बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

माक्र्सवादी दर्शनको राम्रो पुस्तक

शनिबार, ०१ वैशाख २०७५, ०८ : २२
शनिबार, ०१ वैशाख २०७५

पुस्तक समीक्षा: 
कृष्ण गिरी  

यो विश्व वर्गीय छ । अझै कैयौं वर्ष रहने छ । समाज वर्गीय रहिरहनु भनेको शोषण, अन्याय, अत्याचार वर्गीय विभेद र असमानता रहनु हो । यो असमानता रहिरहँदासम्म मान्छे त्यसबाट मुक्ति पनि खोजिरहेको हुन्छ । यसका विरुद्ध अथवा अन्याका विरुद्ध मान्छे लड्न खोज्छन् । यसका लागि उसले विभिन्न तरिका खोज्छ । यहीबाट सुरु हुन्छ विचार र दर्शनको यात्रा । दर्शन पहिलेबाट नै थिए ।  दर्शनले पनि वर्गीय पक्षधरता लिँदै आएको छ । समाजमा रहेको वर्गीय विभेद, अन्याय अत्याचारका विरुद्ध लड्ने तरिका अथवा बाटो खोज्दा आ–आफ्नो वर्ग अनुसारको बाटो खोज्छ । त्यही बाटो खोजाइमा जन्मन्छन् वर्गीय दर्शनहरू ।  
संसारमा प्रचलित दर्शनहरूमध्ये द्वन्द्ववादी दर्शन पनि एउटा हो । यो दर्शनको जन्मदेखि समृद्ध बनाउन धेरै दार्शनिकहरूले योगदान गरेका छन् । 
संसारको व्याख्या होइन बदल्नु प्रमुख हो भन्ने माक्र्सदेखि संसार बदल्ने अभियानमा लागेका माओसम्मका दार्शनिक रचनाहरू पढ्न पाइने पुस्तक हो, दार्शनिक रचनाहरू । 
यो संसारमा दर्शनमाथिको बहस धेरै पहिलेबाट नै हुन थालेको हो । दर्शनलाई माक्र्सले आफ्नो समयको बौद्धिक सारतत्व हो भनेका छन् । पृष्ठ २२  माक्र्सले दर्शनशास्त्रमा सबैभन्दा बढी बहस गरेका छन् । उनले परम्परागत अथवा धार्मिक जडता बोकेका दर्शनहरूमाथि प्रहार गरे । माक्र्स नै पहिलो व्यक्ति होइनन दर्शनका बारेमा लेख्ने । तर उनले जसरी दर्शनको बारेमा लेखे त्यसले यो विश्वमा नै हलचल ल्याइदियो । दर्शनमा नयाँ बहस सुरु भयो । 
माक्र्सभन्दा पहिला पनि मेकियावेली र क्याम्पनेल त्यसपछि हब्स, स्पिनोजा, ह्युगो ग्रटिस, रुसो, फिक्ट र हेगेलले मानवीय दृष्टिबाट राज्यलाई हेर्न थाले । यिनीहरूले धर्मको दृष्टिबाट राज्यलाई हेर्ने विचार परिवर्तन गरे । 
माक्र्सले धर्मको आलोचनालाई सबै आलोचनाको प्रस्तावना  भनेका छन् । धर्मले नै सबै कुराको सृष्टि गर्छ भन्ने मानसिकता भएको समयमा माक्र्सले मानिसले धर्म सिर्जना गर्छ धर्मले मानिस होइन भनेर नयाँ बहसमात्र सिर्जना गरेनन् तर्कसहित द्वन्द्ववादी दृष्ट्रिकोण राखे ।
उनले धर्मलाई मानव सारको काल्पनिक अनुभूति हो वास्तविक होइन भनेर व्याख्या गरेका छन् । धर्मविरुद्धको सङ्घर्ष प्रत्यक्ष रूपमा धर्मलाई नै आत्मिक सुगन्ध ठान्ने विश्वका विरुद्धको सङ्घर्षको रूपमा व्याख्या गरेका छन् ।
दर्शनको ज्ञान नभएको मान्छे ज्ञानबिना नै बोल्छन् । दर्शनले सबै कुराको अध्ययन गरेर बोल्छ । (पृ २४) 
माक्र्सले भनेका छन्– ‘मेरो दर्शन हेगेलवादी दर्शन पद्धतिभन्दा भिन्न मात्र होइन त्यसको ठीक उल्टो छ । हेगेलको मानव मस्तिष्कको जीवन प्रक्रियालाई विचारका नाममा एक स्वतन्त्र कर्तासम्म बनाउनुभएको छ, वास्तविक संसारको सिर्जनकर्ता मान्नुभएको छ । हेगेल विचार वास्तविक संसार विचारको बाहिरी इन्द्रियगम्य रूप मात्र हो भन्ने थियो । भौतिक संसार मानव मस्तिष्कको प्रतिविम्बित हुन्छ र चिन्तनका रूपमा बदलिन्छ ।’ (पृ ५७)
माक्र्सको भनाइमा सामाजिक प्रगति प्राकृतिक इतिहासको एउटा प्रक्रिया हो । यो मान्छेको इच्छा अनुसार होइन । 
द्वन्द्ववादको नियममा मात्राको गुणमा परिवर्तन हुन्छ । विपरीतहरूको अन्तरभेदन र निषेधको निषेध । (पृ ५९)
कसरी हेगेलवादी माक्र्स द्वन्द्ववादी भए भनेर लेनिनले प्रष्टसँग लेखेका छन् । सुरुमा उनी हेगेलवादीहरूको मण्डलीमा सामेल भए । उनले जर्मनका विश्वविद्यालयहरूमा कसरी विचार फरक भएकै आधारमा लुडविग फायरवाखलाई, ब्रुनो बावेरलाई निकाल्यो भन्ने कुरा देखे । त्यही समयबाट उनले पनि शिक्षण गर्ने सोच बदले । 
दार्शनिक भौतिकवादमा माक्र्सको बुझाइ फरक थियो । उनले हेगेलको आर्दशवादबाट सम्बन्ध विच्छेद गरेर फायरवाखको भौतिकवादलाई अँगालेका थिए । उनले भनेका छन्– ‘भौतिक संसार मानव मस्तिष्कमा प्रतिविम्बित हुन्छ र  चिन्तनका रूपमा बदलिन्छ, यसबाहेक विचार अरू केही होइन ।’
विश्व आदर्शवादमा चलेको थियो । माक्र्सले यसलाई जीवनसँग जोड्नु भयो । जीवनसँग जोड्नु भनेको उत्पादनसँग जोड्नु हो । माक्र्सको प्रमुख भनाइ नै उत्पादन सम्बन्ध नै समाजको आर्थिक ढाँचा हो । त्यही असली आधार हो जसमाथि कानुन र राजनीतिक उपरिसंरचना उभिएको हुन्छ, त्यसै अनुकूल नै सामाजिक चेतनाको रूप निश्चित हुन्छ । 
१८४४ मा जोडिएको माक्र्स र एङ्गेल्सको समबन्ध  बाचुन्जेल अजर अमर रूपमा रहेको थियो । १८४५ मा पर्सिया सरकारको अनुरोधमा पेरिसबाट पनि निकाला गरियो । १८४७ मा माक्र्स र एङ्गेल्स कम्युनिष्ट लिगमा सामेल भए । १८४८ मा कम्युनिष्ट घोषणापत्र प्रकाशनमा ल्याउनु भयो । यही समयबाट सुरु भयो विश्वमा राजनीतिक रूपमा नयाँ बहस । 
माक्र्सको भनाइ छ, ‘मानिसको चेतनाले उसको सत्ता निर्धारण गर्दैन, बरु यसको विपरीत सामाजिक सत्ताले उसको चेतना निर्धारण गर्छ ।’ (पृ.१२७)
लेनिनले द्वन्द्ववादको व्याख्या यसरी गरेका छन्, वस्तुनिष्ठ अवलोकन गर्नु पर्छ । हरेक वस्तुको अर्को वस्तुसँग बहुआयामिक सम्बन्धमाथि सम्पूर्णतामा हुन्छ । वस्तुभित्र आन्तरिक अन्तरविरोधी प्रवृत्ति हुन्छ । विपरीतहरूको एकता मात्र होइन बरु हरेक सङ्कल्पको गुण विशेषता, पक्ष, गुणधर्म प्रत्येक अर्कोमा सङ्क्रमण हुन्छ । द्वन्द्ववाद भनेको सही अर्थमा वस्तुको भित्र रहने अन्तविरोधको अध्ययन हो । विकास भनेको विपरीतहरूको सङ्घर्षको हो । (पृ. ११८)
 द्वन्द्वात्मक भौतिकवाद माक्र्सवादी लेनिनवादी पार्टीको विश्व दृष्टिकोण हो । सामाजिक जीवनको अध्ययन, समाजिक जीवनका परिघटना र यसको इतिहासको अध्ययन भौतिकवादी तरिकाले गर्नुपर्छ । 
द्वन्द्ववाद ग्रिसेली शब्द डाइलेगोबाट आएको हो । जसको अर्थ विमर्श गर्नु, बहस गर्नु हो । द्वन्द्ववादी दर्शनले अन्य दर्शनभन्दा फरक र वैज्ञानिक तरिकाले समाजको व्याख्या गर्छ । यो दर्शनले समाजको मात्र होइन प्रकृतिलाई वस्तुहरूको थुप्रो, एक अर्कामा असम्बन्धित, पृथक र स्वतन्त्र भन्ने ठान्दैन । यसले प्रकृतिमा सधैँभरी कुनै चीज उदीयमान रूपमा विकास हुँदै गर्छ र कुनै चीज विघटन र विनाश भइरहेको हुन्छ । विकासलाई पुरानो गुणात्मकबाट नयाँ गुणात्मक अवस्थामा सङ्क्रमणको रूपमा हुन्छ भन्छ । 
स्टालिनले द्वन्द्ववादको व्याख्या यसरी गरेका छन्– ‘द्वन्द्वात्मक भौतिकवाद माक्र्सवादी लेनिनवादी पार्टीको विश्व दृष्टिकोण हो । प्रकृतिका परिघटनाहरूलाई हेर्ने दृष्टिकोण, यसको अध्ययन गर्ने र बुझ्ने विधि द्वन्द्वात्मक रहेको छ । प्रकृतिका परिघटनाहरूको व्याख्या गर्ने सिद्धान्त र परिघटनाप्रतिका धारण भौतिकवादी हुनाले यसलाई द्वन्द्वात्मक भौतिकवाद भनिएको हो । (पृ. ११३)
माओले पनि दर्शनको विकासमा आफ्नो योगदान दिएका छन् । माओको विचारमा दार्शनिक सिद्धान्तहरू निश्चित समाजिक वर्गमा रहेका मानिसद्वारा सिर्जना गरिएका हुन्छन् । मानिसका विचारहरू बढीमा एउटा ऐतिहासिक रूपले एउटा निश्चित समाजिक अस्तित्वद्वारा निर्धारित भएका हुन्छन् । 
सिद्धान्तहरूले निश्चित वर्गका आवश्यकताहरू, समाजिक उत्पादक शक्ति विकासको उचाइको प्रतिविम्बन र प्रकृृतिबारे मानिसको बोधको ऐतिहासिक चरणलाई अभिव्यक्ति गर्छन् । 
द्वन्द्वात्मक भौतिकवाद आदर्शवादभन्दा वस्तुगत रूपमा फरक छ । आफूलाई माक्र्सवादी भन्नेहरूले द्वन्द्वात्मक भौतिकवादको प्रयोग गर्नुपर्छ । अथवा यो दर्शनको अध्ययन अनिर्वाय नै हुन्छ । द्वन्द्ववादको अध्ययन नगर्दा नै माक्र्सवादी कार्यकर्ताहरू मनोगतवाद र यान्त्रिकतावादमा पुग्छन् । यसमा पुग्नु भनेको माक्र्सवाद विरोधी दिशातर्फ जानु हो । यस्ता कमिकमजोरी त्याग्नलाई सही वस्तुको सही विश्लेषण गर्नका लागि हामीहरू द्वन्द्ववादी बन्नै पर्छ । (पृ.१५५)
माओले द्वन्द्वात्मक भौतिकवादलाई सर्वहाराको विश्व दृष्टिकोण भनेका छन् । यसले वरिपरिको जगतबारे ज्ञान लिने सर्वहारा वर्गको विधि हो । यही विधिले क्रान्तिकारी कार्यको विधि पनि हो । यो विश्वदृष्टिकोण र विधिशास्त्रको एकता पनि हो । 
द्वन्द्ववादी दर्शनले जतगबारे हाम्रो ज्ञानको अध्ययन गर्छ । अज्ञानताबाट ज्ञानतिर, अपूर्णज्ञानबाट पूर्णज्ञानको अध्ययन गर्छ । यसले प्रकृति र समाज विकासका नियमहरूलाई मानव मस्तिष्कमा कसरी विस्तारपूर्वक प्रतिविम्बित हुन्छ भन्ने कुराको अध्ययन गर्छ । 
भौतिक संसारको स्वतन्त्र अस्तित्व स्वीकार गर्नु नै भौतिकवादी शिविरमा रहेन पहिलो सर्त हो । यो कुरा बुझेपछि सम्पूर्ण वैज्ञानिक अनुसन्धानको आधारभूत प्रस्तावना हो । 
आदर्शवाद र दैविक शास्त्रहरू भने विश्व कता र भौतिक प्रकृतिको नकार र विश्वको गति र विकासलाई पदार्थबाट अलग कल्पना गरेर जन्मेको हो भन्छन् । यसको मान्यतामा आत्मा, ईश्वर र दैवी शक्ति जन्मन्छ । यो दर्शनले पदार्थबाट गतिलाई अलग राखेर सोच्दछ यही नै द्वन्द्ववाद विरोधी हो । द्वन्द्ववादले भने पदार्थ रूपान्तरणको कारण बाहिरी होइन भित्री हुन्छ । बाह्य शक्तिको दबाबका कारण यो रूपान्तरण हुँदैन । रूपान्तरण त पदार्थभित्र भएका परस्पर विरोधी दुई सङ्घटकहरू बिचको आपसी सङ्घर्षका कारणले पदार्थमा निरन्तर गति र विकास हुन संवेग प्राप्त गर्छ । 
माक्र्सवादी दार्शनिक लेनिनको भनाइ छ ‘सङ्क्षिप्तमा द्वन्द्ववाद भनेको विपरीतहरूको एकताका रूपमा परिभाषित गर्न सकिन्छ । यही नै द्वन्द्ववादको गुदी हो ।’ 
माओले द्वन्द्ववादका ३२ वटा उदाहरणहरू प्रष्ट्याउनुभएको छ । जसको महत्व आज पनि विश्व कम्युनिष्ट आन्दोलनमा त्यति नै छ । द्वन्द्ववाद बुझ्नु भनेको विश्लेषण गर्न जान्नु हो । हरेक वस्तुहरू बीचमा सङ्घर्ष एकता र रूपान्तरण हुन्छ । अन्तर्राविरोध र सङ्घर्षविना जगत, विकास र जीवनलगायतका कुनै पनि चीज हुँदैनन । सधैँभरि एकताकै कुरा गर्नु भनेको जमेको पोखरीको पानी जस्तै हो । गलतका विरुद्धको सङ्घर्षबाट नै सत्य विकसित हुन्छ । 
माओको भनाइ छ सही विचार सामाजिक व्यवहारबाट आउँछ । सामाजिक व्यवहार तीन किसमका छन् । उत्पादनका लागि सङ्घर्ष, वर्ग सङ्घर्ष र वैज्ञानिक प्रयोग । मानिसको सामाजिक अस्तित्वले उसकोे चिन्तन निर्धारण गर्छ । (पृ.२०१)
कम्युनिष्टहरूले कोरा ज्ञानभन्दा पनि जीवन र जगतसँग जोडिएको ज्ञानलाई महत्व दिन्छन् । त्यही भएर भन्छन् ज्ञान पदार्थबाट चेतनातिर हँुदै फेरि पदार्थमा फर्कने प्रक्रिया  र व्यवहारबाट ज्ञानतिर फेरि व्यवहारमै फर्कने प्रक्रिया धेरै पटक भएपछि ज्ञान प्राप्त हुन्छ । (पृ.२०२)
पुस्तक नेपालका सबै कम्युनिष्टहरूका लागि उपयुक्त छ ।  माक्र्सदेखि माओसम्मका दार्शनिक रचनाहरूलाई हेमन्तप्रकाश ओलीले नेपालीमा अनुवाद गरेका छन् । ६४ प्रतिशतभन्दा बढी नै नेपाली राजनीतिमा कम्युनिष्टहरूले होल्ड गरेका छन् । यी विभिन्न धाराका कम्युनिष्टहरूले मान्ने दार्शनिक यिनै हुन् । पुस्तक जति महत्वपूर्ण छ त्यति नै पढ्न पनि आवश्यक छ । पछिल्लो समया युवाहरूमा पठन संस्कृति कम भएको आरोप लाग्ने गरेको छ । अबको कम्युनिष्ट आन्दोलनको भविश्य युवाहरूको हातमा छ । यसका लागि अध्ययनको आवश्यक छ । 
पुस्तकको भाषामा भने कही कही समस्या छ । पढ्न अलि गाह्रो छ । केही ठाउँमा पुस्तक पढ्दा झिजो लाग्न सक्छ । यसलाई छिचोलेर अगाडि बढ्नै पर्छ । दर्शनको पुस्तक भएकाले अलि पढ्न र बुझ्न गाह्रो छ । अझै मिहिनेत गरेको भए अध्ययन गर्न सहज हुन्थ्यो होला । यसमा अनुवादकको ध्यान अलि कम पुगेजस्तै भएको छ । जेहोस् बजारिया साहित्यको बिगबिगी भएको समयमा अनुवादक र प्रकाशकले कम्युनिष्ट दर्शन अध्ययन गर्न चाहनेकालागि राम्रो काम गर्नु भएको छ । बजारले माक्र्सवादी पुस्तक विक्दैन भनिरहेको समयमा राम्रो पस्तक प्रकाशन गरे बिक्छन् भन्ने राम्रो उदाहरण पनि पेश गरेका छन् । अनुवादक र प्रकाशक यसका लागि धन्यवादका पात्र भएका छन् ।
पुस्तक : दार्शनिक रचनाहरू (माक्र्सदेखि माओसम्म)
अनुवादक : हेमन्तप्रकाश ओली
मूल्य: ३००
प्रकाशक : जागरण बुक हाउस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप