शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाहीमा बढ्यो ठेउलाको प्रकोप

सोमबार, १० वैशाख २०७५, १७ : ५९
सोमबार, १० वैशाख २०७५

सोम दियाली
सर्लाही–सर्लाहीको गोडैता नगरपालिकाका विभिन्न स्थानमा ठेउलाको प्रकोप फैलिएको छ ।  नगरपालिकाको वडा नम्बर १२ मधुवनीमा मात्रै गत फाल्गुन यता ८९ जनामा ठेउला भएको पाइएको हो । ती मध्ये २ जनामा दादुरा भएको अनुमान गरिएको छ । ठेउला फैलिएको जानकारी पाए पछि जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत एवं सूचना अधिकारी रामकैलाश राय सहितको स्वास्थ्य टोली त्यहाँ गई बुझ्दा त्यहाँ विशेष गरी वालबालिकामा ठेउला भेटिएको टोलीका संयोजक रायले बताए । 

त्यहाँ रहेको स्वास्थ्य कार्यालयको रेकर्ड अनुसार फाल्गुन महिनामा ७ जनामा, चैत्र महिनामा ६० जनामा र वैशाख महिनाको १० गते सोमवार सम्ममा २२ जनामा ठेउला भएको पाइएको हो । ती मध्ये दादुराको आशंका गरिएको २ जनाको रगत परिक्षणका लागि जनकपुर पठाइएकोले परिक्षण पछि मात्रै दादुरा हो या ठेउला हो भन्न सकिने संयोजक रायले बताए । 

उनका अनुसार चर्को घामसँगै बढेको प्रचण्ड गर्मीको कारण ठेउला र दादुरा रोगको प्रकोप देखिने गर्दछ । जिल्लामा बदलिँदो मौसमले ल्याएको हावाहुरी र प्रचण्ड गर्मीका कारण हावापानी दूषित भई विभिन्न ठेउला तथा दादुराको प्रकोप फैलिएकोले यसको रोकथामका लागि गोडैता स्वास्थ्य चौकीमा क्लिनिक संचालन गर्ने तयारी भई रहेको छ । 

ठेउला भेरिसेला जेस्टोर भाइरस नामको सूक्ष्म जीवाणुका कारण हुने गर्दछ । बिरामीले खोक्दा, बोल्दा तथा बिरामीको पानीफोका छुँदा अन्य व्यक्तिलाई सर्न सक्छ । ठेउला शरीरमा बिबिरा देखिएको एकदेखि दुई दिनअगाडिदेखि संसर्गमा भएका व्यक्तिहरूमा पनि सर्न सक्दछ । साथै, पानी फुटेर सुकुन्जेलसम्मको अवस्थामा पनि सर्ने सम्भावना उच्च रहन्छ । यो संक्रमणपछि बिबिरा बिरामीको अनुहारदेखि घाँटी हुँदै छाती तथा शरीरका सबै अंगमा देखापर्दै जान्छ । 

ज्वरो आउनु, थकान महसुस हुनु, टाउको दुख्नु यसका प्रमुख लक्षण हुन् । बिबिरा आउने–जानेक्रम झन्डै १० देखि २१ दिनभित्रमा देखापर्ने गर्दछ । बालबालिका तथा पहिला कहिल्यै पनि संक्रमण नभएका वयस्कहरूलाई उच्च जोखिम हुने गर्छ । त्यस्तै, गर्भवती महिला तथा रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई पनि जोखिम बढी हुन्छ । 

संक्रमण भएका नवजात शिशुमा ३० प्रतिशत मृत्युदर देखिएको छ । छालामा ब्याक्टेरियाको फैलावट तथा अति जलवियोजन ठेउलाका प्रमुख कारण हुन् । यो एकपटक संक्रमण भएको व्यक्तिको शरीरमा सुस्त अवस्थामा रहेको हुन्छ । 

जब कुनै कारणवश यसको सक्रियता बढ्छ, तब यसका लक्षण देखा पर्दछन् । यसलाई नेपालीमा जनै खटिरा पनि भन्ने गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप