शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जहाँ चढाइन्छन् ठूल्ठूला रोटीः यस्तो छ पाल्पाको भैरवस्थान मन्दिर (फोटो/भिडियो)

शनिबार, २४ असार २०७४, १२ : ४८
शनिबार, २४ असार २०७४

पाल्पा–पाल्पाको सदरमुकाम तानसेनबाट झन्डै ९ किलोमिटरको दुरीमा रहेको भैरवनाथको मन्दिर प्रख्यात रहेको छ । रिब्दीकोट गाँउपालिका अन्र्तगत पहाडको टुप्पोमा रहेको सो मन्दिरमा स्वदेश तथा विदेशबाट भक्तजनहरु दर्शन पूजा गर्न पुग्ने गर्दछन् ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको सो मन्दिरमा बर्षेनी १० लाखको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गरेका छन् भने मन्दिरले प्रतिबर्ष भेटीबाट मात्रै ५० लाखको हाराहारीमा आम्दानी गर्ने गरेको छ ।   


भैरबको मन्दिरमा त्रिशुल तथा रोटी चढाएर पूजा गर्न दर्शनार्थीहरुको ठूलो भीड लाग्ने गरेको छ । खासगरी दशैको बेला, मंसिर तथा बैशाखमा उल्लेख्य संख्यामा दर्शनार्थीहरु आउने गरेको स्थानीयले बताए । बि.सं.१४६५ मा पाल्पाका राजा मुकुन्द शेनले भैरवस्थलमा मन्दिर निर्माण गरेको किंबदन्ती रहेको छ । 
यो मन्दिरमा सबैभन्दा ठूलो सुनको त्रिशूल समेत रहेको छ । पाल्पा गौंडाको प्रमुख खड्ग शमशेर राणाले आफ्नी श्रीमतीको इच्छा अनुसार यो मन्दिरमा सुनको जलप लगाइएको ठूलो त्रिशूल राखिएका स्थानीयको भनाई छ ।  


जहाँ चढाइन्छ हजारौं रोटी 
भैरव मन्दिरको मुख्य बिशेषता मध्ये यहाँ चढाइने रोटी पनि हो । एक माना वा एक पाथी चामलको पिठोबाट बनेको रोटी चढाइने गरेको छ । पिठोमा नरिवल, किसमिस, छोकडा, ल्वाङ, सुकुमेल जस्ता मसालाहरु मिसाएर घिउमा पकाउने गरिन्छ । यसरी बनाएको रोटी बटुक भैरब तथा देवीलाई चढाउने प्रचलन रहेको छ । भैरवको पूजा गर्न जाने दर्शनार्थीहरुले आफ्ना इच्छा अनुसारका पनि रोटी बनाउन लगाउने गरेका छन् । 


मन्दिरको आसपासमा स्थानीयहरुले यस्ता रोटी पकाउने पसल नै खोलेर जिविकोपार्जन समेत गर्दै आइरहेका छन् । मन्दिर सम्म यहाँका रोटी बनाउने पसललाई रोट घर भन्ने  गरिएको छ । रोटी व्यवसायीहरुले एक माना चामलको पिठोबाट बनेको रोटीको १ सय रुपैयाँ लिने गरेका छन् भने १ पाथी पिठोबाट बनेको रोटीको एकहजार रुपैँयासम्म लिने गरेका छन् । यहाँ दर्शन गर्न पुग्ने भक्तजनहरुले आफूले गरेको भाकल पूरा भएपछि सोही अनुसारको रोटी चढाउन आउने गरेका छन् । 
मन्दिर पुग्न मुल सडकबाट २ सय ५० सिँढी चढ्नुपर्छ । सिँढीको आसपासमा रोटी बनाउने घर तथा फूल प्रसाद बिक्री गर्ने पसलहरु रहेका छन् ।    


जसले बेच्छन् ४ सय वटासम्म रोटी
पाल्पाको रिब्दीकोट गाँउपालिका भैरवस्थानका प्रकाश श्रेष्ठको परिवारले भैरब मन्दिरमा पूजा गर्नका लागि चढाइने रोटी बनाउने गरेको छ । उनको पसलमा एकै पटकमा ८ ओटा रोटी पकाउन मिल्ने चुल्हो रहेको छ । प्रकाश र उनको परिवारलाई सिजनको बेलामा रोटी पकाउन भ्याइ–नभ्याई हुने गरेको छ । मन्दिरमा दर्शनार्थीहरुको भीड लाग्ने, दशैको बेला, मंसिर, बैशाख तथा बिशेष तिथिका बेला उनको पसलमा रोटी किन्नेहरुको भीड लाग्छ ।

दैनिक २ वटा देखि ४ सय वटासम्म रोटी बिक्री हुने गरेको उनले बताए । मन्दिर आसपासमा झन्डै १ दर्जनको संख्यामा रोटी बनाउने पसलहरु रहेका छन् । 


भिडियोः 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप