बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एरोबिक्स सेन्टरमा भेटिएकी सुन देवी : जसले ठगिन् ५३ लाख !

सोमबार, १० वैशाख २०७५, १४ : २१
सोमबार, १० वैशाख २०७५

काठमाडौँ । सामान्य साँवाअक्षर खुट्याउन र आफ्नो नाम मात्र लेख्न जान्ने सुन देवी गुरुङ उमेरले ३० पुगिन् । लमजुङ्गको पसगाउँ–६ माइती भएकी उनले ताप्लेजुङ्गका लिला बहादुर खत्रीसँग विवाह गरेकी छिन् । उनीहरुका दुई छोराहरु विद्यालय जान थालेका छन् । यता सुन देवीले भने दुनियाँलाई ‘चक्मा’ दिने खालको ठगी धन्दा नै चलाएको पाइएको छ । 

ताप्लेजुङको फुर्मु–१ स्थायी घर भएका लिला बहादुरले आफ्नी श्रीमती र दुई छोरालाई काठमाडौँको ठूलो भ¥याङस्थित एकधारा भन्ने स्थानमा डेरामा छाडेर दुबईमा पसिना बगाउन गएका थिए । तर, घर फर्किँदा आफ्नो चौबर कमाई सुन देवीको देखेपछि शायद लिला बहादुर आफैं चकित परे होलान् ।

ठगीको शुरुवात
सिन्धुपाल्चोक गुम्बा गाविस–४ तातोपानीकी कमला श्रेष्ठ र सुन देवीको भेट ठुलो भ¥याङ स्थित एक एरोबिक्स सेन्टरमा भयो । एरोबिक्स सेन्टरमा एक्सरसाईज गर्ने क्रममा सुन देवी कमलासँग नजिकिइन् । कमलाको फ्ल्याटमा सुन देवी आउने, बस्ने, खाने कुरा सामान्य हुँदै थियो । त्यस्तोमा सुन देवीले कमलाको आर्थिक हैसियत जाँच गरिसकेकी थिइन् । 

कुरा २०७० सालतिरको हो, ठूलो भ¥याङमा कमलाको चाइनिज सिरक तथा ब्लाङ्केटको होलसेल पसल थियो । कमलाका श्रीमान पनि चाईनिज कपडाको होलसेल कारोबार गर्ने भएकाले कमाई राम्रो थियो । 

त्यस्तोमा सुन देवीलाई आवश्यक पर्दा कमलाले दुई–चार लाख सापटी दिन्थिन्, केही समय ब्याज सहित लगेको रकम फिर्ता गरेर सुन देवीले कमलाको विश्वास जित्न सफल भइन् । 

‘पछिल्लो समय पोखरामा जग्गा किन्न भनेर एकैपटक ४० लाख लानुभयो’ कमलाकी छोरी अरुणा उप्रेति भन्छिन्, ‘सबै जोड्दा ५३ लाख पुगेपछि सोनी आन्टी कोठा छाडेर भाग्नुभो !’  

कमलाका दुई छोरा र सुन देवीका छोराहरु ठूलो भ¥याङकै रिड मोडल स्कुल पढ्थे । पारिवारिक रुपमा नजिक भएकाले कमलाका छोरा–छोरीले सुन देवीलाई ‘सोनी आन्टी’ भनेर बोलाउने गर्थे । 

चिनजान भएको बर्षदिन पछि अर्थात २०७१ सालदेखि ब्यवहार चलाउन थोरै–थोरै पैसा सापटी चलाउने सुन देवीले रोई कराई गरेर ‘पोखरामा जग्गा किन्न लागेको’ भन्दै ५३ लाख ठगेर रातारात डेरा छाडेर भागेपछि कमलाको जाहेरीले महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ गरेको छ । 

‘सुन देवी गुरुङलाई वैशाख ३ गते अपराध महाशाखाले पक्राउ गरेर पठाएको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) मोहन थापा भन्छन्, ‘उनले कमला श्रेष्ठलाई दिएको बाउन्स चेक छ, बैङ्किङ कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेका छौँ ।’  

‘हाम्रो मात्रै ५३ लाख हो, हाम्रा आफन्त र नातागोतासँगबाट पनि ममीलाई जमानी राखेर लगेको पैसा करोड भन्दा बढी नै पुग्छ होला,’ कमलाकी छोरी अरुणा भन्छिन्, ‘पैसा लिएर सम्पर्क विहीन भएपछि प्रहरीमा जाहेरी दिएका थियौँ ।’ 

करिब पाँच महिनाअघि दुबईबाट फर्केका सुन देवीका श्रीमान् लिला बहादुरले ‘पैसा फिर्ता दिने’ बचन दिएका थिए । तर उनी पनि श्रीमतीकै बाटोमा लागेर फरार भएका थिए । 

पैसा दिने कुराको विश्वास दिलाउनका लागि लिला बहादुर र सुन देवीले लिला बहादुरको नाममा रहेको सुनसरीको करिब ७ आना जग्गाको लालपुर्जा दिएका थिए । तर, सुन देवीले दिएको लालपुर्जा, र उनले विश्वास दिलाउनका लागी लेखेर दिएको ‘ठाडो कागज’ सिरानीमा राखेर बसेकी कमला गत पुस १० गते प्रहरी शरणमा पुगेकी थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप