शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय गौरवका आयोजना छिटो सम्पन्न गर्न उर्जामन्त्री पुनले कर्मचारीलाई दिए निर्देशन

सोमबार, ०३ वैशाख २०७५, २० : ४२
सोमबार, ०३ वैशाख २०७५

काठमाडौं । उर्जा, जलस्रोत तथा सिचाईंमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजना छिटो सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

२०७४/०७५ को दोस्रो चौमासिक प्रगति समस्या तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री पुनले मन्त्रालय अन्र्तगतका राष्ट्रिय आयोजना समयमै सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् । 

नीतिगत तहका कर्मचारी सहभागी उक्त बैठकमा मन्त्री पुनले राष्ट्रिय गौरवका आयोजना समयमै पुरा नभएको गुनासो बढ्दै गएको समयमा अब कुनै पनि बहानामा विकासका आयोजना रोकिन नहुने बताए । 

उनले मन्त्रालयमा भएको समस्या समन्वयात्मक ढङ्गबाट समाधान गरेर अगाडि बढ्ने बताए । उनले भने, ‘राष्ट्रिय गौरवका आयोजना रोकिनु भएन, बजेटको समस्या भए मन्त्रालयबाट समाधान हुन्छ ।’

मन्त्री पुनले आयोजना समयमै सम्पन्न गर्दा आउने समस्या आफूलाई सिधै बताउन आग्रह गर्दै अन्य बहानामा आयोजना ढिलासुस्ती नगर्न निर्देशन दिए । 

‘काममा समस्या पर्दा सिधै मलाई भन्दा हुन्छ, समस्याको हल मन्त्रालयबाट हुन्छ,’ उनले भने, ‘अन्य बाहानामा काम रोकिनु हुँदैन ।’

मन्त्री पुनले अबको समय मुलुकको विकास र समृद्धि भएकाले यसमा सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए । माओवादी नेता समेत रहेका मन्त्री पुनले मुलुकले स्थिर सरकार पाएकाले पहिला जस्तो अनेक समस्याले विकासका आयोजना पन्छाउने जस्ता कार्य अब नहुने बताए । 

मन्त्री पुनले नीति र नेतृत्वको निरन्तरताले अब काम हुने बताउँदै सबैबीच समन्वय हुनुपर्नेमा जोड दिए । 

समितिको बसेको पहिलो बैठकमा मन्त्री पुनले यस्ता बैठक नियमित हुनुपर्ने बताउँदै कर्मचारीबीच नीतिगत विषयमा छलफल र समिक्षा आवश्यक भएको उल्लेख गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप