शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसका युवाहरुको निश्कर्ष : मैदान काँग्रेसको, खेल कम्युनिष्टको !

मङ्गलबार, ११ वैशाख २०७५, १३ : ३४
मङ्गलबार, ११ वैशाख २०७५

काठमाडौं–नेपाली काँग्रेसका ६ जना युवा नेताले जारी काँग्रेस केन्द्रीय समिति बैठकमा नेपाली काँग्रेसले लिएको विचार पछिल्लो समय नेपालका कम्युनिष्ट पार्टीहरुले लिएकाले उनीहरु जनतामाझ लोकप्रिय भएको निश्कर्ष निकालेका छन् ।

‘शान्तिपूर्ण आन्दोलनबाट राज्यसत्ता कब्जा गर्छौ भन्ने र बन्दुकबाट राज्यसत्ता कब्जा गरेर कम्युनिष्ट शासन व्यवस्था भन्ने पार्टीहरु आफैं सिद्धान्त र व्यवहार दबवैमा बदलिए’ युवाहरुको संयुक्त दस्तावेजमा भनिएको छ । 

त्यस्तै कम्युनिष्टहरुको चरित्रका बारेमा पनि युवा नेताहरुले व्याख्या गरेका छन् । कम्युनिष्ट चरित्रका बारेमा संयुक्त दस्तावेजमा लेखिएको छ –‘नेपालका कम्युनिष्टहरुले पछिल्लो तीन दशकमा देखाएको सबैभन्दा ठूलो चरित्र भनेको राजनीतिक अनुकुलता हो । आफ्नो मुलभूत सिद्धान्त तथा विचारलाई एकातिर थन्क्याएर ऐतिहासिक रुपमा काँग्रेसले ओगटेको राजनीतिक सिद्धान्त र विचारलाई कम्युनिष्टहरुले अंगालेका छन् ।’ 

युवा नेताहरुले कम्युनिष्टलाई  प्रतिश्पर्धात्मक राजनीतिमा ल्याउनुको श्रेय काँग्रेसमा गएपनि त्यस्तो अनुकुलतालाई कम्युनिष्टले आफुूअनुकुल राजनीतिक प्रयोग गरेको आरोप लगाएका छन् । 

युवा नेताहरुले २०४८ देखि २०७४ को २६ वर्षे अवधिमा विश्वका कम्युनिष्टहरु खुम्चदै गएपनि नेपालका कम्युनिष्टहरुको भोट किन बढ्यो भन्ने विश्लेषण गर्न जरुरी रहेको पनि जनाएका छन् । 
नेपालमा कम्युनिष्टहरुको बढोत्तरी हुनुमा एकमात्रै कारण नरहेको निश्कर्ष निकालेका युवा नेताहरुले यी सबै प्रश्नहरुको जवाफ अहिले नै पाउन कठिन हुने उनीहरुको विश्लेषण छ । त्यस्तै काँग्रेस खुम्चनु र कम्युनिष्ट तन्कनुको विषयमा लामो बहस आवश्यक भएको युवा नेताहरुको भनाई छ । 

मैदान काँग्रेसको खेल कम्युनिष्टको !
खासगरी कम्युनिष्टहरुको मत बढ्नुको मुख्य कारण–मैदान काँग्रेसको तर खेल कम्युनिष्टले खेलेको युवा नेताहरुको बुझाई छ । 
दस्तावेजमा भनिएको छ –खेल मैदान हाम्रो, नियम हाम्रो, खेल हाम्रो, के उनीहरुले खेल राम्रो खेलेका हुन् त ? होइन, त्यसोभए कसरी त ? हामीले २०४८ सालदेखि खेलमैदानको ठुलो हिस्सा खाली छाडेर सानो हिस्सामा सिमित भयौं । खेल मैदानको ७५ प्रतिशत हिस्सा कम्युनिष्टलाई छाडिदिएपछि र हामी २५ प्रतिशतमै रमाएपछि सवभाविक रुपमा चुनावी नतिजा पनि झन्झन हाम्रो प्रतिकुल बन्न पुग्यो ।’ 
त्यस्तै युवाहरुले सरकारमा रहँदाको गलत तथ्यगत विश्लेषणका कारण पनि काँग्रेसले ठुलो क्षति व्यहोर्नुपरेको जनाएका छन् । काँग्रेससँगको सरकारमा कम्युनिष्ट रहँदा उनीहरुलाई एकाधिकार छाडिदिँदा भएका गतिविधिको मुल्यांकन समेत सहि ढंगले हुन हुन नसकेको युवाहरुको विश्लेषण छ ।

गल्तीको दण्ड काँग्रेसले पाउनु स्वभाविक
यस्तै काँग्रेसका युवाहरुले आफ्नो दस्तावेजमा नेपाली काँग्रेस सरकारमा रहँदा गरेका गल्ति र कमजोरीको दण्ड यो निर्वाचनमा पाएको भन्दै त्यसलाई स्वभाविक मान्न सकिएपनि यथार्थको पाटो अर्को पनि भएको बताएका छन् ।

उनीहरुले भनेका छन् –‘२०४६ देखि २०७४ को चुनावसम्ममा काँग्रेस ७०१७ दिन र एमाले माओवादी ४५६० दिन सरकारमा थिए । दोस्रो जनआन्दोलनपछिको समय हेर्ने हो भने त काँग्रेस जम्मा २६३६ दिन सरकारमा रह्यो भने कम्युनिष्टहरु ३४२० दिन बसे । 

यसविचका १० मन्त्रिपरिषदमा ६ पटक कम्युनिष्ट प्रधानमन्त्री भएभने ३ पटक काँग्रेस प्रधानमन्त्री भए । यति हुँदाहुँदै पनि मतदाताले काँग्रेसलाई जस्तै कम्युनिष्टप्रति आक्रोश पोख्नुपर्ने हो । तर यस्तो भएन किनकी कम्युनिष्ट प्रोपगाण्डा मेसिनले सरकार भनेकै नेपाली काँग्रेस र नेपाली काँग्रेस भनेकै सरकार भन्ने न्यारेटिभमा मतदाताको ठुलो हिस्सालाई ब्रेनवास गर्न सफल हुनु हो । यसको पछिल्लो उदाहरण अर्थमन्त्रीले पेश गरेको श्वेत पत्र हो ।’

कम्युनिष्टहरुको संकट र त्यसको जवाफ
काँग्रेसले मैदान खाली गरेको अर्को महत्वपुर्ण ठाउ हो सामाजिक आन्दोलन । २०४७ मा राजनीतिक व्यवस्था प्रजातान्त्रिक भएसँगै खुला भएको नेपाली समाजमा दविएर बसेका थुप्रै सामाजिक मुद्दाहरु प्रकट भएपनि ति मुद्दालाई समाधान गर्ने प्रयास काँग्रेसले नगरेकोमा युवा नेताहरुले चर्चा गरेका छन् । उनीहरुले भनेका छन्–२०४७ पछि हामीलाई लाग्यो कि यो नै अव ‘इन्ड अफ हिस्ट्री’ हो । अव कुनै आन्दोलन र थप संघर्षको आवाश्यक्ता छैन ।’ 

नेपाली कम्युनिष्टको बदलिदो रंग
६ युवा नेताले बैठकमा प्रस्तुत गरेको दस्तावेजमा नेपालका कम्युनिष्ट पार्टीहरु रंग बदल्नेको संज्ञा दिएका छन् । दस्तावेजमा भनेका छन् –‘नेपालका कम्युनिष्ट पार्टीहरु आफु स्थापना हुँदा जुन राजनीतिक व्यवस्था र अर्थ प्रणालीलाई समुल अन्त्य गर्ने भनेर संकल्प गरेका थिए । दुरुस्तै त्यस्तै राज्य र अर्थव्यवस्थाको सुनिश्चितता गरेको संविधानलाई  स्वीकार्न बाध्य भएका छन् । यसरी हेर्दा नेपालका कम्युनिष्टहरुले पछिल्लो ३ दशकमा देखाएको सवैभन्दा ठुलो चरित्र भनेको राजनीतिक अनुकुलता नै हो ।’
   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप