बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री शाही र रिचर्डबीच भेटवार्ताः कर्णालीमा बेलायतले लगानी बढाउने

मङ्गलबार, ११ वैशाख २०७५, १५ : ०१
मङ्गलबार, ११ वैशाख २०७५

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र बेलायती अन्तर्राष्ट्रिय विकास नियोग (DFID)का एशिया क्षेत्रीय निर्देशक रिचर्ड मुन्टगोमरी शिष्टाचार भेटवार्ता भएको छ । प्रदेश मुख्यालयमा मंगलबार बिहान भएको भेटवार्तामा मुख्यमन्त्री शाहीले मुलुकको राजनैतिक संक्रमणकाल सकिएसँगै आफुहरुको एकमात्र एजेण्डा विकास र समृद्धि रहेको कुरामा जोड दिए ।

 बेलायती अन्तर्राष्ट्रिय विकास नियोग (DFID)ले सीमान्तकृत समुदाय र क्षेत्रको विकासका लागि प्रशंसनीय काम गरिरहेको बताउँदै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको विकासका लागि उच्च प्राथमिकता दिन आग्रह गरे । तुलनात्मक रुपमा नेपालका अन्य प्रदेशहरुभन्दा कर्णाली प्रदेश विकासका दृष्टिले पछि रहेको बताउँदै उनले भौतिक पूर्वाधारका क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको वताए ।

कर्णाली प्रदेश प्राकृतिक श्रोतले धनी रहेको बताउँदै मुख्यमन्त्री शाहीले भने– ‘हामीसँग जलविद्युत, पर्यटन, जडीवुटी र कृषिको अपार सम्भावना छ, यसको व्यवस्थित परिचालन गरि समृद्धि हासिल गर्न अहिले आर्थिक श्रोतको जरुरी छ ।’

भेटवार्तामा कर्णाली प्रदेशका दुई जिल्लामा सडक नपुगेको, धेरै जिल्लामा विद्युतीकरण बाँकी रहेको बताउदै मुख्यमन्त्री शाहीले भौतिक पुर्वाधारको विकासलाई आफनो सरकारले पहिलो प्राथमिकतामा राखेको बताए ।  आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सर्वसम्मतिमा आफुहरुले प्रदेशको नाम र राजधानी तोक्न सफल भएको वताउदै कर्णाली प्रदेशमा लगानीमैत्री वातावरण रहेको बताए । 

भेटवार्ताका क्रममा निर्देशक रचर्ड मुन्टगोमरीले आफुहरु प्रदेश सरकारको नीति कार्यक्रम र प्राथमिकता अनुसार काम गर्न तयार रहेको स्पष्ट पारे । उनले कर्णाली प्रदेशमा वेलायती अन्तर्राष्ट्रिय विकास नियोग (DFID)ले गर्दै आएको सहयोगमा बृद्धि गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । 

कर्णाली प्रदेशमा अरु दातृ निकायहरु पनि काम गर्न ईच्छुक रहेको बताउदै प्रदेश सरकारले चाहेमा आफु विकास साझेदारहरुको वैठकको आयोजना गर्न तयार रहेको उनको भनाई थियो । पछिल्ला वर्षहरुमा नेपालले शिक्षा र स्वास्थ्यका क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताउदै निर्देशक रचर्ड मुन्टगोमरीले खुशी ब्यक्त गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप