केन्द्रीय संस्करण

एमाले–माओवादी कार्यदल प्रतिवेदन : यी हुन् एकताका ७ कारण

person access_timeचैत २८, २०७४ chat_bubble_outline0

काठमाडौं– एमाले र माओवादीले आफ्नो एकीकृत प्रतिवेदनमा पार्टी एकताका लागि सात आवश्यकता महसुस गरेका छन् ।

पार्टी एकताका लागि तयार पारिएको राजनीतिक प्रतिवेदनमा यी बुँदा समेटिएका छन् ।

प्रतिवेदनमा ‘२०६२–६३ सालको जनआन्दोलन पछिका १२ वर्षको अवधिमा कम्युनिष्ट पार्टीका मुख्य दुई प्रतिनिधि शक्ति नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको सम्बन्ध अनेकौं आरोह अवरोह’ देखिएको पनि उल्लेख छ ।

‘आन्दोनललाई निष्कर्षमा पु¥याउन, संविधानसभाको निर्वाचन सम्पन्न गर्ने, गणतन्त्र स्थापना गर्ने, संविधानसभाबाट संविधान जारी गर्ने, आर्थिक विकास र समृद्धिका आधारशिला निर्माण गर्ने एवम् नाकाबन्दी जस्तो सङ्कटको सामना र राष्ट्रिय हित र स्वाभिमानको रक्षा गर्ने जस्ता विषयमा सहकार्य भयो भने विभिन्न विषयमा गम्भीर मतभिन्नता र तिक्तताहरू पनि उत्पन्न भए ।’ प्रतिवेदनमा भनिएको छ, ‘कतिपय वैचारिक राजनीतिक प्रश्नहरू, कतिपय कार्यशैलीगत समस्या, अर्कोको अवनतिमा आफ्नो उन्नति देख्ने चिन्तन र कतिपय आन्तरिक तथा बाह्य कारणहरूले गर्दा विभाजन, अस्वस्थ प्रतिस्पर्धा र निषेधका सोचहरू समेत देखा परे । यस्तो तिक्तता र  विभाजनले दुईवटा पार्टी या कम्युनिष्ट आन्दोलनलाई मात्रै होइन, सामाजिक परिवर्तन र राष्ट्रियताको आन्दोलनलाई समेत क्षति पु¥याउँदै आएको थियो ।’

त्यसपछि प्रतिवेदनमा लेखिएको छ, ‘इतिहासका बहुमूल्य शिक्षा, आम नेपाली जनताको चाहना एवम् अनेकांै वस्तुगत कारणहरूको पृष्ठभूमिमा नेपाली कम्युनिष्ट आन्दोलनमा एकताको टड्कारो र युगिन आवश्यकता रहेको छ ।’

एकताका ७ आवश्यकता यसरी लेखिएको छ
 
१ विश्वव्यापी रूपमा कम्युनिष्ट तथा वामपन्थी आन्दोलन प्रतिरक्षात्मक अवस्थामा रहेको वर्तमान समयमा नेपाल एउटा यस्तो मुलुक हो, जहाँ केन्द्र, ७ प्रदेशमध्ये ६ प्रदेश तथा अधिकांश स्थानीय तहमा वामपन्थीहरूले झण्डै दुई तिहाई बहुमतसहित सरकार निर्माण गरेका छन् । यो विश्वमै उदाहरणीय र प्रेरणादायी घटनाका रूपमा रहेको छ । नेपालमा शान्तिपूर्ण एवम् वैधानिक ढङ्गबाट समाजवाद निर्माणको सम्भावना एकदमै प्रबल छ । कम्युनिष्ट आन्दोलन विभाजित रहिरहँदा यी सम्भावनाहरू वास्तविकतामा रूपान्तरित नहुने मात्रै होइन, शक्ति सन्तुलन प्रतिकूल हुने, प्रतिगामी शक्तिहरू पुनःस्थापित हुने र आन्दोलन प्रतिरक्षात्मक अवस्थामा पुग्ने जोखिम पनि उत्तिकै छ । त्यसैले कम्युनिष्ट आन्दोलनको यो एकीकरण समयको आवश्यकता बन्न पुगेको छ ।

२ माओवादी जनयुद्ध र २०६२–६३ सालको आन्दोलनलगायत आजसम्मका प्रायः सबै आन्दोलन र परिवर्तन मुख्य संवाहक शक्ति हामी वामपन्थीहरू हौं । कम्युनिष्ट पार्टीको निर्णायक पहलकदमी नभएको भए न संविधान सभा राष्ट्रिय कार्यसूची बन्न सक्थ्यो, न त संविधान सभाबाट प्रगतिशील, जनमुखी र समाजवादउन्मुख विशेषतासहितको संविधान नै निर्माण हुन सक्थ्यो । संविधानको रक्षा र कार्यान्वयनका लागि पनि वामपन्थी शक्तिहरूको एकताको ऐतिहासिक आवश्यकता बन्न पुगेको छ ।

३ नेपालको पुँजीवादी जनवादी क्रान्ति आफ्नै मौलिक विशेषताका साथ अगाडि बढेको छ । क्रान्तिमा सर्वहारा श्रमजीवी वर्गका अतिरिक्त पुँजीवादी शक्तिसमेत सहभागी भएको छ र औपचारिक रूपमा हेर्दा दुवै वर्गको संयुक्त नेतृत्व जस्तो समेत देखापरेको छ । त्यसैले क्रान्तिपश्चातका उपलब्धिको स्वामित्व तथा भविश्यको दिशा तय गर्ने विषयमा दुवै वर्ग र शक्तिका बीचमा तीव्र प्रतिस्पर्धा कायम छ । शक्ति  सन्तुलन प्रतिकूल भएर बुर्जुवा वर्गको वर्चस्व स्थापित हुने दुर्भाग्यपूर्ण परिस्थिति निर्माण भयो भने प्रगतिशील परिवर्तन कमजोर र अपहरित हँुदै जाने र मुलुक समाजवादी दिशातिर होइन, नवउदारवादी पुँजीवादी बाटोतिर जाने स्थिति उत्पन्न हुने खतरा छ । क्रान्तिका उपलब्धिहरूको रक्षा तथा समाजवादी भविश्य सुनिश्चित गर्न पनि पार्टी एकीकरण अनिवार्य छ ।

प्रगतिशील उत्पादक शक्तिहरूको विकास, राष्ट्रिय पुँजीको निर्माण, व्यापक सामाजिक–आर्थिक–सांस्कृतिक रूपान्तरण एवम् सामाजिक न्याय र समावेशी विकासबिना आर्थिक समृद्धि सम्भव छैन । यी यस्ता विषय हुन, जुन वामपन्थी पार्टीहरूको परिकल्पना र पहलबाटै मात्रै स्थापित भएका छन् । यिनको कार्यान्वयनका लागि वामपन्थी नेतृत्व अपरिहार्य छ । नवउदारवाद, अनियन्त्रित विदेशी लगानी र स्वेच्छाचारी बजार अर्थतन्त्रलाई विकासको एक मात्र आधार ठान्ने नेपाली काँग्रेस लगायतका शक्तिबाट विकासको यो सही दिशा अवलम्बन गर्नु असम्भव छ । त्यसका लागि पनि कम्युनिष्ट एकता समयको माग बन्न पुगेको छ ।

४ राष्ट्रियता हाम्रो आन्दोलनको अविभाज्य अङ्ग र जनताको सर्वोपरी सरोकारको विषयका रूपमा रहँदै आएको छ । हाम्रो राष्ट्रियता मूलतः राष्ट्रिय हितको रक्षा हो, कसैका विरुद्ध परिलक्षित विषय होइन । नेपाली जनता र नेपाल राष्ट्रले भोगिरहेको परिनिर्भरता, वैदेशिक हस्तक्षेप, राजनीतिक–सांस्कृतिक अतिक्रमण तथा वैदेशिक हैकमवादलाई अन्त्य नगरी राष्ट्रिय स्वाधीनता र स्वाभिमान सुदृढ हुन सक्दैन । तसर्थ राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर छिमेकीलगायत सबै मित्र राष्ट्रहरूसँग समानता र पारस्परिक लाभमा आधारित सम्बन्ध विकसित गर्न तथा इतिहासले विरासतका रूपमा थोपरिदिएका असमान सम्बन्धहरूका ठाउँमा नयाँ युग सुहाउँदो अन्तर्राष्ट्रिय सम्बन्धको विकासका लागि बलियो वामपन्थी शक्तिको खाँचो छ । त्यस्तो बलियो शक्ति विभाजनबाट होइन, एकताबाट मात्र प्राप्त हुने कुरा स्वतः स्पष्ट छ ।

५ सबै वर्ग समुदाय र क्षेत्रका जनताको बलियो एकता नै राष्ट्रियताको आधार हो । यस्तो एकताका लागि सबै खाले विभेदको अन्त्य, सबैको पहिचान र समान अधिकार, अवसर, सम्मान तथा सुरक्षा एवम् पछाडि परेको/पारिएको समुदायलाई विशेष व्यवस्थासहित राज्यका सबै अङ्गमा न्यायोचित सहभागिता अनिवार्य हुन्छ । यथास्थितिवादले मात्र होइन जातीय अहंकारवाद, जातिय/क्षेत्रीय सङ्कीर्णता, साम्प्रदायिकता र अतिवादले पनि राष्ट्रिय एकतालाई कमजोर पार्छन् । सामाजिक सद्भावमाथि आधारित बलियो राष्ट्रियताको विकासका लागि कम्युनिष्ट तथा वामपन्थी शक्तिहरूको नेतृत्व र निर्णायक भूमिका अपरिहार्य छ ।

६ नेपालको लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण शक्तिका रूपमा नेपाली कम्युनिष्ट आन्दोलनले ऐतिहासिक भूमिका खेलेको छ र आज यो लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी शक्तिका रूपमा स्थापित छ । यो भूमिका र उपलब्धिप्रति हामी गर्व गर्छौं । अब हाम्रो काँधमा छोटो समयभित्रै तीव्र आर्थिक विकासका माध्यमबाट ‘सुखी नेपाली समृद्ध नेपाल’को अभिभारा पूरा गर्ने ऐतिहासिक जिम्मेवारी आइपुगेको छ । यसलाई पूरा गर्न सकने हाम्रो सामथ्र्यबाटै नेपाली कम्युनिष्ट आन्दोलनको औचित्य र सान्दर्भिकता पुष्टि हुन सक्छ । इतिहासको गौरवगानबाट मात्रै भविश्यको अभिभारा पूरा हुन सक्दैन । सामान्तवादका अवशेषहरू समाप्त पार्ने, राष्ट्रिय पँुजी निर्माण गर्दै उत्पादक शक्तिको तीव्र विकास गर्ने, भूमण्डलीकृत पुँजीवादको युगमा आत्मनिर्भरतासहित समृद्धि हासिल गर्ने र समाजवादका आधार तयार गर्ने अभिभारा गम्भीर र चुनौतीपूर्ण अभिभार हो । यस्तो अभिभारा एकीकृत पार्टीको नेतृत्वमा मात्रै सम्भव छ ।

७ कम्युनिष्ट घोषणापत्र प्रकाशन यताको १७० वर्ष र अक्टोबर क्रान्ति पश्चातका १०० वर्ष बीचमा विश्व समाजवादी आन्दोलनले सफलता र विफलता, उपलब्धि तथा विजय र पराजयका अनेकौं शृङ्खला पार गर्दै आएको छ । सोभियत सङ्घको विघटनसँगै आज यो आन्दोलन आमरूपमा प्रतिरक्षात्मक अवस्थामा छ । माक्र्सवादका सार्वभौम सिद्धान्तहरू आज पनि सही छन् र श्रमजीवी वर्गको मुक्ति एवम् उत्पीडित राष्ट्रहरूको स्वतन्त्रताका लागि मार्गदर्शन गर्न माक्र्सवादबाहेक अर्को वैज्ञानिक सिद्धान्त विद्यमान छैन । तर गएको डेढ शताब्दीमा विश्व परिस्थितिमा ठूलाठूला परिवर्तनहरू भएका छन् । श्रमको स्वरूप र सम्बन्ध, श्रम शोषणका स्वरूप, समाजको वर्ग संरचना एवम् पुँजीवाद तथा साम्राज्यवादको चरित्रमा समेत ठूलो परिवर्तन आएको छ । पारिवारिक, सामाजिक तथा अन्तर्राष्ट्रिय सम्बन्धमा अनेकौं नयाँ आयाम थपिएका छन् । विज्ञान र प्रविधिको अभूतपूर्व विकासले विश्वलाई तीव्र रूपमा परिवर्तन गरिरहेको छ ।

यस्तो स्थितिमा माक्र्सवादको रक्षा, सिर्जनात्मक प्रयोग र विकासको आवश्यकता विगतमा भन्दा अझ बढी रहेको छ । माक्र्सवाद–लनिनवादको मार्गदर्शनमा नेपाली क्रान्ति र समाजवाद निर्माणको आफ्नै मौलिक सिद्धान्त तथा बाटोको विकासका लागि पनि एकीकृत कम्युनिष्ट पार्टीको खाँचो टड्कारो गरी महसुस भएको छ ।

यी समाचार छुटाउनुभयो कि ?

 

एमाले–माओवादी कार्यदल प्रतिवेदन : भारतसँगको सम्बन्धबारे मौन !

वाम कार्यदलको नयाँ ‘प्रोजेक्ट’ : नेपाल–बङ्गलादेश भूमिगत रेलमार्ग

एमाले-माओवादी एकतापछि यस्तो बन्नेछ एकीकृत पार्टी

एमाले–माओवादी एकता : दुई अध्यक्षका यस्ता हुनेछन् संयुक्त आठ अधिकार

काँग्रेसवारे यस्तो प्रतिवेदन लेख्यो एमाले–माओवादी कार्यदलले ?

एमाले–माओवादी एकतामा नयाँ प्रस्ताव : हरेक निर्णयमा दुवै अध्यक्षको हस्ताक्षर !

माओवादी मन्त्रीहरुको प्रचण्डसमक्ष गुनासो–प्रधानमन्त्रीज्यूको रवैया ठीक भएन

बामदेव नेतृत्वको कार्यदलको सिफारिस : सरकारले तत्काल गर्नुपर्ने यी हुन् काम

नेपाली समाजको चरित्र कस्तो, यस्तो लेखियो एकीकृत पार्टीको प्रतिबेदनमा

कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X