बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा विकासको तिव्रताः मुगु–हुम्ला जोड्ने लिंक रोड निर्माणको घोषणा

मङ्गलबार, ११ वैशाख २०७५, १८ : १२
मङ्गलबार, ११ वैशाख २०७५

सुर्खेत– बेलायती अन्तर्राष्ट्रिय विकास नियोग (डिएफआईडी)ले मुगु–हुम्ला जोड्ने लिंक रोड निर्माण गर्ने घोषणा गरेको छ ।  कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा मंगलवार आयोजित कार्यक्रममा डिएफआईडीले उक्त सडक निर्माणको घोषणा गरेको हो । 

ग्रामिण पहूँच कार्यक्रम (फेज ३) अन्तरगत शुरु गर्न थालिएको मुगु–हुम्ला लिंक रोडवाट कर्णाली प्रदेशको अति दुर्गम २ जिल्लाका नागरिक लाभान्वित हुनेछन् ।  कार्यक्रममा वोल्दै डिएफआईडी एशिया निर्देशक Richard Muntgomery ले मुगुको रारा–छायाँनाथ नगरपालिकाबाट शुरु हुने यो सडकले हुम्लाको चंखेली गाउँपालिकाको देउली गाउँलाई जोडने जानकारी दिए । 

सडक निर्माण घोषणा कार्यक्रममा वोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले प्रदेशको विकासका लागि सडक निर्माणले महत्वपुर्ण टेवा पुग्ने बताए । कर्णाली प्रदेशमा निर्माण हुने सबै सडक पर्यटकीय सडक हुने बताउँदै मुख्यमन्त्री शाहीले मुगु–हुम्ला लिंक रोड निर्माणपछि कर्णालीको पर्यटन प्रबद्र्धन, स्थानिय जनताको आयश्रोत बृद्धि र आवागमणमा सहजता लगायतका लाभ उठाउन सकिने बताए । 

भौगोलिक विकटता र श्रोतको अभावका कारण प्रदेश सरकारलाई बाह्य लगानीको आवश्यकता रहेको भन्दै मुख्यमन्त्री शाहीले लगानीमैत्री वातावरण निर्माणको प्रतिबद्धता समेत व्यक्त गरे । सरकारको प्राथमिकतालाई ख्याल गरेर लगानी गर्नुपर्ने धारणा राख्दै मुख्यमन्त्री शाहीले अन्य दातृ निकायहरुलाई समेत कर्णालीको विकासका लागि हातेमालो गर्न आग्रह गरे ।

 कार्यक्रममा वोल्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सडक निर्माणपश्चात ग्रामिण क्षेत्रका व्यापारिक मार्ग मुगु–हुम्लालाई आर्थिक क्षेत्रको रुपमा विकास गर्ने आधार तय गर्ने विश्वास व्यक्त गरे । भौतिक पूर्वाधारको विकास नगरेसम्म अन्य क्षेत्रको विकास गर्न नसकिने भएकाले सरकारले बाह्य लगानी भित्राउने खालका नीतिहरु निर्माण गर्न लागेको उनले बताए । 

मुगु–हुम्ला लिंक सडक आसपासमा जनघनत्व न्युन रहेकाले सडक निर्माणमा तिव्रता दिन मेशीन र मानवीय श्रम दुवैको प्रयोग गरिने डिएफआईडीका नेपाल प्रमुख रुरीक मार्सडेनलेले जानकारी दिए । ६५ किलोमिटर लामो यो सडक निर्माणको क्रममा ६ लाख श्रमदिनको रोजगारी सिर्जना हुनेछ भने ८ हजार परिवारले आम्दानी प्राप्त गर्ने उनले बताए । यो सडक खण्ड निर्माणको कुल लागत २ अर्ब २४ करोड रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप