बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

देहात टु काठमाडौं

शनिबार, ०८ वैशाख २०७५, ०८ : ४४
शनिबार, ०८ वैशाख २०७५

कविताः 
-निर्मल घिमिरे  

मीठो खाने, राम्रो लाउने
अनि टिकुलियाको बिहे गराउने
यावत् सपनाको पोको–पन्तुरो पारी
ठूलो आशा–भरोसा सँगाली
जिन्दगीको खोजीमा
एकाबिहान सखारै 
राजिन्दरले गाउँ छाड्छ... । 

थुनिराखेका खोरका हाँस कुुखुरा
ड्वाँ ड्वाँ कराइराखेका गोठका चौपायहरू
सल्काएर डढेलो बलौटे काँसघारी 
चारकुने आँगनीमा खेलेको सामा–चकेवा,
गाएका मैथली भाका,
बाँडीचुँडी खाएका ठेकुवा र लाहीमुरी 
पर्खाइराखेर पल्ला गाउँकी फूलमतियालाई
रुवाई राखेर पिँढीमा सानी बहिनी
पन्छाउँदै बाबु–माईको हात 
भुटेको चिउरा र आलुको भुजिया गम्छामा बाँधी
भक्कानिँदै...
राजिन्दर एकाबिहानै राजधानीको मोटर चढी 
सुरु गर्छ स्वप्निल– जिन्दगीको यात्रा... ।

घरी अलि–अलि तेर्साे
घरी साह्रै दम्साइलो
कहिले ठाडै उकालै–उकालो
कहिले ओरालै–ओरालो
उफ्... !
बसमा सिटभन्दा दुगुना बढी यात्री
ठेलाम्ठेल अनि पेलाम्पेल
हेपेर ‘अलि पर जाऊ भैया र धोती भाइ’
सबै जनाको अट्टहाँस हाँसो, 
ऊ पनि बढो विवशतामा फिस्स हाँस्दै
‘हस्’ भनी अलि पर सरी भुइँमै थचक्क बस्छ... ।

मुग्लिनमा गाडी रोकिँदा, 
सबैजना मासु भात माग्छन् 
ऊ त्यही गम्छा खोल्छ  
र पानीको सितनसँग आधा माना सक्छ ।
काठमाडौंमा पुगी आफन्त अनि
चिने–जानेकाको कोठा खोज्दै पुग्छ ।

लामो बसाइ, बेरोजगार जीवन,
शौचालय जाँदा पनि, आउँदा पनि घरबेटी आमा
दुई पटक सोध्छिन्– ‘टिमी कहिले जान्या भैया ?’
आफन्तले पनि छड्के आँखा पारी बात गर्दा 
निस्कियो ऊ
पत्रिकाका ‘चाहियो’ विज्ञापन बोकी ।
भौंतारियो दिनभर, सक्छ सबै खर्चहरू
अहँ, न त उसले कतै जागिर पायो, न त व्यवहार नै
थकित अनि हार– दिक्क भएर,
ऊ कोठामा आई रुन्छ, भक्कानिन्छ, बर्बराउँछ ।


बिताउँदै यसरी नै कैयौं कष्टकर दिन
कठ्याङ्गिँ्रदो ठिही अनि चिसो छानामुनि
सुत्यो ऊ कैयौं रात एक झप्को निन्द्रा मार्न 
लगाएर आफ्नै हातको सिरानी ।
सहरको बाक्लो– धमिलो पानीमा
उसिनाको भात र मस्यौराको झोलको साथमा
धान्दैछ एक मुठ्ठी सास ।
‘भैया र धोती’ उपनामले हेपिँदा पनि
सहिरहेको छ कैयौं यस्ता दिनहरू
किनकि ठूली बहिनीको दहेजका लागि
‘नगद, लगाउनेदेखि गुडाउने’सम्म माग्या छन् ।

तैपनि 
छिचोलेर टन्टलापुर घाम
लछारेर हुरी–बतास
सँगालेर मनमा सुन्दर सपना
ऊ बढो भाग्यले प्रवेश गरेको छ राजधानी ।
ए सिंहदरबार,
राजेन्द्र, महेन्द्र, उपेन्द्र महन्त, शरद, 
अनि अन्य ठालूहरू
सुनिदेऊ अनि बोली देऊ 
तिम्रा बढ्का बढ्का सेमिनारमा...
देहातको विकट एक गाउँबाट 
ठूलो सपना र आशा बोकी
एकजना स्वप्नजीवी मधेसी केटो
बहिनीको दहेज–खर्च जोहो गर्न
राजधानी आइपुगेको छ ... । 
हरिवन नगरपालिका–१०, सर्लाही
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप