शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल टेलिकमको समाजिक उत्तरदायित्व कार्यक्रमः अस्पताललाई कम्बल र विद्यालयलाई आइसिटि

मङ्गलबार, ११ वैशाख २०७५, १४ : २४
मङ्गलबार, ११ वैशाख २०७५

काठमाडौं । नेपाल टेलिकमले चौधौं वार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न अस्पताललाई कम्बल उपलब्ध गराउनुका साथै केही सामुदायिक विद्यालयमा आइसिटि सेन्टर स्थापना गरिदिएको छ । 

कम्पनीले आज एक विज्ञप्ती जारी गर्दै आफ्ना ६ वटा क्षेत्रीय निर्देशनालय अन्तर्गत कोशी अञ्चल अस्पताल विराटनगर, नारायणी अञ्चल अस्पताल वीरगञ्ज, भक्तपुर क्यान्सर अस्पताल, भेरी अञ्चल अस्पताल नेपालगञ्ज र महाकाली अञ्चल अस्पताल महेन्द्रनगरलाई २५। २५ थान कम्बल वितरण गरेको जनाएको छ । कम्पनीले उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिकाको वडा नम्बर ६ का अग्निपीडितलाई पनि हालै २५ थान कम्बल वितरण गरेको पनि जनाएको छ ।

त्यसैगरी भूकम्प प्रभावित ११ जिल्लाका एक एक वटा सामुदायिक विद्यालयमा आइसिटि सेन्टर स्थापना गरिदिएको छ । अन्य जिल्लाहरु लमजुङ, डडेलधुरा, उदयपुर, जुम्ला र रुकुमका एक एक सामुदायिक विद्यालयमा निकट भविष्यमा नै आइसिटि सेन्टर स्थापनाका लागि तयारी अन्तिम चरण पुगेको टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले शान्ति निकेतन माध्यामिक विद्यालय भक्तपुरमा कम्पनीको सहयोगमा स्थापना गरिएको आईसीटी सेन्टरको हालै शुभारम्भ गर्दै इन्टरनेट सेवालाई शिक्षण सिकाइ क्रियाकलापमा अधिकतम प्रयोग गर्न आग्रह गर्नु भयो । उक्त सेन्टरका लागि कम्पनीले ५ थान कम्प्युटर, ५ थान वेब क्याम, ५ थान माइक्रो फोनसहितको हेडसेट र १ थान थ्री इन वान प्रिन्टर उपलब्ध गराएको छ । सो प्रयोजनका लागि १ लाइन वाइम्याक्स डाटा कनेक्सन, वाइफाई राउटर र ओडियू सेट समेत उपलब्ध गराउनुको साथै इन्टरनेट चलाउनका लागि दुई वर्षसम्म मासिक रुपमा ३० जीबी डाटा  निःशुल्क उपलब्ध गराएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक राजभण्डारीले कम्पनीले वार्षिकोत्सवका अवसरमा घोषणा गरे अनुरुप सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस्ता विभिन्न सेवामूलक कार्यहरु गरेका बताउनु भयो । आगामी दिनमा समेत यस्ता कार्यलाई निरन्तरता दिन कम्पनी प्रतिवद्ध  रहेको प्रबन्ध निर्देशक राजभण्डारीले बताउनु भयो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप