बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

युनाइटेड इन्सुरेन्समाथि बीमा समितिको कारवाही : सीजीबाट २४ करोड असुल नगरेसम्म हकप्रद निष्काशन गर्न नपाउने

मङ्गलबार, ११ वैशाख २०७५, १५ : १९
मङ्गलबार, ११ वैशाख २०७५

काठमाडौं– युनाइटेड इन्सुरेन्स कम्पनीमाथि बीमा समितिले हकप्रद निष्काशन रोक लगाएको छ । अब सीजी इलेक्ट्रोनिक्सलाई बढी बीमा दाबी भुक्तानी दिएको २४ करोड असुलउपर नगरेसम्म युनाइटेड इन्सुरेन्सले हकप्रद निष्काशन गर्न पाउने छैन् । 

बीमा समितिले युनाइटेडलाई पहिला २४ करोड उठाउन र त्यसपछि मात्र हकप्रद जारी गर्न मौखिक निर्देशन दिएको बीमा समितिको उच्च स्रोतले रातोपाटीलाई जानकारी दियो ।

ती अधिकारीले लिखित जवाफ बीमा समितिबाट अहिलेसम्म नगएको तर मौखिक रुपमा हकप्रद जारी गर्ने भए पहिला सीजीसँग रकम उठाउन भनेको बताए । 

युनाइटेड इन्सुरेन्स कम्पनीले पुँजी बृद्धिका लागि १ः२.४ अनुपातमा (१० कित्ता सेयर बराबर थप २४ कित्ता ) हपकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । 
 कम्पनीको आइतबार बसेको  सञ्चालक समितिको बैठकले सो अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको थियो । 

हकप्रद सेयर निष्काशन गर्ने युनाइटेड इन्सुरेन्सको निर्णय

युनाइटेडको हाल ३० करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी छ । 

यता, बीमा समितिले बीमा कम्पनीहरुलाई २०७५ असार मसान्तसम्म पुँजी पुर्याइसक्नुपर्ने समय दिएको छ । 

यस आधारमा जीवन बीमाले न्युनतम २ अर्ब र निर्जीबन बीमाले १ अर्ब रुपैयाँ पुर्याउँनुपर्ने हुन्छ । 

युनाइटेडले पनि पुँजी बृद्धिका लागि १ः२.४ को अनुपातमा हकप्रद निष्काशन गर्न लागेको हो । 

‘उसले असार मसान्तसम्म १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउँनु पर्नेछ । सीजीबाट २४ करोड रुपैयाँ उठाउनुपर्छ’ ती अधिकारीले भने । 

नक्कली दाबीमा २४ करोड भुक्तानी दिने युनाइटेड इन्सुरेन्स आन्तरिक किचलोमा, १२७ कर्मचारीको राजीनामा

बीमा समितिको निर्देशन अनुसार युनाइटेडले सीजि इलेक्ट्रोनिक्सको बीमा गराउने एजेन्टको कमिसन फिर्ता लिनुपर्ने  र सो एजेन्टको लाइसेन्स समेत खारेज गर्नुपर्ने हुन्छ ।

बढी बीमा दाबी भुक्तानी दिएको कारण अहिले युनाइटेडको अग्नि बीमा बन्द छ । उता, युनाइटेडले पनि अग्नि बीमा रोक लगाएपछि सो फुकुवाको लागि बीमा समिति दौडधूप जारी राखेको छ । 

यसअघि पनि युनाइटेडको १०० प्रतिशत हकप्रद पनि रोकिएको थियो । 

सिजी इलेक्ट्रोनिक्सले बीमा दाबीमा २४ करोड किर्ते गरेको ठहर

बीमा समितिले आर्थिक वर्ष २०७२÷७३ को वित्तिय विवरण अस्वीकृत गरेपछि १०० प्रतिशत हकप्रद ल्याउने प्रस्ताव स्थगित भएको थियोे । 

२०६९ असोजमा सतुङ्गल गोदाममा आगो लागेपछि सर्भेयर र अन्डरराइटरले अग्नि बीमा अन्र्तगत ५८ करोड क्षति भएको प्रमाणित गरेको थियो । 

सोही अनुसार युनाइटेडले विभिन्न समयमा ३४ करोड दाबी भुक्तानी गरेको  र २४ करोड रुपैयाँ बैंक ग्यारेन्टी गरेको थियो । 

२४ करोडको ‘हाइप्रोफाइल’ बीमा ‘ठगी’ : सर्वोच्च पुग्यो युनाइटेड इन्सुरेन्स

बीमा दाबी गर्ने सीजी इम्पेक्स, इओए, सीजी इलेक्ट्रोनिक्स विनोद चौधरीले नेतृत्व गरेको चौधरी समुहको पुर्ण स्वामित्वको कम्पनी हो ।

भने दाबी भुक्तानी दिने युनाइटेड चौधरीको झण्डै २७ प्रतिशत स्वामित्व भएको कम्पनी हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप