शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

त्योबेला राजदूतले भारत सरकारलाई गलत रिपोर्ट दिए (डा. निहार नायकसँग अन्तरवार्ता)

मङ्गलबार, २७ चैत २०७४, ११ : १८
मङ्गलबार, २७ चैत २०७४

 
नेपाल भारत सम्बन्धका जानकार एवम् अनुसन्धाता डा. निहार नायक जो इन्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिसका रिसर्चर हुन् ।

नयाँ दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिमा पीएचडी गरेका छन् । नेपाल भारत सम्बन्धमा पुस्तक प्रकाशनसमेत गरेका नायक नेपालका प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको भारत भ्रमणप्रति निकै सकारात्मक छन् ।

यस भ्रमणले यी दुई देशबीच सम्बन्धलाई अझै बलियो बनाएको मात्रै भनेन् भविष्यमा पनि यसले सकारात्मक सन्देश दिने बताउँछन् ।

दिल्लीमा भेट भएका नायकसँग प्रधानमन्त्री ओलीको भारत भ्रमणका विषयमा एसके यादवले गरेको  कुराकानीः  

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारतको भ्रमण सकेर स्वदेश फर्किसक्नुभएको छ, यस भ्रमणलाई सबै सकारात्मक र उत्साहको रूपमा लिएको छ । यसमा तपार्इंको के धारणा छ ?
–वास्तावमा यस पटक नेपालका प्रधामन्त्री केपी शर्मा अ‍ोलीको भारत भ्रमण सफल भएको र त्यो फलदायी रहेको छ । यसअघि पनि थुप्रै पटक नेपालका प्रधानमन्त्रीहरू भारत भ्रमण गर्नुभएको थियो तर त्यो त्यति फलदायी देखिएको थिएन । यस पटकको भ्रमण सफल भएको मान्नुपर्छ ।

के कारणले तपाईं सफल मान्नुहुन्छ ?
–प्रधानमन्त्री केपी शर्मा ओली यसअघि पनि भारत भ्रमण गर्नुभएको थियो । त्यो भ्रमण र यो भ्रमणको तुलना गर्नुभयो भने त्यसैमा फरक देख्न सकिन्छ । त्यो बेला संयुक्त प्रेस विज्ञप्ति जारी भएको थिएन । यस पटक जारी भएको छ । त्यो विज्ञप्तिमा तीन मुख्य कुरालाई उठाएको छ । एउटा हो जलमार्गका विषय, अर्को पाइपलाइन र तेस्रो कृषि हो र यो निकै महत्वपूर्ण कुरा हो । यसअघिको भ्रमणमा यी कुराहरू उठेका थिएनन् । अर्को महत्वपूर्ण कुरा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एयरपोर्टमा रिसिभ गर्नका लागि गृहमन्त्री राजनाथ सिंह जानु पनि महत्वपूर्ण कुरा हो । क्याबिनेटमा प्रधानमन्त्रीपछि गृहमन्त्री राजनाथ सिंह मर्यादाक्रममा दोस्रो हुनुहुन्छ ।  

जुन कुराहरू तपाईं भन्नुभयो, यी सबै कुरा पुरानै हुन् तर यी कुराहरू त्यति बेलाको भ्रमणहरूमा किन उठेनन् त ?
–त्यतिबेला संविधान निर्माणको क्रम थियो । त्यसले गर्दा दुई देशबीच केही मिस कम्युनिकेसन भएको थियो । संविधान निर्माण भइसकेपछि भारतले त्यसलाई सुधार गर्न अर्थाथ संशोधन गर्न दबाब दिइरहेको थियो । त्यसले गर्दा अलिकति दुई देशको बीचमा मनमुटाव थियो । यस्तो मनमुटावको बीचमा यी विषयहरू छलफल मात्र होइन कि संयुक्त विज्ञप्ति पनि जारी भएको थिएन ।

संविधान निर्माणको विषयमा भारतले पहिला जे अडान लिएको थियो त्यो त अहिले पनि समाधान भएको छैन । अहिले पनि त्यहाँ यी विषयहरू मुख्यरूपमा उठिरहेको छ तर भारतले यस पटक ती विषयलाई प्राथमिकतामा राखेन किन ?
–मेरो विचारमा संविधानसँग जोडेर उठाइएका विभिन्न मुद्दाहरू लगभग समाधान भएको छ । उठाइएका मुद्दाहरू कार्यान्वयनमा आइसकेको छ । त्यही भएर भारतले यसलाई यस पटक मुद्दा बनाएन । संविधानको विषय नेपालको आन्तरिक विषय हो, जो भारतले बुझेको छ र त्यसलाई त्यसैगरी समाधान गर्न चाहेको छ ।

मधेसको मुद्दा कतिपय जायज भए पनि अधिकांश मुद्दा भावनात्मक रहेको छ । मधेसवादी दलले उठाएका मुद्दामध्ये ८० देखि ९० प्रतिशत मुद्दा समाधान भइसकेका छन् ।

यो कसरी सम्भव भयो जुन मुद्दा भारतले दुई वर्ष अगाडि उठाएको थियो । त्यो मुद्दा नेपालमा समाधान भएन र अहिले भारतले त्यसलाई प्राथमिकतामा राखेन किन ?
–तपार्इंलाई याद होला भारतका विदेश मन्त्री सुष्मा स्वराज नेपाल भ्रमणमा गएको बेला मधेसवादी दललाई बडो स्पष्ट रूपमा भन्नुभएको थियो कि संविधान निर्माण र त्यसको संशोधन तपाईंहरूको आन्तरिक मामला हो । यसलाई तपाईंहरू आफ्नो तरिकाले सेटल गर्नुहोस् । यसमा हाम्रो कुनै प्रकारको हस्तक्षेप हुँदैन, तर सरकार निर्माण र विकास निर्माणमा मिलेर काम गर्नुस् । यो भन्नुको अर्थ के हो भने भारतले आफ्नो नीतिमा परिवर्तन गरेको छ । पहिला जे कुरा बुझेको थियो, त्यो कुरामा फरक भएको छ । पहिला गलत रिपोर्ट भएको थियो । नेपालको बारेमा भारतलाई कसैले गलत रिपोर्ट गरेर भ्रमित गरेको थियो । तर अहिले आएर सुध्रिएको छ । त्यो कुराको रिलायज भारतले पनि गरेको छ ।

भन्नाले जे कुरा भारतले पहिला बुझेको थियो त्यो गलत थियो, अब जे बुझेको छ त्यो सही हो ?
–हो, त्यो बेलाका नेपालका लागि भारतीय राजदूत जो हुनुहुन्थ्यो उहाँले भारत सरकारलाई गलत रिपोर्ट दिनुभएको थियो । त्यही रिपोर्टअनुसार यहाँका सरकारले नेपाल सरकारसँग व्यवहार गरेको थियो । जुन कुरा अहिले आएर गलत सवित भएको छ । भारत सरकारले हामी गलत थियौं भन्ने कुरा बुझेको छ ।

त्यसो भए भारत सरकारको बुझाइमा नेपालमा मधेसी, आदिवासी जनजातिहरूले उठाएको माग सबै गलत हुन् भ्रमित हुन् त ?
–त्यो माग गलत हो भनेर म भन्दिनँ । आदिवासी जनजातिको मुद्दा आजको होइन, पृथ्वीनारायण शाहको पालादेखि हो । मधेसको मुद्दा कतिपय जायज भए पनि अधिकांश मुद्दा भावनात्मक रहेको छ । मधेसवादी दलले उठाएका मुद्दामध्ये ८० देखि ९० प्रतिशत मुद्दा समाधान भइसकेका छन् । मधेसवादी दलले संविधानलाई स्वीकार गरेर चुनावमा भाग लिएको छ । प्रतिनिधिसभामा सहभागी भएको छ । तपाईं नै भन्नुस् अब के समस्या छ । जेजेति कुराहरू उठिरहेका छन्, ती सबै भावनात्मक मात्र हो ।

मेरा विचारमा पाकिस्तानका प्रधानमन्त्री नेपालको भ्रमण गर्दा भारतलाई कुनै समस्या हुनुहुँदैन र सायद भएको छैन । किनभने नेपाल र पाकिस्तानबीच आफ्नै खालको सम्बन्ध रहेको छ । आफ्नो सम्बन्धका आधारमा त्यसरी भ्रमण हुनु कुनै अनौठो होइन ।

नेपाल र भारतबीच जुन तिक्तता थियो त्यो यो भ्रमणले हटाएको छ भन्नु भएको हो ? त्यसो भए अब कुनै प्रकारको मिस अन्डरस्ट्याडिङ हुनेछैन ?
–पक्कै पनि यो भ्रमणपछि नेपाल भारतको सम्बन्धमा केही न केही सुधार हुन्छ । त्यो कुरा आउने दिनमा देखिनेछन् । अर्को कुरा यस प्रकारको उच्च स्तरीय भ्रमणमा स–साना कुरामा ख्याल गरेको हुँदैन । जस्तो कि नेपाल भारत बोडरमा समस्या छ । त्यहाँका सुरक्षाकर्मीले अनावश्यक चेकिङ गरिरहेका हुन्छन् । नेपालीलाई सीमा काट्न निकै समस्या भइरहेको हुन्छ । अर्को कुरा भन्सार हो । भन्सारमा नक्कली कामहरू भइहरेको कुरा पनि उठिरहेको छ । नक्कली बिल बनाएर मालसमान यताबाट उता बठाइरहेको हुन्छ । अर्को कुरा कृषिजन्य वस्तुको चेकजाँच पनि समस्या भएको छ । त्यसलाई पनि सुधार गर्नुपर्ने अवस्था देखिएको छ । यस्ता साना साना कुरा भ्रमणमा उठिरहेका हुँदैन । टुरिज्म सर्किटको विषयमा त्यति कुरा उठ्दैन ।

तपार्इं नेपाल र भारतको विषयमा गहिरो रिसर्च गर्नुहुन्छ, बुझ्नुहुन्छ । नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गरेपछि आएको संयुक्त विज्ञप्तिमा उल्लेख भएको विषयमा मात्र छलफल भएको हो कि आन्तरिक रूपमा अरू केही कुरा भएको छ ?
–मेरो विचारमा दुई प्रधानमन्त्रीका बीचमा सार्क सम्मेलनको विषयमा कुराकानी भएको हुनसक्छ । पाकिस्तानी प्रधानमन्त्री नेपालको भ्रमण गर्नु त्यसैको एउटा कडी हो । पाकिस्तानका प्रधानमन्त्रीले नेपालको भ्रमण गरे र त्यहाँका प्रधानमन्त्रीसँग सार्कको विषयमा कुरा गरेका होला । त्यही विषयलाई ओलीजीले हाम्रो प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा उठाउनु भएको होला ।

पाकिस्तानका प्रधानमन्त्रीले नेपालको भ्रमण गर्नुभयो । सायद त्यो आकस्मिक नै थियो त्यसलाई भारतले कसरी लिएको छ ?
–मेरा विचारमा पाकिस्तानका प्रधानमन्त्री नेपालको भ्रमण गर्दा भारतलाई कुनै समस्या हुनुहुँदैन र सायद भएको छैन । किनभने नेपाल र पाकिस्तानबीच आफ्नै खालको सम्बन्ध रहेको छ । आफ्नो सम्बन्धका आधारमा त्यसरी भ्रमण हुनु कुनै अनौठो होइन । किनभने भारत र नेपालको सम्बन्ध नै यस्तो छ कि कुनै देशसँग यो सम्बन्धको तुलना गर्न सकिँदैन । पाकिस्तान मात्र होइन चीनसँग पनि नेपाल र भारत सम्बन्धको तुलना हुन सक्दैन । त्यसैले पाकिस्तानी प्रधानमन्त्री नेपालको भ्रमण गर्नु भारतका लागि कुनै टाउको दुखाइको विषय होइन ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा कुनै छिमेकी देशको विरुद्धमा नेपालको भूमि प्रयोग हुन दिन्नौं सामनाका आधारमा सबै देशसँग हाम्रो सम्बन्ध रहन्छ भन्नुभएको थियो । यसको अर्थ के हो ? के भन्न खोज्नुभएको हो उहाँले ?
–प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले जुन स्टेटमेन्ट दिनुभएको छ, त्यो धेरै नै महत्वपूर्ण कुरा हो । कुनै देशको प्रधानमन्त्रीले भन्नुपर्ने कुरा नै यही हो । यस्तै खालका प्रतिबद्धताहरू आउनुपर्छ । छिमेकी देशलाई विश्वासमा लिएर काम गर्नुपर्छ भन्ने बुझाइ उहाँको स्टेटमेन्टबाट बुझ्न सकिन्छ । चाहे त्यो सुरक्षाको स्तरमा होस् या इन्टलिजेन्सको लेभलमा होस् । एक अर्को देशले यस्त विषयमा गम्भीर भएको हुनुपर्छ । जसरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘सबका साथ सबका विकास’को नारा दिनुभएको छ, त्यो एउटा फ्रेमवर्क हो । यसमा सबै कुरा समेटिएको छ । नरेन्द्र मोदीको यही धारणाबाट प्रष्ट हुन्छ र उहाँ हरेक छिमेकी राष्ट्रसँग समानताका आधारमा सम्बन्ध बनाउन चाहनुहुन्छ । भारतले पनि नेपालसँग उच्च स्तरबाट सम्बन्धलाई कायम राख्न चाहन्छ भने कुरा यो भ्रमणबाट स्पष्ट भएको छ ।

कहिले काहीँ सम्बन्धमा पनि उतार चढाव हुन्छ तर के त्यो भारतले गर्दा मात्र हुन्छ त ? त्यसमा नेपाल पनि कतै नकतै दोषी देखिन्छ । त्यसैले कुनै सम्झौता किन कार्यान्वयन भएन, त्यसमा भारतलाई मात्र दोष देखाएर उम्किन मिल्दैन ।

कहीँ न कहीँ नेपालको आन्तरिक मामलामा भारतले हस्तक्षेप गरेको हुन्छ, अब यो भ्रमणपछि त्यस्तो हुन्छ कि हुँदैन ?
–मलाई लाग्दैन कि भारतले नेपालको कुनै पनि आन्तरिक मामलामा हस्तक्षेप गरेको हुनुपर्छ । राजनीतिक स्तरमा होस् वा अरू कुनै स्तरमा होस्, भारतको नीतिमा हस्तक्षेप होस् भन्ने नै छैन । संविधान निर्माणमा भारतले केही हस्तक्षेप गरेको होला तर त्यसलाई हस्तक्षेप नभनेर सुझाव र सहयोगका रूपमा लिन सकिन्छ । संविधानमा केही कुरा सुधार गर्नुपर्छ भनी भारतले भन्नु त्यो हस्तक्षेप होइन । छिमेकी देशको नाताले भन्न सकिन्छ । जहाँसम्म हस्तक्षेपको कुरा छ, नेपालका नेताहरू नै यहाँ आएर सहयोग माग्छन्, यस्तो गर्न लगाई दिनुपर्यो, यस्तो भनिदिनुपर्यो भन्छन् । यदि त्यस्तो कुरा सहयोगका लागि बोल्यो वा केही भन्यो भने त्यसलाई हस्तक्षेपका रूपमा लिन्छन् । भारतलाई हस्तक्षेपकारी देख्नुमा नेपालका नेता पनि कतै न कतै दोषी देखिन्छ ।

यो भ्रमणमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जुन प्रतिबद्धता जाहेर गर्नुभयो वा संयुक्त विज्ञप्ति जारी गर्नुभयो, त्यो कार्यान्वयन हुने नहुने कुरामा कति विश्वास गर्न सकिन्छ जो यसअघि भएका भ्रमणहरूमा भएका प्रतिबद्धताहरू पूरा भएका छैनन् । यस पटक भएका प्रतिबद्धताहरू पूरा होला जस्तो लाग्छ तपाईंलाई ?
–पहिलो कुरा त यहाँ नेपाल र भारतको सम्बन्धलाई लिएर भ्रम सिर्जना गरेको छ । नेपालको सम्बन्ध नेपालको दुई नम्बर प्रदेशसँग मात्र रहेको कुरा आइरहेको छ । त्यो एकदम गलत हो । नेपाल र भारतको सम्बन्ध बेटीरोटीको सम्बन्ध हो तर त्यसलाई दुई नम्बर प्रदेशसम्म मात्र सीमित गरेको छ, जो सत्य होइन । भारतको सम्बन्ध नेपालसँग रहेको छ । नेपालको सम्पूर्ण जनतासँग उस्तै रहेको छ । सम्पूर्ण समुदायसँग बराबर रहेको छ । जुन प्रतिबद्धता प्रधानमन्त्री मोदीबाट आएको छ, त्यसलाई कार्यान्वयन पनि त्यसैअनुसार हुनुपर्छ ।

विगतमा भएका अधिकांश सम्झौता कार्यान्वयन भएको छैन । फेरि नयाँ सम्झौता भएको छ । यो पनि लागू हुन्छ कि हुँदैन भन्ने शङ्का गर्ने ठाउँ छन् नि ?
–हेर्नुस् कुनै पनि सम्झौतामा गिभ एन्ड टेकको कुरा हुन्छ । लेना देना हुन्छ । कुनै पनि सम्झौता दुईतिरबाट हुन्छ । भएका कुनै सम्झौता कार्यान्वयन भएन भने त्यसको दोषी एकपक्ष मात्र हुँदैन । भएका सम्झौता किन कार्यान्वयन भएन त्यसको दोषी भारत मात्र होइन नेपाल पनि दोषी छ । कतिपय आयोजना सुरु भएका छन् तर पूरा भएको छैनन् । कतिपय सुरु नै भएको छैन, त्यसमा नेपाल पनि कतै न कतै दोषी छ । त्यसबाट नेपाल पन्छिन मिल्दैन । जस्तै कुनै काम भारतको सहयोगमा भइरहेको छ तर त्यहाँका ठेकेदार, मजदुर वा अन्य पक्षबाट काम भइरहेका हुँदैनन् । नेपालको ब्युरोक्राइटस् सहयोग गरिरहेका हुँदैन । त्यसले गर्दा गर्न खोजेका काम पनि ढिलाइ हुन्छ वा गर्न सकिँदैन । त्यही कुरा सम्बन्धमा पनि लागू हुन्छ । कहिले काहीँ सम्बन्धमा पनि उतार चढाव हुन्छ तर के त्यो भारतले गर्दा मात्र हुन्छ त ? त्यसमा नेपाल पनि कतै नकतै दोषी देखिन्छ । त्यसैले कुनै सम्झौता किन कार्यान्वयन भएन, त्यसमा भारतलाई मात्र दोष देखाएर उम्किन मिल्दैन ।

नेपालको मामलामा चीनलाई लिएर भारत किन यति सशङ्कित हुन्छ ?
–भारत संशङ्कित छ भन्ने मलाई लाग्दैन । चीन पनि एउटा शक्तिशाली राष्ट्र हो । भारतलाई आफ्ना लिमिटेसन र आफ्नो शक्ति थाह छ । नेपालको मामलामा मात्र किन चीनको एजेन्सी वा दूतावास नेपालमा मात्र छैन । श्रीलङ्का, पाकिस्तान, पाकिस्तानलगायतका देशमा छन् । अनि नेपालसँग मात्र चीनलाई जोडेर किन हेर्नु, यो सङ्कुचित सोच हो । चीनले आफ्नो काम गरिरहेको छ, भारतले आफ्नो काम गरिरहेको छ । यसमा एक अर्काप्रति शङ्का उपशङ्का गर्नुपर्ने अवस्था छैन ।

गज्जब कुरा छ, भारतले केही नगर्दा पनि विरोध । केही गर्न खोज्यो भने चीनसँग जोडेर विरोध । यो अलि राम्रो भएन । मअघि नै भने चीन र भारतको सम्बन्ध आफ्नो ठाउँमा छ र भारत र नेपालको सम्बन्ध आफ्नो ठाउँमा छ ।

तपाईं यस्तो भन्नुहुन्छ, तपाईंकै देशका एजेन्सी तथा थिङ्क ट्याङ्कहरूले चीनलाई चुनौतीका रूपमा व्याख्या गरेका हुन्छन् । नेपालमा चीनको गतिविधि बढ्यो, यसले भारतलाई क्षति गर्छ भनी अभिव्यक्ति दिइरहेका हुन्छन्, त्यो कसरी ?
–पहिलो कुरा कुन खालको एजेन्सी, कुन खालको थिङ्क ट्याङ्कसँग तपार्इंको सम्पर्क छ ।  त्यसमा भरपर्छ । मेरो ख्यालमा जुन व्यक्ति वा एजेन्सीले यस्तो अभिव्यक्ति दिन्छ, त्यो व्यक्तिसँग अध्ययन छैन । यदि गहिरो अध्ययन भएको भए यस्तो हल्का टिप्पणी गर्दैन्थ्यो । चीनसँग भारतको सम्बन्ध सुध्रिसकेको छ । एक समयमा कुनै विषयलाई लिएर सम्बन्धमा उतरा चढाव थियो तर अब त्यस्तो छैन । सम्बन्धमा सुधार आइसकेको छ । नेपालले चीनसँग कस्तो सम्बन्ध राख्न चाहन्छ । चीनले नेपालसँग कस्तो सम्बन्ध बनाउन चाहन्छ वा नेपालमा उसले के गतिविधि गर्छ, त्यसमा भारतको टाउको दुखाइको विषय होइन । कतिपय अवस्थामा थिङ्क ट्याङ्क होस् वा एजेन्सी उनीहरूले सम्बन्ध विगार्नका लागि परिचालित भएका हुन्छन् । कतिपय व्यक्तिले सम्बन्ध विगारेर त्यसम रमाउन खोजेका हुन्छन् । त्यसैले तपाईंहरू पनि त्यस्ता व्यक्ति वा एजेन्सीबाट सतर्क रहनुस् ।

तपाईंकै देशका स्कुल कलेजकै सिलेबसमा चीन विरोधी कथा, कविताहरू छापिएका हुन्छन् । चीन विरोधी फिल्महरू बनेका हुन्छन् । कतिपय डकुमेन्ट्रीहरू बनेका छन् । भारतका सञ्चार माध्यममा बेलाबेलामा चीनको विषयमा समाचारहरू आइरहेका हुन्छन् । त्यसो भए यी सब गलत हुन त ?
–म फेरि पनि त्यही कुरा भन्छु, त्यो सिलेबस कुन लेबलको हो ? त्यो फिल्म कहाँको हो ? कुन समयको हो ? त्यसमा भरपर्छ र, अर्को कुरा सञ्चार माध्यममा आएका यस्ता थुप्रै समाचार हुन्छन्, जो प्रिपेड हुन्छ । विज्ञापनको रूपमा बचाइ रहेका हुन्छन् छापि रहेका हुन्छ । त्यसमा धेरैको इन्ट्रेस्ट हुन्छ । त्यसलै म यस्ता कुराहरूमा विश्वास गर्दिनँ । हो सरकारी स्तरमा कुनै यस्तो डकुमेन्टस् छन् भने त्यसमा बहस गर्न सकिन्छ, छलफल गर्न सकिन्छ ।

किताबको सिलेबस वा फिल्मलाई सरकारी मान्यता दिन सकिन्छ कि सकिँदैन ?
–त्यसको क्वालिटी र इन्स्टिच्युटमा भर पर्छ ।

चीनले काठमाडौंबाट रेल ल्याउने कुरा गरेको छ । तेल ल्याउने कुरा गरेको छ, त्यो बुझेर नै भारतले काठमाडौं र दिल्लीलाई जोड्नका लागि रेल सञ्चालनको कुरा गरेको छ । पोट्रिलियम पाइपलाइनको कुरा गरेको छ भनी टिप्पणीहरू भइरहेको छ, तपाईंलाई के लाग्छ ?
–गज्जब कुरा छ, भारतले केही नगर्दा पनि विरोध । केही गर्न खोज्यो भने चीनसँग जोडेर विरोध । यो अलि राम्रो भएन । मअघि नै भने चीन र भारतको सम्बन्ध आफ्नो ठाउँमा छ र भारत र नेपालको सम्बन्ध आफ्नो ठाउँमा छ । चीन र नेपालबीच कस्तो सम्बन्ध छ, त्यो भारतको विषय होइन । सबैले आआफ्नो विदेशनीतिअनुसार काम गरिरहेका हुन्छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप