बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बालकृष्ण ढुंगेल रिहाईको माग गर्दै विप्लव कार्यकर्ताद्वारा उज्जन श्रेष्ठको शालिक तोडफोड

गणेश उज्जन (भुवन) स्मृति प्रतिष्ठानद्वारा घटनाको घोर भत्र्सना
बिहीबार, २९ चैत २०७४, १५ : ००
बिहीबार, २९ चैत २०७४

रामहरि श्रेष्ठ 
 

ओखलढुंगा । उज्जन कुमार श्रेष्ठको हत्या अभियोगमा जेल जीवन बिताइरहेका बालकृष्ण ढुंगेलको रिहाईको माग गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले श्रेष्ठको शालिक तोडफोड गरेका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ स्थित अरुणादय माविको हाताभित्र रहेको उज्जन कुमार श्रेष्ठको शालिक बुधबार राती तोडफोड गरेका हुन् ।

मध्यराती ‘एकीकृत जनक्रान्ति जिन्दावाद, जनयुद्धका हत्यारालाई छोड्‍‍दैनौं, उज्जन हत्यारा हो, बालकृष्ण ढुंगेललाई रिहाई गर’, जस्ता नारा लगाउँदै आएका नेकपाका कार्यकर्ताहरुले शालिकलाई तोडफोड गरेको स्थानियले बताएका छन् । 

विप्लवले भने जनयुद्धका मुद्दा ब्यूँत्याएर ढुंगेललाई जेल हालेको, शालिक निर्माणको नाममा विदेशी डलर कुम्ल्याएको तथा विद्यालय हाताभित्र शालिक निर्माण गरेको भन्दै तोडफोड गरेको जनाएको छ ।

शालिक केही समय अघिमात्र अनावरण गरिएको थियो । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठ हत्याको मुद्दामा बालकृष्ण ढुंगेललाई दोषी ठहर गर्दै सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएपछि अहिले ढुंगेल जेलजीवन बिताइरहेका छन् ।

गणेश उज्जन (भुवन) स्मृति प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै घटनाको घोर भत्र्सना गर्दै दोषी उपर तत्काल छानबिन गरी कारबाही गर्न सम्बन्धित सरोकारवाला निकायलाई ध्यानकर्षण गरेको छ । 

प्रतिष्ठानकी अध्यक्ष सावित्री श्रेष्ठद्वारा जारी विज्ञप्तिमा प्रतिष्ठानले आफ्नो निजी लगानी र निजी जग्गामा जिल्ला प्रशासन कार्यालय, नगरपालिका, विद्यालय व्यवस्थापन समितिको अनुमति तथा माओवादी केन्द्रलगायत सम्पूर्ण स्थानीय राजनीतिक दलको सहमतिपछि शहीद स्मारक निर्माण गरी हालै शालिक प्रतिस्थापन तथा अनावरण गरेको जनाइएको छ । 


 

गाँउपालिका अध्यक्ष कुटिएकोमा एमालेको भत्सर्ना

यता, ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्ष गोबिन्द पौडेल कुटिएको बिषयमा नेकपा एमाले ओखलढुंगाले भत्सर्ना गरेको छ ।

बिहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै एमालले गाउँपालिका अध्यक्षमाथि ज्यान मार्ने उदेश्यले आक्रमण भएको भन्दै दोसीलाई तत्काल पत्ता लगाई कारबाही गर्न माग गरेको छ ।

विज्ञप्तीमा त्यस्ता आपराधीक समूहको चाँडो पहिचान गरि कानुनी कारबाही गर्न जोरदार माग गर्दै जनप्रतिनिधिको सुरक्षामा गम्भीर बन्न स्थानिय प्रशासन र सुरक्षा निकायको ध्यानाकषर्ण समेत गराइएको छ ।

लिखु गाउँपालिका अध्यक्ष गोविन्द पौडेलमाथि मंगलबार राती कार्यलयको क्वार्टरमा सुतिरहेको अवस्थामा आक्रमण भएको थियो । आक्रमणबाट घाइते पौडेलको बायाँ घुँडा, तिघ्रा र खुट्टामा गहिरो चोट लागेको थियो भने हातको कान्छी औँलाको नङसमेत फुटेको थियो । यो घटनापछि ओखलढुंगा स्थानिय तहका जनप्रतिनिधिहरुमा त्रास फैलिएको छ । यता, प्रहरीले भने घटनाको अनुसन्धान भैरहेकाले दोषीलाई चाँडै पत्ता लगाई कारवाहीको दायरामा ल्याउने बताउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप