शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बालुवाटारमा वार्ता मिलेन : बैशाख ९ गते पार्टी एकता नहुने निश्चित

मङ्गलबार, ०४ वैशाख २०७५, १२ : ४८
मङ्गलबार, ०४ वैशाख २०७५

काठमाडौं– एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठकमा कुरा नमिलेपछि बैशाख ९ गते पार्टी एकता घोषणा नहुने लगभग पक्का भएकाे छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा पार्टी एकता गर्न कार्यदलमा सहमति नजुटेका तीनवटा विषयमा छलफल भएपनि सहमति नजुटेको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 
उनले विवादित विषयमा सहमति नभएपछि बैशाख नौ गते हुने भनिएको पार्टी एकता घोषणा टरेको बताए ।

श्रेष्ठका अनुसार विवादित विषय टुंगो लगाउने जिम्मा दुई पार्टीका अध्यक्षलाई दिइएको छ ।

‘दुबै प्रतिवेदनलाई अन्तिम रुप दिन र परिमार्जन गर्ने जिम्मा दुई अध्यक्षलाई दिइएको छ । अब  दुई अध्यक्षको वान टु वान बैठकबाट ती विषयलाई टुंगो लगाइने भइको छ’, उनले भने । 

 एमाले महासचिव इश्वर पोखरेलले  एकताका विषयमा खासै विवाद नदेखिएको दाबी गर्दै पार्टीमा  कसको कति प्रतिनिधित्व रहने भन्दा पनि सक्षम  नेतृत्व र सक्षम पार्टी बनाइने बताए । 
उनले चुनाव चिन्हको विषयमा खासै विवाद नभएको दाबी गर्दै विधानमा जनयुद्ध शब्द राख्ने नराख्ने विषयमा छलफल गर्न सकिने बताए । 

बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सहभागि थिए। 

एमाले–माओवादीमा निर्वाचन चिन्ह, जनयुद्ध र  एकातामा सदस्य संख्या कति हुने भन्नेमा विवाद छ । यी विषयमा समितिमा सहमति नहुँदा एकतामा ढिलाई हुँदै आएको हो । 

नेताहरुले जनयुद्ध र निर्वाचन चिन्हमा सहमति जुटाउन कठिन नभएको बताएपनि सदस्य संखयाको अनुपातमा दुवै पक्षले आ–आफ्नो अडान नछोड्दा सहमतिमा ढिलाई भइरहेको बताएका छन् । एमालेले ७०–३० को अनुपातमा संगठन बनाउनुपर्ने भनेको छ भने माओवादीले ५०–५० को अनुपात चाहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप