शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कथा : छोराको फुली

शनिबार, २४ असार २०७४, ०९ : २८
शनिबार, २४ असार २०७४

-मोहम्मद वाहिद अली 

केही दिनदेखि घोडामा सवार हुने गाउँले पञ्च भलाद्मीहरू गद्गद् थिए । सामान अनि मान्छे बोक्ने मोटर हिड्ने बाटो बन्दै छ भनेर । मोटरको बारे बुझ्नेहरू वादविवाद गर्थे, घोडेटो नभएको ठाउँमा मोटरबाटो कसरी बन्ने भनेर । केही दिनमा सर्भे भयो अनि बाटो खन्ने काम सुरु भयो । ज्यालादारीमा बाटो खन्न यस भेगका मान्छे प्रायः मजदुरी गर्न थाले । बाँदर लड्ने भीरमा पनि बम बारुद साबेल घनको मदतले बाटो खन्दै गए । यति फराकिलो बाटो हिँड्ने मोटर के होला ? जवान ठिटाहरूमा जिज्ञासा हुने गर्दथ्यो । सात दिन पैदल हिँडेर बटौली गएका भरिया अथवा साहुजीहरूको मात्र मोटर देखेका हुन्थे । कच्ची बाटो खन्ने काम सकियो । मोटर देख्ने सौभाग्य यस भेगका मान्छेलाई मिल्यो । टाढा टाढादेखि मोटर हेर्नेको भीड लाग्थ्यो । पन्जाबीको ट्रक धुलो उडाउँदै आउँदा बच्चाहरू आमाको गुनियो पछाडी लुक्ने गर्थे । महिलाहरू भगवानको नाम जप्दै मोटरलाई नमन गर्थे । बसलाई पर घुम्ती नकटुन्जेल हेरिरहन्थे । केही ठिटाहरू भने धुलोको बेवास्ता गर्दै परसम्म मोटरको पिछा गर्थे ।

 आफूले खनेको बाटोमा यसरी बस हिँडेको देखेर काहिला बाजे दङ्ग थिए । बाटो खन्नका निम्ति पूरै बिहान हिँडेर आउने गर्थे । बाटो मोटर गुड्न थालेपछि काहिला बाजेको खुसीको सीमा थिएन । उनी भन्थे– अब मोटर चढेर छोरोलाई भेट्न राजाको गाउँ जान पाइने भैयो । मोटरबाटोको पारि पट्टिको डाँडामा काहिला बाजेको गाउँ थियो । त्यो बेला मोटरहरू आवत जावत निकै काम हुन्थे । कुन बेला मोटर हिँड्छ सबैलाई थाहा हुन्थ्यो । गाडी आउने समयमा गाउँको चौपारीमा मान्छेहरू जम्मा भएर बसेका हुन्थे । गाडी हर्न बजाउँदै घुम्ती काटेको दृश्य हेर्दै रमाउने गर्थे ।

विकासले गति लिन थालेको थियो । एक बिहान लाग्ने एक गाग्रो पानि पाइपबाट घरको आगनमा आयो । रात्रि पाठशालाहरू स्कुलमा परिणत भए । खरीले क ख ग लेख्ने हातमा कलम कापी भए । वैद्य झाँक्रीहरू विस्थापित हुन थाले । पल्लो डाँडा बिहे भाकी चेली तीजमा खोलाले बगाउन छाडे । गाउँ हटियाहरुमा बजार बस्न थाले । गाउँमा गन्नेमान्नेका घरमा सुनिने रेडियोको ठाउँमा मान्छे देखिने टेलिभिजन हुन थाले । एन्टेना हल्लाएर मान्छे चलेको देख्न पाउँदा बूढाबूढी यो कलिमा के–के देख्न पर्यो भन्दै भगवान पुकार्थे । 

काहिला बाजेको मोबाइलमा एकाबिहान छोराको कल आयो । काहिला बाजे छोरालाई आशीर्वाद दिँदै थिए । छोरो प्रमोसन भएर जर्नेल भएछन्, बाटोमा हिँडेको दौँतरीलाई बाजेले सुनाउँदै थिए । मधुरो देख्न थालेका बाजे पावरवाला चस्मा लगाउँछन् । लौरी टेकेर नै दौरासुरुवालमा ठाटिएर अझै पनि उकाली ओराली गर्न छाडेका छैनन् । तर उनीमा छोरा जर्नेलको न आस छ न घमण्ड । उनले आफ्नो गाउँको थलो अहिलेसम्म छोडेको छैनन् । गाउँका सामाजिक कार्यमा उनको योगदान अतुलनीय छ । मोटर बाटो नहुँदै छोरोका लागि अन्नपात पुर्याउन धेरै पटक हिँडेरै राजाको गाउँ पुगेका उनी आधुनिक सोच भएका गाउँका बूढापाकामध्ये पर्दछन् । 
गाउँको स्याउलाले बारेको पाठशाला अहिले उच्च मावि भएको छ । विद्यालयलाई यो स्थानमा पुर्याउन काहिला बाजेको पनि ठूलो योगदान रहेको छ । विद्यालयको ४०औं वर्ष पूरा भएकाले वार्षिकोत्सव धूमधामका साथ मनाउने तयारी हुँदै थियो । यस विद्यालयका पूर्व विद्यार्थीहरू जुन उच्च तहमा पुगेका छन्, उनीहरूलाई आमन्त्रण गरिएको थियो । काहिला बाजेका जर्नेल छोरा यसै विद्यालयका पूर्वविद्यार्थी थिए । उनलाई वार्षिकोत्सवको प्रमुख अतिथि बनाइएको थियो ।

वार्षिकोत्सवको दिन काहिला बाजे आफ्नो गाउँ ठाउँका छोरा नातिहरूको प्रगति हेर्न पाउने आश लिएर चिटिक्क परेर विद्यालयतर्फ लागे । ३ वर्ष पहिले बजेट परेर खनिएको बाटोमा धुलो उडाउँदै गार्डसहित गाडीमा प्रमुख अतिथिको आगमन भयो । गाउँलेहरू उनलाई भव्य स्वागत गरे । बुबाको चरणमा ढोग गर्दै मञ्चतिर लागे । विद्यालयको प्राङ्गणमा काहिला बाजे अरू भन्दा निकै गद्गद् थिए । प्रमुख अतिथि छोरा भयो भनेर होइन । आफ्ना गाउँका शिक्षित छोरा नाति देखेर । बाजेलाई छोराको भाषणको व्यग्र प्रतीक्षा थियो । त्यसैले कार्यक्रमको अन्तिमसम्म बसे । छोराको भाषणपछि कार्यक्रम सकियो । सबै आआफ्नो बाटो लागे । बाटोमा गाउँमा भएका ठिटाठिटीहरू प्रमुख अतिथिको भाषण को प्रशंसा गर्दै थिए ।  

काहिला बाजे गाउँभरि डुल्ने, सबैका दुःखसुख बुझ्ने, बेलुकीपख चौतारीमा गफ लगाएर बस्थे । वार्षिकोत्सवको दिनदेखि गाउँको चौतारो जान छोडेका थिए । उनीमा एउटा निरासा देखिन्थ्यो । धेरै दिनपछि चौपारीमा बाजे देखिए । साँझ पख ऊ काठमाडौँ जाने रात्रि बस आयो । अगाडिको मान्छे देख्ने हम्मे पर्ने काहिला बाजे नाइट बसको हर्न सुनेर नै थाहा पाए । त्यसो त अहिले त्यो बाटोमा सयौँ मोटरहरू गुड्ने गर्दछन ।

धेरैपछि देखिनु भयो बाजे भन्दै रामे बाजेको नजिक बस्यो । बाजेका कुरा सुन्ने बहाना खोज्दै थियो । बाजे आज धेरैपछि गाउँतिर झुल्किनु भयो । गाउँ नै उज्यालो भयो । रामेले मनको बह पोख्यो । बाजेको पनि मनको बह पोख्ने मौका मिल्यो । बाजे सुरु भए । निधारमा यो कालो धब्बा हेर अनि यो हातको ठेली । बुढेसकालमा सुखका दिन बिताएको छु । वर्षौं भयो एक पैसोको काम गरेको छैन तर पनि दुःखका निसानीहरू मेटिएको छैन ।

लामो सुसेरा हाल्दै फेरि अगाडि थपे । त्यो सब छोरो पढाउन ठूलो मान्छे बनाउने सपना पूरा गर्नका निम्ति थियो । हामी बाच्नका निम्ति मेरो बाउबाजेले छोडेको जायजेथा काफी थियो । त्यो पारिको मोटर बाटो खनेर पाएको सात सात मोहोर जोडेर उसको उच्च शिक्षाका निम्ति पैसा जोहो गरे । घरको अन्नपात बोकेर हप्ता दिन हिँडेर उसको हातमुख जोड्न जोहो गरिदिए । अहिले त्यो नाथे ! धुलाम्य बाटोको कुरा गर्ने । गाउँ आएर विकासका कुरा छाट्ने । यही गाउँमा जन्मेको यही माटोमा हुर्केको हो । उसले यो माटोका लागि के गर्यो । उसको प्रश्न कसको निम्ति । गाउँ कुरेर बसेका हामी जस्ता बूढाबूढीहरूलाई ।

फेरि केही बेर सुस्ताए । ठूलो मान्छे बन्न गाउँ छोड्नुपर्छ भन्यो ।  हामी सबै परिवार गाउँ छाडेर ऊसँगै राजधानीतिर लागेको भए उसले त्यो फुली पाउँथ्यो । हाम्रो बलिदानले उसले गाउँ छाड्ने अवसर पायो । हामीले उसलाई केही कुराको कमी हुन दिएनौँ । एकातिर मातृस्नेह अर्कोतिर अभाव सबै कुरा हामीले झेल्यौँ । बाजे एकोहोरो बोलिरहे रामे दङ्ग थियो ।  साँझ पर्दै थियो । चारैतिर गाउँहरूमा बत्ति बल्दै थिए । आकासमा तारा थिएनन्, ताराहरू जमिनभरि छरिएका थिए । बाजे अहो ढिला भयो । अब घर फर्कौं । बाजे र नाति घरतिर फर्किए ।

[email protected]

    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप