शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कथा : प्रेमका मीठा मीठा कुरा

शनिबार, २४ असार २०७४, ०९ : ४१
शनिबार, २४ असार २०७४

-हरि थापा
मध्यान्ह बाह्र बजेको हुँदो हो । मेरा आँखा अगाडि टेबलमा राखेको एक्काइस इन्चको रङ्गीन टिभीमा केन्द्रित थियो सिरानी पछाडि राखेर अडेस लगाएर उप्पर खुट्टी लगाउदै म आराम गर्दै थिएँ । छेउमा राखेको मोबाइलमा टिङ टिङ घण्टी आयो । मेरो होस हवास नै उड्यो । दायाँ बायाँ हेरेँ कोठा शून्य थियो । छोरा छोरी स्कुल पढ्न गएका, श्रीमती घरधन्दामा व्यस्त थिइन् ।

लामो सास तान्दै भगवान जोगायौ, धन्य भन्दै तीन पटक भगवानको नाम पुकारेँ । अझै कम भयो भनी फेरि पनि पुकारेँ । कहिल्यै मोबाइल साउन्डमा हँुदैनथ्यो आज के गरी भयो । पापी मन, श्रीमतीको षड्यन्त्र त होइन ? फेरि उनलाई मेरो मोबाइल चलाएर बस्ने फुर्सद पनि कहाँ थियो र ? नानी बाबुको हेरविचार, खानपान पूरै भ्याइनभ्याई हुन्थ्यो ।

मलाई अनुमान लगाउन छुट थियो । कसैले रोक्नेवाला थिएनन् । श्रीमतीको अगाडि यसरी फोन टिङ टिङ टिङ हुने हो भने सोझी मान्छे मोबाइल झटारो हान्दिन बेर थिएन । झुक्याउने बानीले आफैलाई डरमा बाँच्न बाध्य पारेको थियो । 

म सोचमग्न भएँ । मेरो समय एकछिन मौनतमा बित्यो, कुन्ताको शङ्का गर्ने श्रीमती यसरी खुलमखुल्ला म्यासेज आको थाहा पाए त मेरो सर्वस्व बिग्रने थियो । फेरि मेरो गजबको बानी श्रीमतीको अगाडि बडो भलाद्मी भइदिन्छु । टिभीको किरो बनिदिन्छु, सायदै नहोला टिभीमै ध्यान दिएर हेरेको दिन, मेरा लागि टिभी त एउटा माध्यम मात्र हो ।

मेरो मन औधी डरायो । एकछिन त्यो म्यासेजतिर ध्यान गएन, पेरि टिङ गर्यो । तर्सिए अघि सोच्न मात्र भ्याएँछु, अझै मोबाइल त साउन्डमै छाडिरहेको रहेछु । हतारमा साइलेन्स मोड बनाएँ, शरीरबाट चिटचिट पसिना आयो । 

मेरो ध्यान म्यासेजतिर पट्टकै थिएन म त पूरै श्रीमतीसँगको काल्पनिक कुराकानीमा थिएँ । मनमनै श्रीमतीसँग झगडा गरेँ । आफैले झगडा सल्टाएँ अनि मन हल्का भयो । बडो कष्ट गरी जितेँ । जसरी पनि कुरा श्रीमतीको भन्दा माथि बनाउने जसरी पनि हराउने मेरो असली बानी यही हो । अन्ततः मनमनै जितेँ यो मात्र त्यो केटी को हो हँ ? श्रीमतीको प्रश्नको उत्तर दिएको र आफूलाई बचाउन हर प्रयास गरेको कल्पना कल्पिरहेको थिएँ ।

उनलाई त्यति लामो बहस गर्ने समय हुन्न । तैपनी कहीँकतै कुरा उठेमा उनले नहार्दासम्म म रोकिनेवाला छैन । उनको लचकतापन मैले सोच्ने जस्तो कठोर पनि छैन । उनी कुनै भलाकुसारी अन्य औपचारिक कुरामा श्रीमानसँग हार्दा पनि त्यत्रो गुनासो गर्दिनन् । श्रीमानको जितलाई आफ्नो जित सम्झने उनको अनौठो व्यवहार छ । यसैमा उनी भरपुर सन्तुष्ट हुन्छिन् । श्रीमानको खुसी आफ्नो खुसी उनको दृष्टिकोण सधैँ सकरात्मक हुन्छ ।

मौनताको चक्करपछि मनमा कौतुहल जाग्यो । मेरो होसहवास उडाउने मान्छे चाहिँ को थियो ? यसरी बेला न कुबेला म्यासेज गर्ने को रैछ हेर्न मन लाग्यो । एक पटक झ्यालबाट बाहिर हेरेँ । श्रीमती पूरै व्यस्थ थिइन् मेरा लागि यो सुनौलो अवसर अनि सही समय थियो । सीधै म्यासेज बक्समा पसेँ, अनिसा, अनिसा यो विलकुल नयाँ नाम थियो फेरि लास्ट थर थिएन । नाम पनि थर पनि अनिसा, सोच्दै थिएँ । त्यतिकैमा फोटो हेरेँ, वाउ कति क्युट फोटो यति सुन्दरी साच्चीकै मन लोभियो ।

कुनै लक्षणको कमी थिएन । झ्वाट्ट हेरेँ, सिर्फ पहिलो हेराइमा नै त्यो तस्बिर हृदयमा कैद भयो । आखाँ चिम्म गर्यो कि त्यो तस्बिर छर्लाङ्ग देखिन्थ्यो । हतपत प्रोफाइलमा भिजिट गरँे । सीधै फोटो जुम गरेँ, विलकुल नयाँ अनुहार थियो । अबाउट अनिसा, आईडी अनिसा नै थियो । मेल फिमेल डिटेल्स चेक गरे । दुई तीन मिनेटको अन्तरालमा पूरै हेर्न भ्याएँ । मन झनझन चञ्चल हुँदै थियो, समाल्न सक्दो कोसिस गरेँ । मलाई अचम्म लागेको थियो । हैन के देखेर यति राम्री सुन्दरीले मलाई म्यासेज गरेको कतै फसाउने त हैन, सतर्क भएँ ।

साथी चेक गरेँ, एक जना मेचुअल फ्रेन्ड, मन चिसो भयो । खासमा मेरो बानी यो मेचुअल फ्रेन्ड भएको लेडिजहरूसँग कुरा गर्न व्यर्थ झैँ लाग्छ तैपनी उनको पहिलो म्यासेज रिप्ले दिन मन लाग्यो ।

लगभग मान्छे फेक हैन भन्ने पक्कापक्की भयो अझै शङ्का लाग्यो । कतै केटाहरूले दुःख त दिएका हैन । आजकल फेक आईडीबाट बढी फ्रेन्ड रिक्वेस्ट आउने गर्छ । सीधै म्यासेन्जरमा कलिङ बटन दबाएँ । दुई घण्टीमा कल कनेकटिङ भयो । हेल्लो ! बडो मीठो लेडिज स्वर आयो, उनी बोलिन ! कल काँटे । अझै चित्त बुझेन शङ्का झन् बढ्यो । आजकल क्यारिकेचरको जमाना छ, केटाहरू नै लेडिज भ्वाइस निकाल्छन् । सजिलै पत्याउन नसकिने कुरा थियो फेरि झ्यालबाट बाहिर हेरेँ ।

श्रीमती अझै नानीबाबुका स्कुलका युनिफर्म धुँदै थिइन, हतारमा फेरि यो मौकामा भिडियो कलको बटन दबाएँ, फेरि कल उठ्यो । प्रोफाइल पिक्चरमा राखेको फोटो ठ्याक्कै मिल्यो मीठो मुस्कान दिएर हेल्लो भनिन् । मैले पनि वाउ नाइस भ्वाइस लगाइदिएँ । आँखा मज्जाले जुधे, हेराहेर मात्र भयो बोल्ने कुरा नै भेटिएन । उनको मधुर मुस्कान थियो मेरा आखाँहरू एकछिन खुबसँग तिरमिराए । त्यतिकैमा पछाडि आवाज आएझै लाग्यो सीधै कल काटे अनि गीत गुनगुनाएँ ।

फेरि झ्याल छेउ पुगँे तल्लो फ्लोरमा श्रीमती के गर्दै छिन् भनेर हेरेँ । उनी अझै व्यस्थ थिइन पछाडि आवाज आयो । पक्का श्रीमती आइन भनेर काटेको कल फेरि गर्न मन लाग्यो । उतैबाट म्यासेजको वर्षा भयो, कल किन काट्नु भयो हजुर ।

च्वास्सै मुटुमा चस्का हान्यो, के भनौँ भनौँ भयो । सोचेँ केही भेटाइनँ, ब्यालेन्स सकिएछ । मज्जाले ढाटिदिएँ, उनले सजिलै पत्याइन । म्यासेज नै गरौँ कल पुग्यो, किन ? कल नै गरौ न ! अहो म मुर्छा परे कल गर्न त बहुत मन थियो । श्रीमती आउने डर, हैन च्याटमा नै कुरा गरौँ, यतैबाट दबाब दिए, मेरो दबाब सहजै स्विकार भयो ।

पहिलो म्यासेजमा नै झट्का लाग्यो । उत्ताबाट आको म्यासेजमा पूरै मेरो तारिफ थियो । हजुरको बोली त कति मीठो, मुस्कान पनि, मन पर्यो यता म मख्खै परेँ । 
यत्ताबाट मुस्कान दिएको दुई स्टिकर ठेलिदिएँ, एउटा फुच्ची हाँस्दै नाचेको स्टिकर पठाएँ, उत्ताबाट पनि त्यस्तै डबल आयो अब त उकुसमुकुस भयो । पानको पात ठेलिदिएँ, उताबाट थ्याङ्क्यूसहित डबल पानको पात आयो ।

अनि प्रश्न गरेँ, तिमी सिङ्गल कि डबल भनी सीधै सोधेँ । हाहाहा सँगै खिस्स हासेको स्टिकर आयो, किन हाँसेको खै त मेरो प्रश्नको जवाफ । कति हतारो भाको हजुरलाई, सबै भन्छु के’हतार नगर्नु ! ल ल त्यसो भए उत्तर देऊ, फेरि पनि प्रेसर दिए सिङ्गल हुँ । म जस्तीलाई कसले हेर्छ र ? अहो यति राम्री ले पनि म जस्ती भनेपछि मन् झन् तितरवितर भयो । 

दाँतमा ढुङ्गा लाग्यो, विश्वास लाग्दैन हो ? अलि सिरियस भएर सोधेँ, हैन हैन लाग्छ नि ! बडो आन्नद महशुस भयो । सीधै ढोका खुल्यो, म म्यासेजमा व्यस्त रहेँ । कसैको वास्ता गरिन, श्रीमतीको आदेश आयो । जानु नानीबाबु लिएर आउनू, घडी हेरे चार बजिसकेछ । अहो समय त कति छिटो गएछ, हतारमा निष्किएँ । उत्ताबाट खुब म्यासेज आइरहेको थियो । एक छिन है, पसल गएर आउँछु फेरि पनि ढाँटिदिएँ, नानी बाबु लिन जाने भनेर भन्ने कुरा भएन, ओके छिट्टै आउनु है म पर्खेर बस्छु ।

हतारमा नानी बाबु लिएर घर आएँ । अनि चिया खान नस्किएँ, म एक छिन बाहिर गएर आउँछु है, सजिलै उनले हस् छिट्टै आउनु भनिन् अनि म फ्री भए, अब जे भने पनि फिकर थिएन, ल भन म आएँ । म्यासेज सेन्ट हुन नपाई आउनु भयो । साच्चिकै पर्खेर बसेकी रहिछन्, अनिसा नामैले बोलाएँ । फस्ट टाइम क्याँ राम्रो लाग्यो रे अनिसा भनेर बोलाएको, अनि भन खाजा खायौँ । सीधै सोधे छैन, तपाईंले छैन, म चाउमिन हसुर्दै थिएँ, दिए पो खानु । आउनु न त, साँच्ची हो ।
उनले सजिलै हो भनेपछि ल कुनै दिन भनिदिए, छिट्टै आउनु है ।

तिमी साह्रै मन पर्यो, यति मात्र भनेको थिएँ । हो र ? अब विवहा गर्नु नि त मसँग । उतैबाट यस्तो प्रस्ताव आयो । देख्दै नदेखेको अनिसासँग गहिरो माया बस्यो । हुँदाहँुदा प्रेम प्रस्ताव पनि च्याटमै भयो स्वीकार पनि । अब मन भित्रभित्रै गदगद हँुदै रोमान्स गरिरहेको थियो । समय हेरे सात बजिसकेछ ।
अब भोलि भेट्ने वाचाको साथ च्याटबाट छुट्यौँ । राति अनलाई आउनु भन्ने अनुरोध थियो । व्यस्त भइन भने आउँछु भनेको थिएँ, म हजुरलाई पर्खी बस्छु है । अनिसाको अन्तिम च्याट यही थियो ।

खाना खाइसकेपछि सुत्न गयौँ । नानी बाबु हल्ला गर्दै थिए थाकेछन् क्यारे ! छिट्टै निदाए, श्रीमती दिनभरिको काम ननिदाउने कुरै भएन, मलाई निन्द्रा पटकै लागेन । उठेँ दायाँबायाँ हेरे सबै मस्तसँग सुतेका थिएँ । मेरो पालो मोबाइल चेक गरँे’ साइलेन्स थियो । अनि डाटा अन गरे उनी दुई मिनेट अगो अफ भइछन् । समय हेरेँ, रातको बाह्र बजिसकेछ ।

उनीसँग साथी भएको चौबीस घण्टा वितिसकेछ । चौबीस घण्टा हैन, हाम्रो सम्बन्ध चौबीस वर्ष अघिदेखि चिनेको भेटेको, बोलेको भन्दा मजबुत थियो । 
दुबैलाई नभेटी नहुने रोग लागिसकेको थियो । माया प्रेमका मीठा मीठा कुरा भए । पुगेको थिएन तर रात विस्तारै बिहानीमा ढल्नै लागि सकेको थियो । अनिसाबाट कान्छी, काली, नक्कलीसम्म पुगिसकेका थियौँ । ल अब अन्तिम चुम्मा देऊ भने अनि सुत्ने भन्ने सम्झौता भयो । भन्न नपाई चुम्माको स्टिकर आयो, एक पटक कल गर्न मन थियो तर गर्न सकिनँ । आज शब्दकै चुम्मा चित्त बुझाउनुपर्यो । मैले पनि टोटली टाइट हग गरेको स्टिकर ठेलिदिएँ । भोलि भेट्ने वाचा कसमको साथ गुडनाइटको सङ्केत आयो बाईबाई बाबा... । मैले पनि सङ्केत गरेँ, बाई स्विट हार्ट ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप