शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कपिल शर्माः आकाशदेखि जमिनसम्मको यात्रा

मङ्गलबार, ११ वैशाख २०७५, ०९ : ४६
मङ्गलबार, ११ वैशाख २०७५

वर्षौंसम्म आफ्नो कमेडीमार्फत सयौंका मुटुमा राज गर्न सफल कपिल शर्मा आजकाल विभिन्न समस्याबाट गुज्रिरहेका छन् । सफलताको शिखरबाट एकाएक विवादमा घेरिएका छन् । उनको नयाँ टेलिभिजन कार्यक्रम दुई हप्तामा नै अफएयर भयो ।

जुन साथी कलाकारसँग मिलेर उनले हाँस्यविधालाई संसारमा नयाँ पहिचान दिलाए, तीमध्ये धेरै उनीबाट छुट्टिइसकेका छन् । उनको स्वास्थ्य ठिक नभएको रिपोर्ट पनि सार्वजनिक भएको छ । एक पत्रकारसँग उनको झगडा चर्चाको विषय बनेको छ र उक्त मुद्दा पुलिससम्म पुगेको छ ।

बलिउडका साथी कलाकार हुन् वा चर्चित क्रिकेटर एक समय उनको कार्यक्रममा आउन लालायित हुन्थे । उनको कार्यक्रमको टिआरपीले आकाश छोइरहेको थियो । अभिनयको दुनियाँमा उनले पाइला टेकिरहेका थिए  । आखिर त्यस्तो के भयो कि हाँस्यविधाका यी स्टार एकाएक जमिनमा आइपुगे ।

उनका साथी कलाकार उनीबारे भिन्नभिन्न धारणा राख्छन् । कसैले कपिलले जे रोपेका थिए, त्यो काटिरहेका छन् भनिरहेका छन् भने कतिले हरेकको जीवनमा राम्रो नराम्रो समय आएजस्तै कपिलको पनि नराम्रो समय चलिरहेको बताएका छन् ।

कपिल शर्माको कमेडी शोमा फूपू बनेकी उपासना सिंह भन्छिन्, ‘फिल्मी उद्योगमा हरेक कलाकारको एक समय आउँछ । एक समयका लागि अत्यधिक काम हुन्छ र ती व्यक्ति सफलताको शीर्ष स्थानमा हुन्छन् । यस्तै, दोस्रो पाटोमा कुनै काम नै हुँदैन ।’

सफलताले आफूसँगै विभिन्न विवाद ल्याएको हुन्छ । तर जानकारलाई विश्वास गर्ने हो भने कपिल शर्माको वास्तविक समस्या त्यतिबेला सुरु भयो जब गत वर्ष उनको सुनिल ग्रोवरसँग झगडा भएको थियो । सुनिलसँगै थुप्रै कलाकार उनको कार्यक्रमबाट अलग्गिए । कपिल शर्मालाई सायद थाहा थिएन, सुनिल ग्रोवर र अन्य बाँकी कलाकार उनीबाट अलग्गिँदा उनले यस्तो समस्याको सामना गर्नुपर्छ ।

सुनिल ग्रोवर र अन्य कलाकारले कार्यक्रम छोडेपछि कपिलले सोनी टेलिभिजनको आफ्नो कार्यक्रम ‘द कपिल शर्मा शो’ मा विभिन्न प्रयोग गरे  तर कसैले केही रंग ल्याउन सकेनन् । त्यतिबेला कपिल शर्माको फिल्म ‘फिरंगी’ रिलिजको संघारमा थियो र कपिललाई विश्वास थियो कि उक्त फिल्मले उनी सफलताको नयाँ कहानी लेख्नेछन् र आफ्ना आलोचकलाई मुखभरीको जवाफ दिनेछन् ।

तर यस्तो भएन । कपिलको फिल्म फ्लप भयो र कार्यक्रमबाट ब्रेक लिने उनको रणनीतिले पनि हावा खायो । र अब जब उनी दोस्रो पटक नयाँ कार्यक्रम लिएर आए तब मानिसहरुले ती कपिल देख्न पाएनन् जसलाई उनले टिभीमा देख्ने गर्दथे । अझ पत्रकारसँगको झगडा र गाली गलौचले विवादलाई थप गहिरो बनायो । अब त कार्यक्रम पनि अफ एयर भइसकेको छ ।

उनको स्वास्थ्य ठिक छैन भन्ने खबर आइरहेको छ । कपिल शर्माको कार्यक्रमको महत्वपूर्ण सदस्य रहेकी उपासना सिंहलाई विश्वास गर्ने हो भने कपिल डिप्रेशनमा छन् ।

बीबीसीसँगको कुराकानीमा उपासनाले भनिन्, ‘कपिलको फिल्ममा समस्या आएको छ । कार्यक्रम त्यति चलेन जबकी पहिलो कार्यक्रम निकै हिट थियो । त्यसपछि झगडा भयो । उनी दबाबमा परे । स्थिीतीलाई सम्हाल्न सकेनन् । उनी शारिरिक र मानसिक समस्यामा परे । उनलाई डिप्रेशनले गाँज्यो । यस्तो तनावका कारण उनले यस्तो स्थितीको सामना गर्नुपरेको हो । ’

कपिललाई आफ्नो भाइ मान्ने उपासना भन्छिन्, ‘कपिल मध्यमवर्गीय परिवारका हुन् । उनको सबैभन्दा राम्रो पक्ष भनेको उनले सबैको हेरबिचार गर्छन् । मनको सफा छन्, उनको मनमा जे छ त्यो फ्याट्टै भनिहाल्छन् । उनलाई रिस र समस्या लुकाउन पटक्कै आउँदैन । त्यसैकारण पनि उनले अत्यधिक समस्याको सामना गर्नुपरेको भन्ने मलाई लाग्छ । उनी एक मानव हुन् भगवान होइनन् । पटकपटक उनलाई तथानाम भनिन्छ भने उनलाई रिस त पक्कै उठ्छ । रिस उठेका बेला मानिसले जे पनि भन्छ नि ।’

लाफ्टर च्यालेन्जदेखि कपिलका साथी रहेका सुनिल पल उनलाई निकै दयालु मान्छन्  ।

पूरा विवादलाई कपिलमाथिको षड्यन्त्र मान्ने सुनिल पल भन्छन्, ‘कपिल जब करियरको शिखरमा थिए तब उनले आफ्ना पुराना बेरोजगार साथीलाई आफ्नो कार्यक्रममा काम दिलाए । उनी थुप्रै लेखकलाई बसेको र समूहमा संलग्न भएको भरमा पैसा दिने गर्दथे ता कि उनीहरुको दैनिकी चल्न सकोस् ।

कपिल शर्माको कार्यक्रमको महत्वपूर्ण अंग थिइन् सुगन्धा मिश्रा । कपिल शर्मा कलेजमा सुगन्धा मिश्राका सिनियर थिए ।

जब लाफ्टर च्यालेन्जको चौथो सिजनका लागि महिला प्रतिस्पर्धीको खोजी भइरहेको थियो तब कपिल शर्माले सुगन्धा मिश्राको नाम सुझाए । सुगन्धाको परिवारले उनलाई मुम्बई पठाउन अनुमती नदिएका बेला कपिलले उनको परिवारलाई सम्झाए र विश्वास दिलाए । त्यसपछि मात्र सुगन्धा मुम्बई जान सकिन् र कार्यक्रममा भाग लिइन् ।

अहिले सुगन्धा समूहसँग कपिलको खटपट भएपछि उनको सम्पर्कमा छैनन् तर उनले कपिलसँग नीजि रुपमा कुनै पनि झगडा नभएको बताउने गरेकी छिन् । कपिललाई दाइ भन्ने सुगन्धा मिश्रा अहिले सुनिल ग्रोवरसँग उनको नयाँ कार्यक्रम ‘दे दना दन’ मा व्यस्त छिन् र यदि कपिलले कार्यक्रममा बोलाए अवश्य पनि जाने उनले बताउने गरेकी छिन् ।

लामो समयसम्म कपिल शर्मासँग जोडिएका पूर्व म्यानेजर प्रीति सिमोन भन्छिन्, ‘एक व्यक्ति जो शीर्ष स्थानमा थिए, त्यो व्यक्ति कसरी एक्कासी झर्न सक्छ ? यसको कारण आर्टिकल हुनै सक्दैन । म कपिललाई राम्रोसँग चिन्छु । उनले आफ्नो जीवनमा केही निर्णय गरे, फिल्म बनाउन चाहे, कार्यक्रम बनाउन चाहे, विवाह गर्न चाहे, यी सबै निर्णय उनको आफ्नै थियो । यदि तपाईंको निर्णय समस्याको कारण भयो भने त्यसमा काम गर्नुहोस्, अरुलाई यसको दोष दिनुहुन्न ।’

प्रीतिका अनुसार कपिल जतिबेलासम्म उनको साथमा थिए, ठिक थिए । कपिललाई आफ्नो स्वास्थ्यमा ध्यान पुर्याउन सुझाउने उनी भन्छिन्, ‘स्वास्थ्य ठिक भए त अरु कुरा आउँछन् जान्छन् ।’

उपासनले कपिललाई तत्काल नभेटेपनि कार्यक्रमका अन्य सदस्यलाई भेटेको बताइन् ।

अहिले कपिल मुम्बईबाट बाहिर छन् । अहिले कपिलले कामबाट ब्रेक लिएर परिवार र आफन्तसँग समय बिताउनुपर्ने उपासनाको धारणा छ । कपिल चाँडै नै समस्याबाट बाहिर निस्किएर डिप्रेशनबाट मुक्त हुने उपासनाको आशा छ ।

कपिलको उतारचढावपूर्ण यात्राः

कपिलले सन् २००७ मा आफ्नो क्षमताका कारण लाफ्टर च्यालेन्ज थ्री जितेर इन्डष्ट्रिमा कदम राखे । सन् २०१३ मा ‘कमेडी नाइट्स विद कपिल’ सुरु गर्नुअघि उनी कमेडी सर्कसका सदस्य रहे ।

‘कमेडी नाइट्स विद कपिल’ ले उनलाई कलाकारको रुपमा अत्यधिक सफलता दियो । तीन वर्षसम्म कार्यक्रम शीर्ष स्थानमा रह्यो । कपिल शर्मा भारतमा मात्र नभई नेपालमा पनि निकै चर्चित रहे ।

उक्त कार्यक्रमको चर्चा यसबाट लगाउन सकिन्छ कि दर्शकले डा. मसहुर गुलाटी, गुत्थी, दादी, पलक र बुआको भूमिका निभाउने  कलाकार सुनिल ग्रोवर, अली असगर, कीकू शारदा र उपासन सिंहलाई उनीहरुको वास्तविक नामभन्दा कार्यक्रमको नामले चिन्दछन् ।

कार्यक्रमको चर्चा देखेर बलिउडका ठूल्ठूला कलाकार त्यहाँ आफ्नो फिल्म प्रोमोट गर्न पुग्थे ।

शाहरुख खान, सलमान खान, अक्षय कुमार, अमिताभ बच्चन, अनुष्का शर्मा, अनिक कपूर, दीपिका पादुकोण, सोनाक्षी सिन्हा, विद्या बालन, प्रियंका चोपडा, रणबीर कपूर, धर्मेन्द्र, जितेन्द्र, करिना कपूरजस्ता ठूल्ठूला कलाकार कार्यक्रममा आउने एक तालिका नै बन्यो ।

कार्यक्रममा फिल्म जगतका साथै खेल जगतबाट पनि पाहुना आउन थाले जसमा सानिया मिर्जा, शोएब अख्तर र हरभजन सिंह समावेश थिए । कार्यक्रमले कपिल शर्मालाई पनि एक सेलिब्रिटीको उपाधी दियो ।

उनले करण जोहरसँग ६० औं फिल्मफेयर अवार्ड कार्यक्रम संचालन गर्नुका साथै सन् २०१५ मा अब्बास मस्तानको निर्देशनमा आफ्नो पहिलो बलिउड फिल्म ‘किस किसको प्यार करुँ’ मा पनि काम गरे ।

यद्यपी, उक्त फिल्मले आशा गरेजति सफलता हात पार्न सकेन ।

सन् २०१६ मा कलर्स च्यानलसँगको मनमुटावपछि कपिल शर्माको कार्यक्रम बन्द भयो र कपिलले सोनी च्यानसँग ‘द कपिल शर्मा हो’ सुरु गरे जसमा चम्पू शर्मा, डाक्टर मसहुर गुलाटी, रिंकु देवी र नानी जस्ता भूमिका चर्चित भए ।

तर त्यसै वर्ष कपिल शर्मा विवादको घेरामा आए जब उनले बीएमसीका कर्मचारीमाथि घुस खाएको आरोप लगाउँदै नरेन्द्र मोदीको ट्वीटरमा ट्याग गरे । त्यसपछि नउको ओशिवाडास्थित अफिसमा भएको अवैध निर्माणको मुद्दा बाहिरियो । यद्यपी, कपिल शर्माले उक्त भवनको निर्माण स्विकृत प्लान अनुसार भएको दाबी गरे ।

सन् २०१७ मा कपिल शर्माको एक भिडियो भाइरल भयो जसमा उनका सहकलाकार सुनिल ग्रोवरसँग कपिल शर्माले अभद्र भाषामा कुराकानी गरिरहेको देख्न सकिन्थ्यो । उक्त विवादले उग्र रुप लियो र धेरैजसो कलाकारले कार्यक्रम छोडिदिए ।

त्यति नै बेला कपिल आफ्नो दोस्रो फिल्म ‘फिरंगी’ मा व्यस्त भए ।

फिल्म फ्लप भयो । कपिल टेलिभिजनमा फिर्ता हुन चाहे । तर खराब स्वास्थ्यका कारण उनको कार्यक्रमको सुटिङ रद्द भइरह्यो ।

केही दिन अघि कपिल शर्मा नयाँ विवादमा फसेका छन् । उनले एक पत्रकारमाथि आफ्नो ट्वीटमार्फत ती पत्रकाले उनलाई खसालेर कुरा गरेको र उनीबाट पैसा झार्नका लागि षड्यन्त्र रचेको भनी आरोप लगाए ।

पछि ती पत्रकारले कपिल शर्माले आफूलाई फोन गरेर गाली गरेको बताए । दुबैले एक अर्काविरुद्ध पुलिसमा रिपोर्ट दर्ता गरे ।

कपिलका प्रशंसक यी सबै मामलाका कारण पक्कै पनि निराश छन् ।  मध्यम वर्गीय परिवारबाट आएका कपिल शर्माले यो सफलता प्राप्त गर्नका लागि निकै संघर्ष गरे । उनको यात्रा सजिलो रहेन । तर उनका प्रशंसकले कपिलले आफ्ना पुरानो साथीसँग एकपटक पुनः पुरानै रंगमा फर्किएको हेर्न चाहन्छन् । तर यसका लागि उनले कति कुर्नुपर्छ त्यसको जवाफ अहिले कसैसँग पनि छैन ।

बीबीसी हिन्दी/सुप्रिया सोगले


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप