बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा चीन होइन, भारतका लागि पाकिस्तान चुनौती : आलोक बन्सल

बिहीबार, २९ चैत २०७४, १५ : ५६
बिहीबार, २९ चैत २०७४

–आलोक बन्सल,निर्देशक, इन्डिया फाउन्डेसन

इन्डिया फाउन्डेसन भारत सरकारको थिङ्क ट्याङ्कमध्येको एक संस्था हो । यसले भारत सरकारको नीति निर्माणमा सहयोग पुर्याउनुको साथै आतङ्कवाद, सुरक्षा, राजनीतिक, अर्थतन्त्र, दुई देशबीच सम्बन्ध लगायतको क्षेत्रमा अध्ययन अनुसन्धान गरिहेको छ । यस फाउन्डेसनमा १४ जना निर्देशक छन् । जसमा मन्त्रीदेखि विभिन्न संस्थासँग आबद्ध व्यक्ति छन् । यसका मेम्बर तथा निर्देशक भारतीय जनता पार्टीमा आबद्ध तथा निकट रहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको क्रममा फाउन्डेसनले नागरिक अभिनन्दन गरेको थियो । यिनै फाउन्डेसनका एकजना निर्देशक आलोक बन्सल जो नेपालको बारेमा जानकार मानिन्छ । बन्सलसँग दिल्लीस्थित उनकै कार्यालयमा नेपाल भारतको सम्बन्ध, पाकिस्तान र चीनसँग नेपालको सम्बन्ध तथा प्रधानमन्त्री ओलीको भारत भ्रमणलगायतको विषयमा रातोपाटीका लागि एसके यादवले गरेको कुराकानीको मुख्य अंशः

नेपालमा मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै पाकिस्तानका प्रधानमन्त्रीले नेपालको भ्रमण गरे । त्यो कुरालाई भारतले बडो गम्भीरका साथ हेरेको थियो । त्यो भ्रमणले भारतलाई केही गाह्रो बनायो कि ?
–नेपाल एक स्वतन्त्र राष्ट्र हो । नेपालले आफ्नो देशमा जे पनि गर्न सक्छ । त्यसमा भारत वा कुनै पनि देशको हस्तक्षेप हुनुहुँदैन । पाकिस्तानी प्रधानमन्त्रीले नेपालको भ्रमण गर्दा भारतको कुनै आपत्ति छैन र रहनु पनि हुँदैन । पाकिस्तानको विषयमा भारतको आफ्नै दृष्टिकोण छ तर के जरुरी छैन भने नेपालको पनि त्यस्तै दृष्टिकोण होस् । पाकिस्तानी प्रधानमन्त्री अचानक आउनुभयो । किन आउनुभयो ? मिडियामा केही हलचल त भएको थियो तर भारत देशलाई त्यसले खासै असर पारेन । 
 

तपाईंको इन्डिया फाउन्डेसन यस्त विषयमा अध्ययन गर्ने संस्था हो, तपाईंलाई के लाग्छ पाकिस्तानका प्रधानमन्त्री नेपाल किन जानुभयो त ?
–मेरो विचारमा अबको सार्क समिट पाकिस्तानमा हुनेबाला थियो । सार्कको अध्यक्षता नेपालले गरेको छ । समिटका लागि अहिले माहोल ठीक छैन भनी नेपालले भनेको थियो । मलाई लाग्छ त्यही विषयमा छलफल गर्नका लागि उहाँ नेपाल जानुभएको थियो । 
के भयो त कुराकानी ?
–यो कुराको जवाफ पाकिस्तान र भारतले मात्र दिन सक्छ ।
 

तर नेपाल र भारतबाट त चीनले पाकिस्तानलाई नेपालमा पठायो, चीनले नेपालसँग सम्बन्ध बलियो बनाउनका लागि पाकिस्तानका प्रधानमन्त्रीलाई नेपालमा पठाएको रिपोर्टहरू आए, किन यस्तो ? 
–सञ्चारमाध्यमको आफ्नो काम छ, उसले आफ्नो काम गरिरहेको छ । नेपाल र भारतका सञ्चारमाध्यममले यस्ता समाचारलाई बढी प्राथमिकता दिएर बजाइरहेका हुन्छन्, छापिरहेका हुन्छ । त्यतातिर हामी जानु हुँदैन । नेपाल सार्वभौम राष्ट्र हो । उसले जसलाई पनि बोलाउन सक्छ । नेपाल भारत र चीनको छिमेकी राष्ट्र हो । छिमेकीको नाताले हामीले एकअर्कालाई सुझाव मात्र दिनसक्छौं, दबाब दिनसक्दैनौं । नेपालले चीनबाट पेट्रोल ल्याउने कुरा गर्यो । हामीले केही बोलेनौं । नेपालले ल्याउन सक्यो भने राम्रो कुरा हो । नेपालको भूगोलले साथ दिन्छ, त्यसले फाइदा गर्छ भने ल्याउँदा हुन्छ । यो राम्रो कुरा हो । ५० को दशकसम्म तिब्बत लागि पनि भारतबाट नै सबै समान जान्थ्यो । जहाँसम्म सम्बन्धको कुरा हो । भारतसँग नेपालको जस्तो सम्बन्ध छ, त्यस्तो सम्बन्ध चीनसँग हुनसक्दैन । यस अवस्थामा नेपालले चीनसँग समान ल्याउँछन् वा केही गर्छ भन्ने उसको स्वतन्त्रता हो । 

तर किन यस्तो भयो, जब चीनले बेइजिङबाट काठमाडौंसम्म रेल लाने कुरा गर्यो । त्यसपछि भारतले पनि भारतदेखि काठमाडौंसम्म रेल लाने भनेको छ । यसअघि किन त्यस्तो कुरा आएका थिएन ? यो प्रतिस्पर्धा जस्तो देखिएन त ?
–सायद तपाईंले बिर्सिनु भएको छ, चीनले आज कुरा मात्र गरेको छ तर भारतले धेरै पहिलादेखि नेपालसम्म रेल सेवा दिइरहेको छ । चीनले नयाँ कुरा ल्याउन खोजेको यो राम्रो कुरा हो, ल्याउनुपर्छ यसले दुई देशलाई फाइदा नै हुन्छ । तर, यहाँ सोचनीय कुरा के हो भने नेपालमा चल्ने रेल चढेर बेइजिङ्गसम्म कतिजना जान्छन् । काठमाडौंबाट दिल्ली कतिजना जान्छन्, दिल्लीबाट कतिजना काठमाडौं आउँछन्, त्यो पनि हेर्नुपर्ने कुरा हो ।   

नेपालमा एन्टी इन्डियन सेन्टिमेन्ट बढ्दैछ र चीनतिर ढल्किँदैछ भन्ने तपाईंलाई लाग्दैन ?
–म नेपाल गइरहने मान्छे हुँ । मलाई कहिले त्यस्तो लागेन । अलिकति एन्टी इन्डियन सेन्टिमेन्ट रहेको छ, त्यो काठमाडौंसम्म मात्र सीमित रहेको छ । काठमाडौं बाहिर धेरै जनसङ्ख्या छ, जो भारतप्रति निकै सकारात्मक छ । भारत विरोधी तत्वलाई उक्सायो भने त्यसले केही फाइदा लिनसकिन्छ भन्ने केही व्यक्तिको राजनीतिक बाध्यता छ । यसबाट नेपालका जनता र भारतका जनता सचेत देखिन्छन् । दुवै देशका जनता ठीक रह्यो भने यस्ता सानातिना कुरा आफै हराउँछन् । कुनै पनि देश एउटा गम्भीर हुनुपर्छ कि आफ्नो भूमि अरू देशका लागि गलत रूपमा प्रयोग नहोस् अरू देशको सुरक्षाप्रति सचेत रहनुपर्छ ।  

नेपाल भारतको सम्बन्ध ऐतिहासिक हो । यसको सम्बन्धलाई अरू देशसँग तुलना नै गर्न सक्दैन भन्छन् तर बेलाबेलामा गम्भीर रूपमा सम्बन्ध तलमाथि हुन्छ किन त्यस्तो ?
–हेर्नुस्, जहाँ राम्रो सम्बन्ध हुन्छ त्यहीँ खटपट पनि हुन्छ र जस्तोसुकै खटपट भए पनि फेरि चाँडै सम्बन्ध बन्छ । त्यसैले नेपाल भारतको सम्बन्ध अनौठो छ । साँच्चै अरू देशसँग नेपाल भारतको सम्बन्धसँग तुलना गर्न सकिँदैन । यो छिमेकी राष्ट्र मात्र होइन, एउटा परिवार जस्तो देखिन्छ ।

एउटा परिवार जस्तो त भन्नुभयो तर एउटा परिवारका सदस्यले अर्को सदस्यलाई नाकाबन्दीसम्म त लगाउँदैन नि, किन त्यस्तो भयो ?
–नेपाल भारत एउटा परिवारजस्तै हो । तर तपाईंले नाकाबन्दीको कुरा गर्नुभयो, त्यसमा भारतको कुनै भूमिका थिएन । त्यो एउटा परिघटना मात्र थियो । नेपाल एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो । त्यसमा अरू कुनै देशले हस्तक्षेप गर्न सक्दैन । नेपालको सार्वभौमसत्तालाई भारतले मनन गरेको छ । नेपालसँग बेटीरोटीको सम्बन्ध मात्र होइन, भारतको सुरक्षाका लागि नेपालीले रगत पनि बगाएको छ । त्यसैले भारत र नेपालको सम्बन्धलाई अतुलनीय भनेको छ । भारतले पनि शान्ति स्थापनार्थ १२ बुँदे सम्झौतालगायतको विभिन्न संवैधानिक प्रकृया पूरा गराउनमा भूमिका खेलेको छ । २०१५ मा भारतलाई के लागेको थियो भने संविधानमा कहीँनकहीँ नेपाली जनताको कुनै एक समुदायको भावनालाई समेटेको छैन । त्यसमा हामीले सुझाव मात्र दिएका थियौ, सबैको भावनालाई समेट्नुस् तर त्यो आन्तरिक मामला भएकाले त्यसलाई के गर्छ के गर्दैन, त्यो नेपाली जनताको मुद्दा हो । त्यसमा हामीले केही गर्न मिल्दैन्थ्यो ।

आन्तरिक मामलामा कुनै हस्तक्षेप नगर्ने भारतको नीति हो भन्नुहुन्छ तर संविधान निर्माणको समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तत्कालीन विशेष सचिवालय विशेषदूतको रूपमा पठाएर सविधान निर्माण कार्य बन्द गर्न दबाब दिन लगाउनुभएको थियो, जो त्यतिबेला निकै चर्चाको विषय थियो यसलाई हस्तक्षेप भन्ने कि नभन्ने ?
–त्यतिबेला भारतलाई केही अस्वभाविक लागेको थियो र गएर त्यसलाई सुधार गर्न भनेको हो । त्यसलाई दबाब भन्ने हो भने यसमा केही भन्नु छैन । एउटा बुद्धिजीवीको नाताले भन्नुहुन्छ भने अहिले पनि राज्य बाँडफाँड भएको छ, त्यो वैज्ञानिक छैन । तानतुन गरेर बनाएको जस्तो देखिन्छ । यताको लिएर उता मिलाएको छ उताको लिएर यता मिलाएको छ । त्यसमा हामीले कूटनीतिक हिसाबले सुझाव दिनसक्छौं तर त्यो दबाब हुनसक्दैन । हामीले दिएको सुझाव मान्ने नमान्ने काम नेपालको हो । एउटा छिमेकीको नाताले दिने सुझाव मात्र हो ।

जे होस् तपाईंहरूले जे कुरामा सुझाव वा दबाब दिनुभयो त्यो कार्यान्वयन भएन । त्यसलाई सुधार गर्ने मुद्दा जस्ताकोतस्तै छ नि ?
–हामीले सुझाव दिँदा नेपालका ठूला दलका नेताहरूले यो कुने पथ्थरको लकिर (ढुङ्गामा कुँदेको लाइन) होइन, जसलाई हटाउन सकिँदैन भनेका थिए । समय अनुसार यसलाई परिवर्तन गर्न सकिन्छ भन्नेका थिए । त्यसका लागि प्रयास पनि भएको हो । प्रयास भइरहेकै अवस्थामा चुनाव आयो । चुनाव सम्पन्न भयो । चुनिएर आएका जनप्रतिले संशोधनका लागि प्रयास गरिनेछ, यदि आवश्यकता हुन्छ भने सबै वर्ग र समुदायलाई चित्त बुझ्ने गरी त्यसलाई मिलाउन सकिन्छ भनेका छन् । 

खासगरी मधेसको बारेमा दुई वर्षअघि भारतले जुन अडान र नीति लिएको थियो त्यसमा परिवर्तन ल्याएको हो कि जस्ताको त्यस्तै छ ?
–नीतिमा खासै कुनै परिवर्तन भएको छैन । हामीले सुरुदेखि चाहेका थियौं, नेपालका हरेक वर्गले बराबरको अधिकार पाउन् । त्यसमा अझै पनि भारतको त्यही नीति रहेको छ । तर मधेसीको मात्र होइन, आदिवासी जनजाति, दलितलगायतका बारेमा पनि भारतको पनि त्यही सोच रहेको छ ।

तर भ्रमणका क्रममा भारतका तर्फबाट यस प्रकारको कुनै कुरा नै उठेन नि ?
–यो कुरा भ्रमणमा उठाउने आवश्यकता नै थिएन । नेपालमा तीनै चरणको चुनाव सम्पन्न भइसकेको छ । नयाँ सरकार पनि बनिसकेको छ । देश सङ्घीयतामा गइसकेको छ । राज्य बाँडफाँड पनि भइसकेको छ । प्रदेश सरकार पनि गठन भइसकेको छ । प्रदेश दुईमा मधेसी दलको सरकार रहेको छ । आवश्यकताको आधारमा समस्या समाधान गर्लान् जस्तो मलाई लाग्छ । 

भारतले आफ्नो सुरक्षाका लागि नेपालको तर्फबाट चीनलाई लिएर निकै चिन्तित हुन्छ, तपाईंले त यस क्षेत्रमा निकै अध्ययन अनुसन्धान गर्नुभएको छ, तपाईंलाई के लाग्छ ?
–चीन सार्वभौम राष्ट्र हो र चीनबाट नेपालले त्यस्तै अपेक्षा गरेको छ । भारत आफ्नो सुरक्षामा निकै संवेदनशील छ, त्यो सही कुरा हो । तर नेपालको तर्फबाट चीन होइन, भारतका लागि पाकिस्तान खतराको विषय बनेको छ । काठमाडौंबाट भारतका विमान अपहरण गरेको थियो । त्यो पाकिस्तानले गरेको थियो । काठमाडांैकै विमानस्थलबाट पाकिस्तानलाई कहीँबाट पैसा र हतियार प्राप्त भयो होला र विमन अपहरण भयो । कतिपय यस्ता आतङ्कवादी संस्थाहरू छन्, जो नेपालको तराईबाट सञ्चालित भइरहेका छन् । नक्कली पैसाको कारोबार पनि त्यहीबाट भइरहेको छ । यस्ता कुराहरूले भारत सुरक्षाप्रति चिन्तित देखिन्छ । भारत मात्र होइन, कुनै पनि देशले सुरक्षा थ्रेट होस् भन्ने चाहँदैन । भारत र नेपालबीच यस्तो सीमा रहेको छ, त्यस्तो सीमा अन्य देशसँग छैन । 
 

तपाईंको विचारमा चीनभन्दा पाकिस्तानबाट भारतलाई बढी खतरा छ ?
–पाकिस्तान खलि आतङ्कवादी गतिविधिमा बढी संलग्न भएको हुन्छ । नेपाल खुल्ला सीमा भएको कारण अलि संवेदनशील विषय नै हो । चीन हाम्रो खतराको विषय होइन भनी भन्न सकिँदैन तर चीन हाम्रो दुस्मन होइन । चीनसँग हाम्रो प्रतिस्पर्धा छ । दुवै ठूला देश हुन् । दुवै देश आर्थिक समृद्धिका लागि अगाडि बढिरहेको छ तर एउटा कुरा राम्रोसँग बुझ्नु होला, भूगोलका कारणले नेपालका लागि चीन भारतको विकल्प हुनसक्दैन ।  

चुनाव अघि भारत र नेपालबीच जुन सम्बन्ध थियो, त्यो अब नदोहोरिला भनी ढुक्क हुने अवस्था छ त ?
–नेपाल र भारतबीच जुन मित्रता थियो, त्यो अझै कायम छ र र भोलि पनि रहनेछ । जबसम्म नेपालमा पशुपतिनाथ र भारतमा विश्वनाथ छन् तबसम्म मित्रता रहिरहन्छ । भारत असल मित्रताका लागि सदैव तत्पर्य छ । भारत नेपाली जनताको साथमा सदैव रहनेछ । नेपालमा तीनै चरणको चुनाव सम्पन्न भएको छ । चुनाव शान्तिपूर्ण र फेयर भएको छ । जनताले जसलाई चुनेर पठाएको छ, त्यसैको साथमा भारत रहेको छ । भारत आफ्नो इच्छा कुनै अर्को राष्ट्रमाथि थुपार्न चाहँदैन । यद्यपि कतिपय व्यक्ति वा सङ्गठन यस्ता छन्, जसले आफ्नो राष्ट्रवाद देखाउनका लागि भारत विरोधी अभिव्यक्ति दिइरहेका हुन्छन् । त्यस्ता व्यक्ति काठमाडौं र त्यस वरपर छन् । तर म नेपालका अधिकांश ठाउँमा घुमेको छु, त्यहाँका जनताले भारतको हित चाहेका छन् । भारतका ९० प्रतिशत जनता नेपालको हित चाहेका छन् । हरेक ठाउँमा केही विरोधी भावनाका हुन्छ, जसले सम्बन्धमा बेलाबेलामा असर पारिरहेका हुन्छन् । तर त्यस्ता व्यक्तिहरूलाई इग्नोर गर्दै अगाडि बढ्नुपर्छ ।

नेपाल भारतको सम्बन्धमा आर्थिक सम्पन्नताका कुरा मुख्य रूपमा आउँछन् । तपाईंहरू रोटी बेटीको सम्बन्ध छ भन्नु हुन्छ तर आर्थिक समृद्धिमा यतिको फरक किन ?
–दक्षिण एसियामा भारत आर्थिक समृद्धिमा तीव्र गतिका साथ अगाडि बढिरहेको छ । भारत विश्वमै आर्थिक प्रगतिको सम्भावना भएको देश बनेको छ । त्यसका तुलनामा नेपाल आर्थिक रूपमा पछाडि परेको छ । तर नेपाल पनि विकासको मामलामा सम्भावना भएको देश हो । त्यहाँ हजरौं मेगावाट जलविद्युतको उत्पादन गर्न सकिने सम्भावनाको देश हो । त्यसका लागि योजना बनाउनुपर्छ । सहकार्य गरेर अगाडि बढ्नुपर्छ । 
 

तपाईं यस्तो भन्नुहुन्छ तर नेपाल र भारतबीच विकास निर्माणका विषयमा अनेकौं सम्झौता भएका छन् तर कार्यान्वयन हुँदैनन्, किन यस्तो ?
–ताली एक हातले मात्र बज्दैन । सम्झौता भएका छन् भने कतै न कतै कुनै न कुनै रूपमा दुवै देश दोषी छन् । एक देशले अर्को देशलाई दोषी देखाएर पन्छिनु हुँदैन, मेरो विचारमा । दुइटै देश उस्तै जिम्मेवार हुनुपर्छ । तपाईं नेपालको हुनुहुन्छ । तपाईंले भारतको कारण यो योजना पूरा नभएको देख्नुहुन्छ । हामी भारतीयले आफ्नो आँखाबाट हेर्दा नेपालको कारणले पूरा नभएको देखिन्छ । यसरी भनेर पन्छिने अवस्था छैन । अगामी दिनमा गम्भीर भएर विकासका योजनाहरू समयमा पूरा गर्नुपर्छ ।

प्रधानमन्त्री ओलीको भ्रमणपछि नेपालका सन्दर्भमा भारतले आफ्नो नीतिमा केही परिवर्तन गर्छ कि यथावत रहन्छ ?
–भारतले जहिले पनि नेपालको भलाइ चाहेको छ । समृद्धि र विकास चाहेको छ । भारतको यही नीति रहेको छ । हुनसक्छ भएका सम्झौता कार्यान्वयनका लागि नीतिमा केही हेरफेर हुनसक्छ । तर मुख्य नीतिमा हेरफेर हुँदैन भन्ने लाग्छ मलाई । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप