शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नं ४ को नीति तथा कार्यक्रम पारित

बुधबार, ०५ वैशाख २०७५, १८ : २६
बुधबार, ०५ वैशाख २०७५

पोखरा । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको आर्थिक वर्ष २०७४/७५ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ । 

सरकारको नीति तथा कार्यक्रम सोमबार प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभामा प्रस्तुत गरेका थिए ।  

प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रमलाई पारित गरियोस् भन्दै मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्ताव गरेकोमा उक्त प्रस्तावलाई बहुमतले पारित गरेको हो । 

यसअघि नीति तथा कार्यक्रम माथिको छलफलमा आज प्रदेशसभा सदस्य मायानाथ अधिकारी, दोबाटे विश्वकर्मा, रामजी बराल (जीवन), कृष्ण थापा, चन्द्रमोहन गौचन, विष्णुप्रसाद लामिछाने, गायत्री गुरुङ, पियारी थापा, धनञ्जय दबाडी, बिन्दुकुमार थापा, दीपक थापा, सावित्रा राना, सरिता गुरुङ, विनोद केसी, मनबहादुर गुरुङ, मनकुमारी गुरुङ, प्रभा कोइराला, जुनादेवी नेपाली र मोहनप्रसाद रेग्मीले बोलेका थिए ।  

बोल्ने प्रदेशसभा सदस्यमध्ये सत्तापक्षीय सदस्यले नीति तथा कार्यक्रमले प्रदेशको समृद्धि र विकासका लागि मार्ग प्रशस्त गरेको धारणा राखे भने प्रतिपक्षका सदस्यले नीति तथा कार्यक्रमले राजनीतिक आन्दोलनका उपलब्धिमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेको उपेक्षा भएको, नीति तथा कार्यक्रम महत्वाकांक्षी भएको उल्लेख गरे । 

छलफलमा उठेका विषयमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारको भूमिकालाई प्रभावकारी बनाउँदै स्थानीय साधन स्रोतको अधिकतम उपयोग गर्दै समृद्धि र विकासमा अघि बढने धारणा राखे । 

नीति तथा कार्यक्रम विशेषगरी आगामी तीन महिनाका लागि लक्षित भएको धारणा राख्दै उनले छलफलमा छुटेका विषयवस्तुलाई आगामी दिनमा समेटेर लैजाने प्रतिबद्धता व्यक्त गरे । 

संघीयताको कार्यान्वयनका सन्दर्भमा यस प्रदेशलाई नमूना प्रदेश बनाउने बताउँदै उनले यसका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने उल्लेख गरे । 

प्रदेशसभाको अर्को बैठक वैशाख ६ गते १ः०० बजे बस्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप