शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कविता: चरी

शनिबार, ०८ वैशाख २०७५, ०८ : ४८
शनिबार, ०८ वैशाख २०७५

-वास्तविक थपलिया  

जब जब म आकाशमा उडिरहेका चरालाई देख्छु
म आफै भित्रभित्र निकै रमाउँछु
अनि आफ्नी आमासँग सोध्छु
‘आमा, के म पनि यो समाजमा ती चराजस्तै स्वतन्त्र भई हिँड्न सक्छु ?
धत्
कस्ती लाटी छु म त
कस्तो प्रश्न सोधेँछु–
मैले त बिर्सेंछु कि म पुरुष प्रधान समाजकी पो नारी हुँ
हो, म यही समाजकी नारी हँु, 
जो हरेक बिहानको अखबारमा 
बलात्कारको समाचार पढ्छे
जो हर रात बेलुकीको बुलेटिनमा 
नारी हिंसाका समाचार सुन्छे
जो हरपल दुनियाँको गिद्दे नजरबाट 
जोगिँदै हिँड्न बाध्य हुन्छे

हो हजुर विश्वास गर्नुस्
मेरो चित्कार सुन्नुस् 
म यही समाजमा 
त्रासको जिन्दगी जिउँदै छु
नरकको जिन्दगी गुजार्दै छु 
अनि कुन स्वतन्त्रताको अपेक्षा गरूँ ?
कस्तो सुरक्षाको आभास गरूँ ?
जहाँ न सानी नानी सुरक्षित छिन्, 
न त जवान दिदी नै 
जहाँ न मेरी अधबैंसे आमा सुरक्षित छिन्
 न त बूढी हजुरआमा नै ।

हो हजुर म कहीँ कतै सुरक्षित छैन
न त एकान्तमा, न त भीडमा नै
न त घरमा, न त समाजमा नै
डर छ मलाई 
कतै म ती नानीजस्तै 
बलात्कृत हुने त होइन ?
कतै म मेरी आमा जस्तै 
घरेलु हिंसामा पर्ने त होइन ?
कतै ममाथि 
मेरी हजुरआमाजस्तै 
बोक्सीको आरोप लाग्ने त होइन ?
कोही बिन्ती भनिदेऊ 
मलाई म कहाँ सुरक्षित छु ?
कोही आभास दिलाइदेऊ 
मलाई म कहाँ स्वतन्त्र छु ?
आखिर कहिलेसम्म 
म स्वतन्त्रताको भिख मागौँ ?
कहिलेसम्म अधिकारको 
आवाज उठाऊँ ?
हे दुनियाँ मलाई पनि 
यो शिर उठाई
प्रगतिपथमा हिँड्नु छ
सपना पूरा गर्नु छ
सफलतालाई चुम्नु छ
हो आमा
मलाई पनि ती चरीजस्तै उड्नु छ
स्वतन्त्र भई हिँड्नु छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप