शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इन्दिराले ल्याइन् ‘गर्लफ्रेन्ड’, वर्षको सुरुवातमै आए यस्ता गीत

सोमबार, ०३ वैशाख २०७५, १२ : २०
सोमबार, ०३ वैशाख २०७५

काठमाडौं – हरेक नयाँ बर्षले छुट्टै उमंग र उत्साह लिएर आउने गरेको छ । यस्तै गीत संगीतको क्षेत्रमा पनि यो बर्षले केही नौलो आयाम बनाउने निश्चित छ । त्यसको अनुमान नयाँ बर्षको आगमनसँगै सार्वजनिक भएका गीतसंगीतलाई लिन  सकिन्छ । यस्ता छन् नयाँ बर्षको सुरुवातमै सार्वजनिक भएका गीतः

‘गर्लफ्रेन्ड’
नेपाल आइडलकी जज गायिका इन्दिरा जोशीको नयाँ गीत सार्बजनिक भएको छ  । नेपाली नयाँ बर्षको अवसर पारेर अस्ट्रेलियाबाट यो गीत रिलिज गरिएको हो । 
गीतमा इन्दिरालाई सुनोद श्रेष्ठले स्वरमा साथ दिएका छन् । गायिका जोशीकै शब्द र संगीत गीतमा छ । मेलवर्नको सुन्दर दृश्यहरु कैद गरिएको ‘गर्लफ्रेन्ड’को म्युजिक भिडियोमा सुनोद श्रेष्ठ ,प्रिया मिश्र, एन्जी मुल्मी श्रेष्ठ लगायतका साथीहरुको अभिनय रहेको छ ।
भिडियोलाई सुनोद श्रेष्ठले निर्देशन गरेका हुन् । सुनोदले यस अघि अस्ट्रेलीयाबाट निर्माण र प्रशारण भैरहेको टिभी सीरिजहरु र म्युजिक भिडियो अभिनय गरेका थिए ।
 
‘यायावर’
इलामे गीतकार बसन्त थाम्सुहाङको दोस्रो सांगीतिक एल्बम ‘यायावर’ आइतबार सार्वजनिक गरिएको हो । गीतकार संघ नेपालले राजधानीमा आइतबार आयोजना गरेको कार्यक्रममा गीतकार रत्नशमशेर थापा, गीतकार संघका अध्यक्ष चुडामणि देवकोटा, संगीतकार शक्ति बल्लभ, प्राज्ञ तथा साहित्यकार श्रवण मुकारुङ, संगीतकार आभाष, गीतकार योगेन्द्रमणि दाहाल, गीतकार दिनेश अधिकारी र गीतकार थाम्सुहाङले संयुक्त रुपमा एल्बम सार्वजनिक गरे ।
एल्बममा ‘यायावर’, ‘न मर्नु न बाँच्नु’, ‘प्रणयका ती पलहरु’, ‘किन आज’, ‘आफ्नै मुहार’, ‘ए चन्द्रमुखी’ र ‘नसोध साथी’ बोलका गीत छन् । गीतमा भिषण मुकारुङ राई, भविन ढुंगाना, झुमा लिम्बु, कर्मा ग्याल्छेन बम्जन, लसिमित राईको स्वर छ । गीतमा अम्बर गुरुङ, शान्ति ठटाल, पारस मुकारुङ र आभाषको संगीत छ ।
कार्यक्रममा संगीतकार बल्लभ, प्राज्ञ तथा साहित्यकार मुकारुङलगायतले एल्बमका राम्रा र नराम्रा पक्षका बारेमा आफ्ना भनाई राखेका थिए । प्रमुख अतिथि गीतकार थापाले थाम्सुहाङका गीतमा चेतनाको स्तर उच्च रहेको बताए । कार्यक्रममा एल्बमको शीर्ष गीतको भिडियो ‘यायावर’ पनि सार्वजनिक गरिएको थियो । विज्ञान राई निर्देशित भिडियोमा नाट्यकर्मी राजन खतिवडाले फिचरिङ गरेका छन् ।
बसन्तको गीत ‘ए चन्द्रमुखी’ वर्ष २०७१ को वर्षगीत घोषित भएको थियो । उनले यसअघि २०६८ सालमा ‘अवशेष’ नामक एल्बम बजारमा ल्याएका थिए ।

‘सम्झाउन खोज्छु यो मन’
नयाँ बर्षसँगै गायिका कविता श्रेष्ठले ‘सम्झाउन खोज्छु यो मन’ नामक गीति भिडियो लिएर दर्शक तथा श्रोता माझ आएकी छिन् । नयाँ वर्षलाई लक्षित गर्दै बैशाख १ गते यो गीत ल्याइएको हो । मेलोडियस लभ सङमा गायिका कविता श्रेष्ठ र गायक ओम सुनारको आवाज रहेको छ । गायक स्वयम ओमले गीतमा संगीत भरेका छन् ।
 गायिका श्रेष्ठ आफैले रचना गरेको गीतको भिडियो निकै रोमान्टिक बनेको छ । त्यसो त आश्चर्य जनक कुरा के छ भने स्वयम यी गायक गायिका भिडियोमा समेत देखिएका छन् । मोडलिङ आफ्नो पेशा नभएपनि यसलाई नौलो प्रयोगको रुपमा लिन सकिने ओम र कविताको भनाइ छ । कुलेखानी र चित्लाङमा छायांकन गरिएको भिडियोलाई गायिका कविता आफैले निर्देशन गरेकी हुन् ।


‘चुडी लग्यौ’ 

मर्मस्पर्शी तथा कर्णप्रिय गीत ‘चुडी लग्यौ’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । विश्वभरका नेपालीहरुले नयाँ वर्ष हर्षोल्लासमय अवसरका रुपमा मनाईरहेको हुँदा नयाँ म्यूजिक भिडियो मार्फत शुभकामना दिन भिडियो ल्याइएको बताइनछ । गीतमा राजसागरको स्वर तथा संगीत रहेको छ । गोदावरी भिलेज रिसोर्ट तथा गोदावरी क्षेत्रमा खिचिएको भिडियो प्रकाश सुवेदी, रेनु लामा र संदिप गुरुङको अभिनय रहेको छ ।

‘अँ“खा लाउ“छन्....’
गीतकार अम्बिका गुरुङले आफ्ना स्रोता तथा दर्शकहरुलाई नया“ वर्ष २०७५ को पहिलो दिन नै एउटा सांगीतिक कोशेली दिएकी छिन् । गायिका मेलिना राई तथा गायक विरेन्द्र श्रेष्ठको स्वरले सजिएको ‘अँ“खा लाउ“छन्....’ शीर्षकको गीतको म्युजिक भिडियो मार्फत गीतकार गुरुङ दर्शक तथा स्रोतामाझ आएकी हुन् । 
धुलिखेलका आकर्षक लोकेसनमा छायांकन गरिएको उक्त गीतको भिडियोमा बाल कलाकार आयुश र अन्सुका साथमा अभिनेत्री सुप्रिया श्रेष्ठ र मोडल निपुन श्रेष्ठले अभिनय गरेका छन् । भिडियोमा राजिव समरको कोरियोग्राफी छ । सञ्चारकर्मी सञ्जय बरालले उक्त भिडियोलाई निर्देशन गरेका हुन् । 


‘सानी नानी’
गायिका तथा मोडल रमिता भण्डारीको तेस्रो गीती संग्रह ‘सानी नानी’ श्रोता माझ आएको छ । नयाँ वर्ष २०७५ को अबसर पारेर गायिका भण्डारीले तेस्रो एल्वम प्रकाशनमा ल्याएकी हुन् ।  एल्वममा संग्रहीत गीतहरुका केहि गीतको भिडियो भने यस अघि नै बजारमा आइसकेका छन् ।  यस एल्वममा ६ वटा गीत संग्रहित रहेका छन् । सानी नानी, के यो माया हो, छल्कीयो जवानी,  जुनेली रात, तिमी को, तिमी निष्ठुरी गीतहरु सानी नानी एल्वममा रहेका छन् ।  गायन, अभिनय तथा इभेन्टमा व्यस्त छिन् । बहुप्रतिभाकी धनी भण्डारीले तिन वटै विधालाई एक साथ अघि बढाएकी छिन् । यसअघि उनले दुई वटा सोलो एल्वम ल्याइसकेकी छिन् । एल्वमलाई रशलाइट मिडियाले बजारमा ल्याएको  हो । 

‘माया लगाइ...’
कवयित्री समेत रहनु भएकी गीतकार अम्बिका गुरुङ प्रायः प्रेमिल शैलीका गीतहरु रचना गर्न सिपालु हुनुहुन्छ । अमेरिकामा बसेर नेपाली गीत–संगीत तथा साहित्यमा क्रियाशिल गुुरुङले यसपटक आफ्ना रोमान्टिक शब्दहरुको एउटा गीतको म्युजिक भिडियो तयार पार्नु भएको छ । ‘माया लगाइ...’ शीर्षकको उक्त गीतको म्युजिक भिडियो भरखरै सार्वजनिक भएको छ ।
संगीतकारको रुपमा स्थापित भैसकेका शंकर थापा स्माइलले यो गीतमा स्वर भरेका छन् । नेपालका स्थापित म्युजिक भिडियो निर्देश्ँक अर्जुन अधिकारीले यो गीतको म्युजिक भिडियोलाई गीतका शब्दहरु झैं रोमान्टिक बनाएका छन् । भिडियोमा अभिनेत्री सारा शिर्पाली तथा अभिनेता निराजन प्रधानले अभिनय गरेका छन् । 


‘खाली खाली’
गायक राजन तिमिल्सिनाको रोमान्टिक गीत ‘खाली खाली’को भिडियो सार्वजनिक भएको छ । राजनको आफ्नै संगीतमा गीतमा राजनको साथमा बेपिका बस्नेतको स्वर रहेको छ । गीतलाई यमन सुवेदीले लेखेका हुन् । गीतको भिडियोमा एक जलपरीसँग युवकको प्रेम रहेको देखाईएको छ ।

भिडियोमा मिलन शंकर र कृपा राजभण्डारीको अभिनय छ । यसै गीतबाट मोडल राजभण्डारीले अभिनयमा डेब्यू गरेकी हुन् । गीतको भिडियोलाई अनिल के. मानन्धरले निर्देशन तथा छायांकन गरेका छन् । शिलन लम्शाल भिडियोका सम्पादक हुन् । 


‘मेरो प्यारो मेरो देश मेरो नेपाल’

गायक तथा संगीतकार ताराप्रकाश लिम्बूको नयाँ देशभक्ति गीत रिलिज भएको छ । सार्वजनिक ‘मेरो प्यारो मेरो देश मेरो नेपाल’ बोलको गीतमा तार प्रकाश स्वर तथा संगीत सुन्न सकिन्छ । गीतकार मुकेश राईको गीती एल्बम ‘मनोकांक्षा २’मा समावशे यस गीतमा देश प्रतिको माया व्यक्त गरिएको छ । 
शान थापाको निर्देशनमा तयार भएको भिडियोमा ताराप्रकाश आफै फिचरिङ छन् । देशभक्ति भावनालाई देखाइएको भिडियो नेपालका विभिन्न ऐतिहासिक स्थलहरुमा छायाँकन गरिएको छ । 

‘तिमीलाई मनपराउनु मेरो गल्ती होईन’

राई ईज किंग राजेश पायल राईले गाएको लोकप्रिय गीत ‘तिमीलाई मनपराउनु मेरो गल्ति होईन’लाई चर्चित बाल गायक आयुष केसीले भर्खरै आफ्नो सुमधुर स्वर दिएका छन् । गीतकार दर्पण राईको शब्द रहेको गीतमा महेन्द्र राईको संगीत छ ।


‘तर्की तर्की’ 

गायक नारायण धितालको स्वरमा रहेको गीत ‘तर्की तर्की’ को भिडियो सार्वजनिक गरिएको  छ । एल्बम ‘जय मायाप्रेम’ मा समावेश यस गीतलाई वि स्टार नेपालको अपिÞmसिएल  युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतको भिडियोमा नारायणसँगै बेनिशा हमाल , अर्जुन रत्न भिकारीको अभिनय रहेको छ । हिमाली भेगको मनोरम दृश्यमा छायाँकन गरिएको गीतमा नारायण र बेनिशाको मायाको कथालाई प्रस्तुत गरिएको छ ।

गीतमा शब्द अर्जुन रत्नको रहेको छ भने संगीत चेतन सापकोटाले दिएका छन् । भिडियोमा युबराज वाइवाको निर्देशन रहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप