बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् तीन अनुहार भएका संसारका पहिलो व्यक्ति

बुधबार, ०५ वैशाख २०७५, १२ : ००
बुधबार, ०५ वैशाख २०७५

पेरिसका जेरोमी ह्यामन संसारका पहिलो व्यक्ति हुन् जसले आफ्नो अनुहारलाई दुईपटक ट्रान्सप्लान्ट गराएका छन् । ‘तीन अनुहार भएका व्यक्ति’ को उपाधि पाएका ह्यामनले आफू नयाँ पहिचानका लागि तयार भइरहेको बताएका छन् ।

४३ वर्षीय ह्यामन दोस्रो शल्यक्रिया गरेको तीन महिना पछि पनि पेरिसस्थित अस्पतालमा छन् । उनको नयाँ अनुहार चिल्लो, अचल छ तर उनको खप्पर, छाला र अन्य भागलाई एकरुपता दिन बाँकी नै भएको बताइएको छ । यो प्रक्रिया इम्युनोसप्रेसेन्ट नामक औषधीमा निर्भर छ ।

यो अभूतपूर्व उपलब्धी पेरिसको जर्जेस–पोम्पिडो युरोपियन अस्पतालका कर्मचारी र प्लाष्टिक सर्जरीका प्रोफेसर लाउरेन्ट ल्यान्टियरीले हाँसिल गरेका हुन् । प्रोफेसर ल्यान्टियरीले यो समूहको नेतृत्व गरेका हुन् । ल्यान्टियरीले नै सन् २०१० मा ह्यामनको फूल फेस ट्रान्सप्लान्ट गरेका थिए ।

ह्यामन न्यूरोफाइब्रोम्याटोसिस टाइप वान नामक रोगबाट ग्रसित छन् । यो यस्तो रोग हो जसले ट्युमरका साथै अन्य जटिलता निम्त्याउँछ ।

बीबीसीलाई उद्धृत गर्दै टाइन्स न्यूजले बतायो – उनले सन् २०१० मा गराएको पहिलो ट्रान्सप्लान्ट सफल रह्यो । तर त्यसै वर्ष रुघा खोकी निको पार्नका लागि उनलाई एन्टिबायोटिक दिइयो जसका कारण सन् २०१६ सम्म आइपुग्दा उनको ट्रान्सप्लान्ट बिग्रन थाल्यो र उनको नयाँ स्वरुप खराब हुन थाल्यो । र, गत नोभेम्बरमा नोक्रोसिसबाट ग्रस्त भएका कारण उनको ट्रान्सप्लान्ट गरिएको अनुहार नै निकाल्नुपर्यो । जसले ह्यामनको पूरै अनुहार खोस्यो । ल्यान्टियरीले उनको यो अवस्थालाई ‘हिँड्ने शव’ नामांकरण गरे । उनी दुई महिनासम्म अनुहार बिनै अस्पतालमा बसे । यतिबेला न त उनी हेर्न सक्थे, न बोल्न सक्थे न सुन्न नै । उनलाई मिल्ने डोनर पाएपछि मात्र गत जनवरीमा उनको दोस्रो ट्रान्सप्लान्ट गरिएको हो ।

‘म अहिले निकै आनन्दित महसुस गरिरहेको छु,’ उनलाई उद्धृत गर्दै एएफपी न्यूज एजेन्सीले बतायो । गत जनवरी १५ र १६ तारिखमा गरिएको शल्यक्रियापश्चात् गत हप्ता पत्रकारसामू उनी पहिलो पटक निकै संघर्षका साथ बाल्दै भने, ‘म यी सबै कुराहरुबाट निकै चाँडो पार पाउन चाहन्छु ।’  

‘म ४३ वर्षको भएँ र मेरा डोनर २२ वर्षका थिए त्यसकारण म पुनः २२ को भएँ,’ ह्यामनले फ्रेन्च टिभीलाई बताए ।

‘अस्पतालका सबै कर्मचारी यस्तो अवस्थामा पनि ह्यामनको साहस, इच्छाशक्ति देखेर प्रभावित छन् । उनले कहिले पनि कम्प्लेन गरेनन् । उनी सधैं राम्रो मुडमा हुन्थे,’ एनेस्थेटिस्ट बर्नार्ड कोलेले सम्झिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप