बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

टोखा हत्याकाण्ड : मदिराले लठ्ठिएकी युवतीले मुख छाडेपछि काखमा राखेर हत्या

आइतबार, ०२ वैशाख २०७५, १७ : ०२
आइतबार, ०२ वैशाख २०७५

काठमाडौँ । ‘जाने हो ?’ काठमाडौँको माछापोखरीमा टहलिँदै गरेका २३ वर्षीय गोपाल शर्मालाई युवतीले आँखामा–आँखा जुधाएर सोधिन् ।

अपरिचित युवतीको प्रश्न भुइँमा खस्नासाथ उनले अकमकाउँदै प्रतिप्रश्न गरे, ‘कहाँ जाने, कति पैसा लाग्छ ? 

‘होल नाइटको दुई हजार लाग्छ, मैले चिनेको गेष्ट हाउस छ त्यहीँ बसेर रमाईलो गरौँला ।’ युवतीको यस्तो प्रस्ताव सुनेपछि रामेछापमा मिस्त्री काम गरेर केही दिनका लागि काठमाडौं आएका शर्माले चितवनकी रियाना अधिकारीलाई पछ्याए । 

रियानाले उनलाई टोखा नगरपालिका–९ स्थित मिलन टोलमा रहेको न्यु भुमेश्वरी एण्ड अर्जुन पाहुना घरमा लगिन् । 
पहिले एक रातको १५ सय मात्र दिन्छु भनेका शर्मा केही बेरमा रातभर बसेको दुई हजार तिर्न सहमत भैसकेका थिए । गोपालले प्रहरीलाई दिएको बयान अनुसार गेष्ट हाउसमा पुगेपछि युवतीले उनीसँग पहिल्यै

पैसा लिईन्, अनि मदिरा सेवन गर्ने प्रस्ताव गरिन् ।  

रियाले ‘भजिर्न’ ब्राण्डको रक्सी पिइन् भने गोपालले बियर पिउन थाले । रक्सीले मातेपछि माछापोखरीमा भएको सहमति अनुसार रिया शारिरिक सम्पर्क गर्न सहमत भइनन् । उनले गोपाललाई आमाचकारी गाली गर्दै भनिन्, ‘मैले धेरैलाई यही होटलमा लुटेकी छु, अब केटाहरु बोलाएर तलाईं पनि लुट्छु !’ 

दुई हजारमा रात बिताउने शर्तमा होटल पुगेकी युवतीले यस्तो रौद्र रुप देखाउँदै आफ्ना बैनी र आमासँग सम्पर्क गर भन्दै केटाहरुलाई फोन लगाउन खोजेपछि गोपाल रिसले चुर भए । 

आवेगमा आएका गोपालले मदिराले लठ्ठ रियानालाई आफ्नो काखमा सुताए अनि घाँटी थिचेर मारिदिए । 

यसरी मदिरा, सेक्स र पैसाको विवादका कारण छिनभरमै भूमेश्वरी गेष्ट हाउसको २०३ नम्बर कोठामा रियानाको प्राण पखेरु उड्यो । 

त्यतिबेला रातको १० बजिसकेको थियो, मृतक युवतीको दुवै खुट्टा कपडाले बाँधे, घाँटीमा युवतीकै ट्राउजर खोलेर बाँधिदिए । अनि गोपाल उक्त गेष्ट हाउसबाट बाहिरिए । 

महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख विश्वराज पोखरेलका अनुसार गोपाल त्यहाँबाट गंगाहल नजिकै गएर सड्कमै सुतेका थिए । भोलिपल्ट दिनभर रत्नपार्क घुमेपछि रात्रीबस चढेर नेपालगञ्ज हुँदै कञ्चनपुर पुगेका शर्मालाई कञ्चनपुर स्थित गड्डाचौकीबाट नियन्त्रणमा लिइएको एसएसपी पोखरेलले जानकारी दिएका छन् । 

चैत २३ गते रियालाई कर्तव्य गरेर मारेका शर्मालाई महानगरीय प्रहरी वृत महाराजगञ्जका इन्सपेक्टर विक्रम लामाको कमण्डमा खटिएको प्रहरी टोलीले चैत ३० गते पक्राउ गरेको हो । शर्मामाथी कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद लिएर अनुसन्धान भईरहेको एसएसपी पोखरेलले बताए । 

गोपाल शर्मा सल्यानको शारदा नगरपालिका–१ का स्थायी बासिन्दा हुन् । उनी रामेछापमा मिस्त्रीको काम गर्दै आएका थिए । 

मृतक युवतीको यकिन घर ठेगाना अझै खुल्न सकेको छैन । माछापोखरी र नयाँ बसपार्कमा भेटिएका यौनकर्मीको बयानका आधारमा युवतीको नाम रियाना अधिकारी र घर चितवन भएको खुल्न आएको छ । 

गेष्ट हाउसको आगन्तुक पुस्तिकामा गोपालले आफ्नो नाम र थर ढाँटेर लेखेका थिए । उनले होटलको आगन्तुक पुस्तिकामा दाङको घोराही नगरपालिका–१ स्थायी ठेगाना भएका विकास ओली भन्दै झुटो नामथर टिपाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । चैत २४ गते बिहान गेष्ट हाउस सञ्चालक बिल लिएर जाँदा कोठाभित्र युवती मृत अवस्थामा फेला परेकी थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप