केन्द्रीय संस्करण

प्रदेश प्रमुख अनुराधा कोइरालाद्वारा संसद्मा सम्बोधन

person access_timeबैशाख ११, २०७५ chat_bubble_outline0

-अञ्जली थापा/कृष्णराम परियार 

हेटौँडा । प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले देश र प्रदेशको विकासका लागि विभाजित नभई अघि बढ्नुको विकल्प नरहेको बताएकी छन् । 

आज प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रदेश प्रमुख कोइरालाले आपसी एकता र समझदारी कायम गर्दै विकास र समृद्धिको चरणमा अघि बढ्नुपर्नेमा जोड दिइन् । 

भूकम्प गएको तीन वर्ष भइसक्दा पनि ३० प्रतिशत भूकम्पपीडितले मात्रै आंशिक अनुदान पाएको भन्दै उनले उनीहरुलाई यथाशीघ्र छानामुनि ल्याउन जरुरी रहेको धारणा व्यक्त गरिन् । 

प्रदेश नं ३ को शीघ्र विकासका लागि यस प्रदेशलाई महत्वपूर्ण सुरुङमार्गमार्फत छोटो दूरीको पहुँच र एक जिल्ला एक विशिष्टीकरण उत्पादन, प्राविधिक शिक्षाको स्थापना र विस्तार, नयाँ शहरको अध्ययन, निर्माण र विस्तार, जोखिममा रहेको बस्तीको स्थानान्तरण, वैज्ञानिक भू–उपयोग नीति लागू गरी भूमिको व्यवस्थापनलगायतका कार्यक्रम लागू गर्ने नीति सरकारले लिएको उनले बताइन् । 

उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले प्रदेश विकासको व्यवस्थित अवधारणा अघि सार्ने बताइन् । 

मंगलबार नै बसेको दोस्रो बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश प्रमुखको सम्बोधनको प्रति टेबुल गरे । प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले प्रदेश प्रमुख कोइरालाप्रति धन्यवाद प्रस्ताव राखेका थिए । 

बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सदस्यको मर्यादाक्रम प्रतिनिधि र राष्ट्रिय सभापछि हुने भनी मन्त्रिपरिषद् बैठकले गरेको निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएकी थिइन् ।  

प्रदेशसभा बैठक वैशाख १३ गतेसम्म ११ बजेसम्मका लागि स्थगित भएको छ । 

प्रदेश नं ३ को लोगो र पोशाक निर्धारण 

प्रदेश नं ३ को बैठकले संसद्का लागि पोशाक र लोगोको निर्धारण गरेको छ । 

सोमबार सभामुख श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले संसद्का लागि पोशाक र लोगो निर्धारण गरेको हो । निर्धारण गरिएको लोगोमा गौरीशंकर हिमाल, राष्ट्रिय झण्डा, पशुपतिनाथको मन्दिर र स्वयम्भूको आँखा अंकित चित्र रहेको छ । 

पोशाकमा कालो कोट, कालो जुत्ता, सेतो रङको दौरा सुरुवाल राखिएको छ । विशेष समारोहमा खैरो कोटसमेत लगाउनुपर्ने सभामुख श्रेष्ठले बताए । 

त्यसैगरी महिलाले आफ्नो वेशभूषाअनुसारको पहिरन लगाउन पाउने व्यवस्था गरिएको छ । 
 

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ