पनि खसआर्यहरू पहिलेदेखि नै गाई–गोरुको सेवन गर्दै आइरहेका थिए । तर पछि विस्तारै धर्म रक्षाका लागि भन्दै उनीहरूले गाई खान प्रतिबन्ध लगाउन थाले । मल्लकालमा जयस्थिति मल्लले हिन्दु वर्णाश्रम अनुसार चार जात र छत्तीस वर्णमा समाज विभाजन गरेपछि भने गाई खाने र पुज्नेबीच झनै ठूलो खाडल देखा प¥यो । यही सिलसिलालाई कायम राख्दै जङ्गबहादुर राणाले वि.सं. १९१० मा मुलुकी ऐन जारी गरेर कानुनमै गाईलाई संरक्षण गर्ने अवधारणालाई कानुनी मान्यता दिए ।  

उक्त ऐनमा गाई काट्नेलाई जातअनुसार सजाय स्वरूप ज्यानै मासिदिने प्रावधान राखियो । यसरी नेपालमा लिच्छवीकालदेखि अहिलेसम्म गाईले धार्मिक र कानुनी संरक्षण पायो । विष्टका अनुसार गाई खानेहरूले भने त्यो अवधिमा पनि गाईको मासु खाइ नै रहेका थिए । मानवशास्त्री विष्टकै भनाइलाई आधार मान्दा नेपाललाई कानुनी रूपमा नै हिन्दू राज्य बनाएपछि गाई काटे सजाय हुन्छ भन्ने अवधारणा प्रयोगमा ल्याइएको हो । राणाशासनमा राजनीतिकर्मीले, पञ्चायती व्यवस्थामा दलीय पक्षधर राजनीतिकर्मीले जस्तै नेपालमा इतिहासदेखि नै गाई खाने समुदायले दमनकारी राज्यव्यवस्थाकै कारण लुकी हिँड्नु परेको हो । 

मानिसहरूको खानपान तत्कालीन समय, वातावरण र भूगोलबाट प्रभावित हुने हुनाले कुनै एउटा समुदायको खानालाई कुनै अर्को समुदायको खाना बनाइनु हुँदैन । संसारभरको अनुभवका आधारमा मानिसहरूलाई भूगोल, आवश्यकता र उपलब्धता जे सजिलो हुन्छ, त्यहीअनुसार हामीले खानाको निर्माण गरेका छौँ । त्यसैले विश्वभरी मानिसले अखाद्य वस्तु वा पदार्थबाहेक सबै कुराको भोग गर्ने गर्छ । 

अपवादलाई छोडेर हरेक घरमा परिवारका सदस्यबीच पनि व्यक्तित्व, व्यवहारगत र विषयलाई बुझ्ने सवालमा एकरूपता भेटिँदैन । तर पनि परिवार व्यवस्थित भएकै हुन्छ । सबैको विविधता र विविध रुचि वा आवश्यकतालाई सम्मान गर्न सकिएन भने परिवार कसरी परिवार जस्तो रहला ? परिवार समाजको विम्ब हो तर परिवारको रुचिलाई सम्मान गर्न चाहनेहरू समाजमा रहेको विविधतालाई सम्मान गर्ने पक्षमा देखिँदैनन् । उनीहरू हिन्दु ब्राह्णवादी सोचबाट ग्रसित भएर गाई खान चाहने अथवा लामो समयदेखि खाइरहेका लागि पनि खान पाइदैन भन्दैछन् । 

त्यसैले मानिसहरूका एक समुदायले आफ्नो प्रतिष्ठालाई गोमांस खानु र नखानुसँग जोडिनु पनि हानिकारक नै हुन्छ । त्यति मात्र होइन, यी दुई समूहको अहम्को प्रतिस्पर्धाले गर्दा अमुक पशुले नै दुःख पाएका उदाहरण पनि छन् । हिन्दुहरूले गाईलाई पूजनीय बनाएका कारण बूढो भएको गाई, गोरु या बाच्छा सडकमा त्यसै अलपत्र छोडिएका छन् । त्यस्तै अर्को पक्षले पनि हिन्दुको घृणाको रिस अबोध पशुमाथि थोपरेर यदाकदा हिंसामा उत्रेका उदाहरणहरू पनि छन् । 

त्यसैले आफ्नो हात त्यति मात्र हल्लाउनुपर्छ जसले अरूको नाक नछोओस्, यही लोकतन्त्रको सौन्दर्य हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रूपकुमार विक
रूपकुमार विक
लेखकबाट थप