मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली संसदमा सम्बोधन गर्ने मोदीको चाहना !

बुधबार, १२ वैशाख २०७५, ११ : २१
बुधबार, १२ वैशाख २०७५

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्दा संसदलाई सम्बोधन गर्ने सम्भावना देखिएको छ । भ्रमणको बेला नेपालमा सङ्घीय संसद पनि चलिरहेको हुने भएकाले मोदीले सम्बोधनको चाहना राखेको उच्च स्रोतले जानकारी दिएको छ । 

‘भारतीय चाहना मोदीको सम्बोधनको व्यवस्था होस् भन्ने छ ।’ परराष्ट्रका एक अधिकारीले रातोपाटीसँग भने । 

यदि यसपालि मोदीले नेपालको संसदलाई सम्बोधन गरे भने यो उनको नेपाली संसदमा गरेको दोस्रो सम्बोधन हुनेछ । 

तर भारतीय प्रधानमन्त्री मोदीले संसदमा सम्बोधन गर्ने वा नगर्ने भन्नेमा चाहिँ मन्त्रीहरूबीच विवाद देखिएको छ । प्रधानमन्त्री केपी ओलीसहित केही मन्त्री सम्बोधनको पक्षमा छन् । तर केही मन्त्रीहरूले चाहिँ ‘नाकाबन्दी’का कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छवि नेपालीमाझ राम्रो नरहेकाले उनले संसदमा सम्बोधन नगर्दा ठीक हुने धारणा राखेका छन् ।

यस्तो धारणा राख्ने एक मन्त्रीले भने, ‘तर, भारतीय प्रधानमन्त्रीको सम्बोधनबारे एकरूपता छैन ।’

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको औपचारिक मिति घोषणा हुन बाँकी छ । तर वैशाख २८ गते उनको नेपाल भ्रमण हुने गरी दुवै पक्षबाट तयारी भएको छ । 

पछिल्लो पटक संसदको बजेट अधिवेशन पनि वैशाख तेस्रो साता बोलाउने तयारी भएको छ । जबकि त्यस अगाडि सभामुख कृष्णबहादुर महराले वैशाख अन्तिम साता बजेट अधिवेशन बोलाइने बताएका थिए ।

संसद सचिवालयलेक वैशाख २३ गतेदेखि बजेट अधिवेशन बोलाउन सरकारलाई सुझाव दिएको छ । संविधानअनुसार जेठ १५ मा बजेट पेश गर्नुपर्ने हुन्छ । त्यसको १५ दिन अगाडि सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्ने चलन छ । 

मन्त्रिपरिषदले मिति तोकेर राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि राष्ट्रपतिले बैठक आह्वान गर्ने चलन छ । 

संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले अधिवेशन आह्वान भएपछि बैठक बस्ने गरी सचिवालयले तयारी गरेको बताए । 

यसअघि मोदीले २०७१ साउन १९ गते नेपाली संसदलाई सम्बोधन गरेका थिए । मोदीको उक्त भाषण चर्चामा थियो । उनले केही शब्द नेपाली भाषामै बोलेका थिए । 

मोदी आफैले पनि संसदलाई सम्बोधन गरेको क्षणलाई निकै सुखद भनेका थिए । 

संसदमा सम्बोधनपछि मोदीले लगातर ट्विट गरेका थिए । उनले नेपालको संविधानसभालाई सम्बोधन गर्न पाउँदा निकै सम्मानित र हर्षित महसुस गरेको उल्लेख गर्दै लेखेका थिए, ‘मैले प्राप्त गरेको यो सम्मान साँच्चै नै गहन र सुखद थियो ।’

भारतीय प्रधानमन्त्री मोदीले नेपालको संविधानसभालाई निकै नै महत्वपूर्ण निकायका व्याख्या गर्दै लेखेका थिए, ‘संविधानसभा कुनै सामान्य किताब तयार पार्ने सामान्य अङ्ग होइन । लोकतन्त्रको शक्तिमा विश्वास गर्ने सबैका आँखा त्यसमाथि हुन्छन् ।’

तर संविधानसभाले बनाएको संविधानलाई स्वागत गर्नुको सट्टा नाकाबन्दी लगाएपछि नेपालमो मोदीको आलोचना भएको थियो । त्यसैले २०७१ मा जस्तो मोदीले यसपालि आलोचनामुक्त हुने ठाउँ कम देखिएको छ । 

‘नेपालको विकासका लागि नयाँ फर्मुला– हिट अर्थात हाइवेज, इन्फर्मेसन वेज र ट्रान्सवेज । भारत नेपालका यी सबै क्षेत्रमा सहयोग गर्न तयार छ ।’ मोदीले ट्विट गरेका थिए । 

नेपालको संसदमा सम्बोधन गर्दै मोदीले जलविद्युत, पर्यटन र जडीबुटीमा नेपालको सम्भावना धेरै रहेको भन्दै यसलाई सही सदुपयोग गर्न सके नेपालको विकास यात्राको गति बढ्ने र नेपाली युवालाई पनि लाभ हुने बताएका थिए । 

गत चैत २३ देखि २५ गतेसम्म प्रधानमन्त्री ओलीले भारत भ्रमण गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप