शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमाले–माओवादी कार्यक्रममा ब्यानरको लफडा

आइतबार, ०९ वैशाख २०७५, १३ : ०६
आइतबार, ०९ वैशाख २०७५

काठमाडौँ । एमाले र माओवादीका अध्यक्ष केपी ओली र प्रचण्डले आज संयुक्त सम्बोधन गर्ने कार्यक्रम रहेको काठमाडौँको राष्ट्रिय सभागृहमा तनाव भएको छ । 

माओवादीका कार्यकर्ताले संयुक्त सम्बोधनका लागि तयार पारिएको ब्यानरमा असहमति जनाउदै होहल्ला गरेपछि तनाव भएको हो । 

कार्यक्रम सुरु हुनुभन्दा केही समय पहिले माओवादीको भातृ संगठनका भक्तपुरका अध्यक्ष जीवीत थपलियाले ब्यानरमा असहमति जनाउँदै मञ्चमा गएर हुटिङ गरेपछि त्यसमा माओवादी कार्यकर्ताले साथ दिएका थिए । 

ब्यानरमा माओवादी केन्द्रलाई ‘माके’ लेखेर आफ्नो पार्टीको अपमान गरिएको भन्दै कार्यक्रम शुरु हुन अघि उनी मञ्चमा गएर विरोध गरेपछि माओवादी कार्यकर्ताहरुले त्यसमा समर्थन जनाउँदै हुटिङ गरेका थिए ।

यतिबेलासम्म प्रधानमन्त्री केपी ओली, , माओवादी अध्यक्ष प्रचण्डलगायत शीर्ष नेताहरु मञ्चमा आइपुगेका थिएनन् ।

हुटिङ जारी राखेपछि उर्जामन्त्री तथा माओवादी नेता वर्षमान पुनले यो कार्यक्रम दुवै पार्टीले सहमतिमा आयोजना गरेको र यस्ता प्राविधिक विषयलाई ठूलो नबनाउन आग्रह गरेका थिए । पुनको आग्रहपछि पनि माओवादी कार्यकर्ताले हुटिङ गर्न छाडेनन् ।

त्यसपछि ब्यानरलाई त्यहाँबाट हटाएर उल्टो पारेर राखेपछि मात्र माओवादी कार्यकर्ताहरु शान्त बनेका थिए ।

तर, त्यसपछि आपत्ति जनाउने पालो एमाले कार्यकर्ताको थियो । अखिल महासचिव ऐन महरले मञ्चमा पुगेर ब्यानर हटाइएको विषयमा आपत्ति प्रकट गरेका थिए ।

‘ब्यानर किन बनाइयो ? र, अहिले किन हटाइयो । हामी हुटिङ गर्दैनौँ । तर, ब्यानर बिना कार्यक्रम गर्न दिँदैनौँ,’ महरले भने ।

अहिले प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड कार्यक्रम स्थलमा पुगिसकेका छन् । १२ बजे शुरु हुने भनिएको कार्यक्रम शुरु हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप