शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चार जनाको हत्या गर्ने ‘नग्न’ बन्दुकधारी पक्राउ

मङ्गलबार, ११ वैशाख २०७५, १० : ०८
मङ्गलबार, ११ वैशाख २०७५

न्युयोर्क । टेनेसीस्थित वाफल हाउसमा चार जनाको हत्याको आरोपमा एक व्यक्तिलाई प्रहरीले न्यासभिलबाट पक्राउ गरेको छ ।

प्रहरीका अनुसार २९ वर्षीय ट्राभिस रेन्किनलाई वन क्षेत्रमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो । उनीमाथि रेस्टुरेन्टमा एआर–१५ राइफलले चार जनाको हत्या गरेको आरोप छ । हत्यापछि उनी नग्न भएर फरार भएका थिए ।

रेस्टुरेन्टका ग्राहक जेम्स श जुनियरले बन्दुकधारीसँग लडेर बन्दुक खोसेपछि थप हताहती हुनबाट जोगिएको थियो ।

प्रहरीले जारी गरेको तस्विरमा रेन्किनको शरीरमा च्यातिएको टिसर्ट र घाउको निशान देखिएको छ ।

पक्राउ पर्दा उनीसँग एउटा बन्दुक र गोलीगठ्ठा पनि बरामद भएको प्रहरीले जनाएको छ । रेन्किनले वकिलको माग गर्दै केही बोल्न नमानेको बताइएको छ ।

प्रहरीले हालसम्म गोलीकाण्डको उद्देश्य पत्ता लगाउन सकेको छैन । ‘हामीलाई अझै पनि थाहा छैन उनी किन वाफल हाउस गए,’ प्रवक्ता डन आरोनले पत्रकारहरुलाई बताए ।

रेन्किनको खोजीमा १६० जनाभन्दा बढी प्रहरी अधिकारीहरु खटिएका थिए । 

न्यासभिलका मेयर डेभिड ब्राइलीका अनुसार सर्वसाधारणले दिएको सूचनाका आधारमा रेन्किन पक्राउ परेका हुन् ।

रेन्किनबारे प्रहरी अधिकारीहरु पहिलेदेखि नै जानकार थिए । पछिल्ला दुई वर्षमा उनी कयौँ पटक पक्राउ पनि परेका थिए ।

गत वर्ष हतियारसहित ह्वाइट हाउस नजिकै रहेको प्रतिबन्धित क्षेत्रमा प्रवेश गरेको आरोपमा पक्राउ परेका थिए । तर, पछि उनलाई रिहा गरिएको थियो ।

यो पनि पढ्नुहोस्

चार जनाको हत्या गर्ने नग्न बन्दुकधारी : ट्रम्पलाई भेट्न ह्वाइट हाउसको सुरक्षा घेरा तोडेका थिए

वाफल हाउस गोलीकाण्डमा २३ वर्षीय अकिलाह डासिल्भा, २१ वर्षीय डिइबोनी ग्रुभ्स, २० वर्षीइ जो पेरेज र २९ वर्षीय टाउरेन सान्डरलिनको मृत्यु भएको छ । घटनामा थप चार जना घाइते छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप