बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको छानविनमाथि युएस–बंगलाको प्रश्न : लापरवाही थिएन भने ६ जना एटिसी कन्ट्रोलरलाई किन सरुवा गरियो ?

सोमबार, १० वैशाख २०७५, ११ : २४
सोमबार, १० वैशाख २०७५

ढाका । गत फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त बनेको युएस–बंगला विमानबारे नेपाली अधिकारीहरुले तयार गरेको प्रारम्भिक जाँच प्रतिवेदनमाथि बंगलादेशी विमान कम्पनीले आपत्ति जनाएको छ ।

दुर्घटनामा ५१ जनाको निधन भएको थियो जसमध्ये २७ जना बंगलादेशी नागरिक रहेका थिए ।

नेपालको अनुसन्धानबाट विमानमा कुनै प्रकारको प्राविधिक वा यान्त्रिक समस्या नरहेको खुलेपछि विमान कम्पनीले आगामी दिनमा सुरक्षाबारे थप ध्यान दिने बताएको छ ।

तर, कम्पनीले वक्तव्य जारी गर्दै नेपालले जारी गरेको प्रतिवेदनमा दुईवटा मुख्य कुरा छुटेको आरोप लगाएको छ ।

प्रमुख कार्यकारी अधिकृत इमरान आशिफले वाचन गरेको विज्ञप्तिमा नेपालको प्रतिवेदनमा अवतरणको क्रममा नेपालको एयर ट्राफिक कन्ट्रोल (एटिसी) र पाइलट क्याप्टेन अबिद सुल्तानबीच भएको अस्पष्ट सञ्चारको बारेमा उल्लेख नभएको बताइएको छ ।

त्यस्तै, दुर्घटनास्थलमा अग्निनियन्त्रकहरु दुई मिनेटभित्र पुगेको कुरा रिपोर्टमा उल्लेख भएको कुराप्रति पनि कम्पनीले आशंका व्यक्त गरेको छ ।

‘यो कुरा प्रति हाम्रो आशंका रहेको छ । यदी नेपाली अधिकारीहरुले दुर्घटना भएको दुई मिनेटभित्र अग्निनियन्त्रकहरु पठाएको भए आज धेरै यात्रुहरु जिवित हुने थिए,’ आशिफले भने ।

यति चाँडै विमानस्थलबाट दुर्घटनास्थलमा पुग्न असम्भव रहेको उनको दाबी थियो ।

युएस–बंगलाले प्रतिवेदनमा एटिसी र पाइलटबीच भएको कुराकानी हटाइएकोमा आश्चर्य व्यक्त गरेको छ ।

दुर्घटनापछि सामाजिक सञ्जालमा दुर्घटना हुनभन्दा ठीक अघि एटिसी र युएस बंगला विमानका पाइलटबीच भएको कुराकानी अपलोड गरिएको थियो । जसमा एटिसी र पाइलटबीचको कुराकानी अस्पष्ट भएको सुनिएको थियो ।

कम्पनीले एटिसीका ६ कन्ट्रोलरलाई अर्को विभागमा सरुवा गरिएको र यसबारे नेपाल मौन रहेको पनि उल्लेख गरेको छ ।

‘उनीहरुलाई किन सरुवा गरियो भन्ने थाहा छैन । यदी उनीहरु लापरवाह थिएनन् भने यस्तो कदम चालिनु स्वभाविक प्रक्रिया होइन,’ उनले भने ।

विमान कम्पनीका अनुसार एटिसीले शुरुवातमा युएस–बंगला विमानलाई अवतरण गर्ने अनुमति दिएको तर फेरि क्लियरेन्सलाई रद्द नगरी होल्ड गर्न भनेको र सोही समय अर्को विमानलाई अवतरण गर्ने अनुमति दिएको थियो । ‘अघिल्लो विमानलाई अवतरण गर्ने अनुमति दिएको क्लियरेन्सलाई रद्द नगरी अर्को विमानलाई अवतरण वा उडान भर्ने अनुमति दिनु अन्तर्राष्ट्रिय कानून विपरित हो,’ उनले भने ।

अब विशेषज्ञहरुले ब्ल्याक बक्सको विस्तृत अध्ययन गरेपछि दुर्घटनाको असली कारण पत्ता लाग्ने बताइएको छ । ब्ल्याक बक्सलाई अध्ययनका लागि क्यानाडा पठाइएको छ ।

दुई विदेशी इन्जिनियरलाई साथ राखेर गरिएको पत्रकार सम्मेलनमा युएस बंगलाका सिइओले विमानले अंगिकार गर्ने मर्मत विधिको बारेमा पनि उल्लेख गरेको थियो । अन्तर्राष्ट्रिय उड्डयन प्राधिकरणले सन् २०१४ मा कम्पनीको अनुगमन गरेपछि विमानको सुरक्षा र मर्मतको विषयमा कम्पनीले कुनै पनि सम्झौता नगरेको कम्पनीले दाबी गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत इमरान आशिफले युएस बंगलाको हरेक विमानलाई युरोप, क्यानाडा र अमेरिकाका १७ विदेशी इन्जिनियरले कम्पनीको विमानको जाँच र मर्मत गर्ने गरेको बताउँदै कुनै पनि अन्य विमान कम्पनीसँग यति धेरै विदेशी इन्जिनियर नभएको दाबी गरे । उनका अनुसार कम्पनीमा लण्डनमा प्रशिक्षण लिएका थप ६२ बंगलादेशी इन्जिनियरहरु पनि कार्यरत रहेका छन् ।

मिडिया रिपोर्टमा अवतरणको क्रममा विमान सिधा नरहेको कुरा उल्लेख भएको विषयमा प्रश्न गर्दा इमरानले छानविन प्रतिवेदनमा यसबारे कुनै कुरा उल्लेख नभएको बताए ।

उनले क्याप्टेन अबिद थाकेका थिए भन्ने रिपोर्ट पनि गलत भएको बताए । उनले पछिल्लो मेडिकल रिपोर्टमा उनी स्वस्थ रहेको पाइएको पनि बताए ।

अन्तर्राष्ट्रिय कानूनका अनुसार एक दिनमा पाइलट १४ घण्टासम्म काम गर्न र ११ घण्टा विमान उडान पाउँछ । यदी अबिद त्यो दिन काठमाडौँबाट ढाका फर्किएको भए त्यो दिन उनको उडान समय ७ घण्टाभन्दा कम हुने कम्पनीको दाबी छ ।

‘यसबाहेक पछिल्ला ७ दिनमा उनले मात्र १५ घण्टा उडान भरेका थिए,’ उनले भने, ‘क्याप्टेन अबिदलाई जबर्जस्ती उडान भर्न लगाएको वा उनी थकित थिए भन्ने आरोप गलत हो ।’

त्यस्तै को–पाइलट प्रिथुला रसिदको नेपालमा पहिलो उडान भएको विषयमा इमारनले यसमा आइकाओको वा नागरिक उड्डयन प्राधिकरणको नियमको उल्लंघन नभएको दाबी गरे । ‘पछिल्ला दुई वर्षमा युएस–बंगला एयरलाइन्समा उनले सफलतापूर्वक काम गरेकी थिइन् । उनीसँग ४ सय घण्टा उडानको अनुभव थियो,’ उनले भने ।

त्यो दिन कसले विमान उडाइरहेको थियो भन्ने पत्रकारहरुको प्रश्नमा भने इमरानले यो कुरा विस्तृत अनुसन्धानबाट मात्र खुल्ने बताए ।

एजेन्सीको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप