शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सभागृहमा एमाले माओवादीका ६ घण्टा : ब्यानरको लफडादेखि घोचपेचपूर्ण भाषणसम्म (फोटो/भिडियो)

आइतबार, ०९ वैशाख २०७५, २० : २०
आइतबार, ०९ वैशाख २०७५

काठमाडौं– बैशाख ९ गते एमाले र माओवादी दुई कम्युनिष्ट पार्टीबीच एकता घोषणा हुने व्यापक हल्ला चलेपनि एउटा कार्यक्रम मात्र भयो । भएको कार्यक्रम पनि अब्यवस्थित हुँदा निर्धारित समयभन्दा ४ घण्टा पछि सर्यो । कार्यक्रम सुरु हुनुभन्दा पहिलेनै मञ्चमा राखिएको ब्यानरको विषयमा विवाद उत्पन्न भएपछि दुबै दलका प्रमुख नेता तथा कार्यकर्ताहरुले कार्यक्रमका लागि निकैबेर कुर्नुपर्याे ।  

बिहान ११ बजेदेखि नै काठमाडौंको राष्ट्रिय सभागृहमा दुबै दलका नेता कार्यकर्ता आउन थाले । १२ बजेसम्म कार्यक्रम स्थलका सिट पूरै भरिएको थियो भने बाहिर राखिएको डिस्प्ले मोनिटर अगाडि पनि कार्यकर्ताको भीड बाक्लिँदै थियो । 

राष्ट्रिय सभागृहको मञ्चको भित्तामा एउटा ठूलो ब्यानर टाँसिएको थियो । ब्यानरको सिरानमा पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको फोटो थियो । फोटोभन्दा तल ठूलो अक्षरमा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस लेखिएको थियो । ब्यानरमा बाँयातर्फ एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र दायाँतर्फ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ठूलो तस्विर राखिएको थियो । ब्यानरको पुछारमा आयोजकमा पार्टी एकता संयोजन समिति, नेकपा (एमाले) र नेकपा (माके) लेखिएको थियो । 

उक्त ब्यानरको सिरानमा एमालेका नेताको मात्र फोटो राखेको र माओवादी केन्द्रलाई अपमान गरेर माके लेखेको भन्दै वाइसिएलका कार्यकर्ता दिनेश थपलियाले मञ्चमा गएर विरोध गरे । उनले त्यो ब्यानर राखेर कार्यक्रम गर्न नदिने बताएपछि माओवादी कार्यकर्ताहरुले समर्थन गरेर होहल्ला गर्न थाले । उनीहरुले माओवादीको पक्षमा नारा समेत लगाए । 

बिरोध उत्पन्न भएपछि उक्त ब्यानर हटाइयो । यसरी ब्यानर हटाइएपछि नेकपा एमाले निटक बिद्यार्थी संगठन अनेरास्ववियूका महासचिव ऐनबहादर महरले ब्यानर हटाएकोमा बिरोध गरे । मञ्चमा गएर उनले बिना ब्यानर कार्यक्रम हुन नदिने बताएपछि एमालेका कार्यकर्ताहरुले हुटिङ गरे । त्यसपछि झन्डै ४ घण्टा रोकिएको कार्यक्रम माओवादी केन्द्रका कार्यकर्ताहरुले अर्को ब्यानर ल्याएपछि मात्र सुरु भयो । 

राष्ट्रियसभा गृहको बाहिरको खाली भागमा दर्शकका लागि डिस्प्ले मोनिटर राखिएको थियो । त्यहाँ उपस्थित सयौं कार्यकर्ताहरुलाई भाषण हेर्ने व्यवस्था मिलाइएको थियो ।  

यस्तो छ राष्ट्रिय सभाको ६ घण्टा टाइमलाइनमा 
११ बजे : माओवादी केन्द्रका कार्यकर्ताहरु राष्ट्रिय सभागृह प्रवेश गर्न शूरु  
१२ः ४५ बजे: वाइसिएलका कार्यकर्ताबाट मञ्चमा राखिएको ब्यानरप्रति आपक्ति । मञ्चमा पुगेर उनले उक्त ब्यानरमा माओवादी केन्द्रलाई अपमान गरेर माके लेखेको र सिरानमा एमालेका स्वर्गीय नेताहरु मनमोहन अधिकारी,मदन भण्डारीको फोटो राखेको भन्दै बिरोध । कार्यकर्ताहरुबाट माओवादीको पक्षमा नारावाजी । 
१२ः५० बजे: उर्जामन्त्री समेत रहेका माओवादी केन्द्रका नेता वर्षमान पुन मञ्चमा गएर सम्झाँउने प्रयास गरे तर कार्यकर्ताले मानेनन् । 
१२ः ५६ बजे : मञ्चमा राखिएको ब्यानर निकालियो । 


१ बजे: एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियूका नेता ऐन महरले ब्यानर झिकेकोमा बिरोध गरे । उनले मञ्चमा गएर बिना ब्यानर कार्यक्रम हुन नदिने बताए । 
१ः२५ बजे : मञ्चमा एमाले नेता कृष्णगोपाल श्रेष्ठ आइपुगे । पोडियममा गएर बोल्दै उनले भने–‘ठूलो पार्टी भएपछि एकछिन त रमाइलो हुन्छ । तर यस्ता कुराले पार्टी एकता भंग भयो भनेर कसैले काखी नबजाए हुन्छ । पार्टी एकता कसैले भाँड्न सक्दैन । अब दुई पाटी मिल्यो, मिल्यो, मिल्यो’ 
उनले यसो भनेपछि हलमा ताली र सिटीको गढगढावट भयो । उनले हलको बाल्कोनीमा रहेका कार्यकर्ताहरुलाई सुरक्षाको कारण देखाउँदै त्यहाँबाट बाहिर पठाए । 

२ः४५ बजे: पाँच मिनेट मञ्चमा आएका कृष्णगोपाल गएपछि मञ्च रित्तो भयो । पौने ३ बजे गायक बद्री पंगेनी स्टेजमा देखा परे र गीत सुनाउन थाले–
प्रचण्ड र ओली, नफेर है त्यो बोली 
एउटै पार्टी हुनुपर्छ माओवादी र एमाले
देश विकास गर्न जनताले भोट हाले 
केमा कुरा मिलेन प्रचण्ड र ओलीमा 
लाखौ जनता पछि छन् तिम्रै कुरामा
३ः०५ बजे : ब्यानर हाल्नका लागि भर्याङ ल्याइयो । 
३ः २० बजे : फेरी अघि १ बजे हटाइएको ब्यानर पहिलेकै ठाँउमा राखियो । 
३ः २५ बजे : एमाले नेता कृष्णगोपाल श्रेष्ठले मञ्चमा कम्युनिष्ट नेता लेनिनको फोटो ल्याए । 
३: ३४ बजे : माओवादी कार्यकर्ताले मञ्चमा नयाँ ब्यानर ल्याए र अर्को ब्यानरको छेमा ब्यानर टाँग्न शूरु गरे । 
३: ४५ बजे : झन्डै १० मिनेट लगाएर नयाँ ब्यानर टाँगियो । ब्यानरको दायाँ माथिल्लो भागमा कम्युनिष्ट नेताहरुको चित्र थियो भने तल नेपाल कम्युनिष्ट पार्टी ६९ औं स्थापना दिवश लेखिएको थियो । आयोजकमा पार्टी एकता संयोजन समिति नेकपा माओवादी केन्द्र र नेकपा एमाले लेखिएको थियो । 
३ः ४७ बजे : ब्यानर टाँगिएको २ मिनेटपछि एकातर्फकोल डोरी छिनेर भुँइमा खस्यो । हलभरी हाँसो गुञ्जियो । ब्यानरको डोरी बाँध्न वाइसिएलका संयोजक रामप्रसाद सापकोटो आफै भर्याङ चढेर बाँधे । 
३: ५३ बजे : ब्यानर बाँधीसकेपछि मञ्चबाट भ¥याङ हटाइयो । मञ्चमा दुईवटा ब्यानर भयो । 


३ः ५५ बजे :एमाले नेता कृष्णगोपाल श्रेष्ठ मञ्चमा आएर भने–‘ल अब कार्यक्रम गर्न केही समस्या छ ?’ हलमा हाँसो गुञ्जियो । 
३ : ५६ बजे : मञ्चमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायतका नेताहरुको प्रवेश 
३ : ५७ बजे : एमाले नेता कृष्णगोपालले थपे–‘ अहिले तपाँइहरुको घडीमा ठिक १ बजेको छ । अब कार्यक्रम शूरु हुन गइरहेको छ ।’ फेरी हल हाँसोले गुञ्जियो । उनले बिष्णु पौडेललाई कार्यक्रम सञ्चालनका लागि आग्रह गरेर बिदा भए । 

३ : ५८ बजे : एमाले नेता बिष्णु पौडेलले कार्यक्रम सञ्चालन गर्न शुरु गरे । 
४ः ०८ बजे :आशन ग्रहण ।
४ : १० बजे : मौन धारण । 
४ : ११ बजे : राष्ट्रिय गान । 
४ः १३ बजे :माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्न सुरु गरे । उनले झन्डै आधा घण्टा अर्थात ४  बजेर ४७ मिनेटसमम भाषण गरे । 
४ :५१ बजे : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले भाषण सुरु गरे । उनी ५८ मिनेट अर्थात ५ बजेर ४९ मिनेटसम्म बोले । 

लेलिनको तस्विरमा माल्यार्पण गरिएन  
लेलिन जयन्तीको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा लेलिनको तस्बिर त ल्याइयो तर त्यसमा माल्यापर्ण गरिएन । प्रायः कम्युनिष्ट पार्टीले गर्ने कुनै नेताको जन्मजयन्ती वा स्मृतिसभामा उनको तस्बिरमा माल्र्यापण गर्ने चलन हुन्छ । तर हतपतको काम लतपत भएको हो वा त्यस्तो कार्यक्रम नै नराखिएको हो, बुझ्न सकिएन् । 

ठूलो पार्टीको अहम नपाल्न प्रचण्डको घोचपेच
मन्तब्यका क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेले ठूलो पार्टी भनेर दम्भ नपाल्न घुमाउरो रुपमा घोचपेच गरे । उनले दुई पार्टीबीच सम्माजनक ढंगले, समानताको आधारमा र न्यायोचित ढंगले एकता गर्ने समझदारी भएको जानकारी गराउँदै ठूलो पार्टी भएपछि केही दम्भ हुने स्मरण गरे । उनले २०६४ सालको चुनावमा आफ्नो दल पहिलो भएपछि दम्भ भएको र पछि तेश्रो पार्टी हुँदा पनि कस्तो हुन्छ भन्ने महशुस गरेको बताए । उनले एमाले पनि आफ्नो दल हुँदा तेश्रो स्थानमा रहेको बताँउदै दम्भ पाल्न नहुने बताए । 
       
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप