केन्द्रीय संस्करण

भूकम्पको तीन वर्ष : अझै कम भएको छैन जोखिम

person access_timeबैशाख १२, २०७५ chat_bubble_outline0
photo : Oxfam Australia

‘भूकम्पले आगोले जस्तो पोल्दैन,’ त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय विभाग सहप्राध्यापक डा. कविराज पौड्यालले भने, ‘सर्पले जस्तो डस्दैन ।’ 
त्यसो भए हाउगुजी किन भएको होला ?

‘भूकम्प आफैंमा त्रास होइन,’ त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय विभाग सहप्राध्यापक डा. पौड्यालले थपे, ‘भूकम्प जाँदा तरंग उत्पन्न हुन्छ । तरंगले कमजोर संरचना भत्काउँदा घाइते हुने र कतिपयको ज्यान जाने भएकाले हामी डराएका हौं ।’ 

गोरखा भूकम्प गएको तीन वर्ष बितिसकेको छ । त्यतिबेलाको विपत्ति दुई वर्षमै बिर्सन थालेका छौं । बिर्सनु मानवीय स्वभाव नै हो । कसैले बिर्सन नक्सने नीति, नियम बनाई प्रभावकारी कार्यान्वयन गर्न राज्यले ढिला गर्न हुँदैन । 

नेपालमा दैनिक पाँचदेखि दसवटा भूकम्प गइरहेका छन् । चारभन्दा तलका भूकम्प हामीले थाहा पाउँदैनौं । साना साता दिन, मझौला २० देखि २५ र ७ रेक्टरभन्दा माथिका भूकम्प ५० देखि सय दिन वा डेढ  सय वर्षमा पुनरावृत्ति हुनसक्छ । तर पनि, सावधानी अपनाउन सकेका छैनौँ । 

भूकम्पीय दृष्टिले नेपाल उच्च जोखिममा रहेको छ । संसारकै दसौं उच्च जोखिममा रहेको नेपालको भौगार्भिक अवस्था फरक–फरक छ । ‘यहाँका हिमालयको जन्म दुई प्लेट (जमिनका ठुल्ठूला हिस्सा) ठोक्किएर बनेको हो । दुई प्लेटबीच ठोक्किनेक्रम जारी छ,’ उनले सुनाए, ‘दक्षिणतिर रहेको प्लेटले उत्तरतिर रहेको प्लेटलाई धक्का दिइरहेको छ । तुलनात्मक रूपमा उत्तरतिरका तिब्बतियन प्लेट स्थिर रहे पनि दक्षिणतिरका इन्डियन प्लेट (चलायमान) ले धक्का दिइरहँदा बीचका भू–भागका चट्टान बांगिने र फुट्ने गर्छ । सुरु–सुरुमा चट्टान फुट्दैन, उसले सकिन्जेल थेग्छ । नसकेपछि चट्टान बांगिन्छ । बांगिनेक्रममा फुट्छ । फुट्नेक्रममा तरंग निस्कन्छ । त्यसलाई भूकम्प भनिन्छ ।’ तरंगले मानवनिर्मित कमजोर संरचना भत्कन्छन् । संरचना भत्केपछि डराउनु स्वाभाविकै हो । संरचना नभत्केका भए भूकम्पदेखि डराउँदैन पर्दैनथ्यो । 

काठमाडौं

भूकम्पीय दृष्टिले काठमाडौं उपत्यका संवेदनशील मानिन्छ । घना बस्ती भएकाले मात्रै होइन, यहाँको भूगर्भ तुलनात्मक रूपमा कमजोर छ । आदिकालमा यहाँ ठूलो ताल थियो भनिएको छ । त्यसका प्रमाण फेलापरेका छन् । कालीमाटी हुनु, तालमा पाइने जीवाशेष भेटिनु त्यसको गतिलो प्रमाण हुन् । 

‘काठमाडौं उपत्यकाको गहिराइको तहमा माटो रहेको छ । जहाँ हामीले बनाएका संरचना छन् । त्यहाँ हामी बसेका छौं,’ उनको तर्क छ, ‘भूकम्प जाँदा गहिराइको चट्टानमा तरंग हुन्छ । त्यो माटोमा आएपछि १० देखि २० गुणा बढ्ने गर्छ । काठमाडौं उपत्यकामा माटो छ । चट्टानमाथि भन्दा यस्तो ठाउँमा बनेको संरचनामा बस्दा सावधानी अपनाउनुपर्छ ।’ काठमाडौं उपत्यकाका ९५ प्रतिशत बस्ती माटोमाथि रहेका छन् । यस्तो ठाउँमा बनाइने संरचना माटोसुहाउँदो डिजाइनिङ र इन्जिनियरिङ गर्नुपर्छ ।   

काठमाडौंपूर्व 

काठमाडौंपूर्व पनि भूकम्पीय जोखिममा रहेको छ । संवत् १९९०, २०४५ र २०६८ सालमा गएको भूकम्पको केन्द्रबिन्दु पूर्व थियो । त्यतिमात्रै होइन, गोरखा भूकम्पसमेत गोरखाको बारपाक केन्द्र बनाएर पूर्वतिर तन्किएको थियो । भौगर्भिक कारणले तुलनात्मक रूपमा पूर्व कमजोर देखिएको छ । 

काठमाडौंपश्चिम

काठमाडौंपूर्वको तुलनामा काठमाडौंपश्चिम सुरक्षित छ भनिहाल्न सकिँदैन ।  ‘पाँच सय वर्षभन्दा बढी भयो पश्चिममा भूकम्पीय शून्यता रहेको,’ नेपाल भौगर्भिक समाज अध्यक्षसमेत रहेका पौड्यालको भनाइ छ, ‘पाँच सय वर्ष ठूलो भूकम्प नजानु भनेको झन् खतरनाक मानिन्छ । पाँच सय वर्षदेखि सञ्चित शक्ति विस्फोट हुँदा ठूलो भूकम्प जान्छ । त्यतिबेला भयावह स्थिति सिर्जना हुन्छ । तसर्थ, काठमाडौंपश्चिमेलीले अहिलेदेखि नै सावधानी अपनाउनुपर्छ ।’

यसरी सावधानी अपनाउन सकिन्छ

सर्वप्रथम भूकम्पमैत्री संरचना निर्माणमा ध्यान दिनुपर्छ । त्यसका लागि जमिनको भूगर्भ अध्ययन गर्नुपर्छ । जमिनअनुसार मिल्दोजुल्दो संरचना निर्माण गर्न सम्झौता गर्नुहुँदैन । ‘माटोको बनोट, गहिराइ फरक–फकर हुन्छन् । फरक–फरक माटो भएको ठाउँमा भूकम्प जाँदा कम्पन हुने ‘स्केल’ पनि फरक हुन्छ,’ उनको बुझाइ छ, ‘तसर्थ, भूगर्भ अध्ययन गर्नुपर्छ भनिएको हो । सँगसँगै सेस्मोलोजी र जियोलोजी अध्ययन गर्न बिर्सन हुँदैन । अध्ययनपछिका तथ्यांकका आधारमा कम्पन कहाँ बढी, कहाँ कम हुन्छ र कहाँ भूमिगत जल छ भन्ने थाहा पाइन्छ ।’ 

कहीं–कहीं जमिनदेखि नजिकै भूमिगत जल हुन्छ । त्यसमाथि ‘स्यान्डी’ र ‘सिल्टी’ नामक माटोको ‘कम्पोजिसन’ छ भने भूकम्पको तरंगले जमिनभित्रको पानी ठेलेर माथि ल्याउँछ । त्यतिबेला त्यहाँका माटो नै तरल बनिदिन्छ । त्यो तरलीकरण हुने जमिन हो । त्यस्तो जमिनमा संरचना बनायौं भने त्यतिबेला लिइने सावधानी फरक हुन्छ । बलियो चट्टानमाथि बनाउने संरचना पनि फरक हुन्छ । तसर्थ, कहाँ, कस्तो भूगर्भ छ, चट्टान, माटो, सक्रिय दरार, जमिनमुनि पानीको अवस्था कस्तो छ ? तरलीकरण हुने वा नहुने जमिनको अवस्था के छ ? माटोको भौतिक र भूभौतिकी गुण के–कस्ता छन् भनेर तथ्यांक संकलन गरी त्यसलाई आधार मानेर बनाइएका संरचना भूकम्पमैत्री हुन्छन् । त्यस्तो संरचना बनाउन जरुरी छ ।

माटो परीक्षण कहाँ र कसरी गर्ने ?

माटो परीक्षणका लागि काठमाडौंमा जिओ टेक्निकल टेस्ट गराउने प्रयोगशाला खुलेका छन् । तर, त्यतिले मात्रै पुग्दैन । ‘जमिन पनि त परीक्षण गराउनुपर्छ । घर बनाउने ठाउँमात्रै होइन, त्यसको उत्तर–दक्षिण, पूर्व–पश्चिमको केही किलोमिटरमा सक्रिय दरार छन् कि छैनन् ?,’ उनले सुझाए, ‘जमिनभित्र कति गहिराइमा चट्टान र माटो छ ? माटोमा पनि के–के विविधता छ ? भनेर थाहा पाउनुपर्छ । त्यो थाहा पाउन भूकम्प र भूगर्भसम्बन्धी विज्ञलाई घर बनाउने ठाउँसम्म पुर्याएर देखाउनुपर्छ । विज्ञले भनेअनुसारका ठाउँ–ठाउँबाट माटो र चट्टान संकलन गरी प्रयोगशालामा परीक्षण गराउनुपर्छ । अनि मात्रै जमिनबारे थाहा हुन्छ । त्यसपछि संरचना निर्माण गर्दा बलियो हुन्छ । भूकम्प प्रतिरोधी हुन्छ ।’ 

यो केही खर्चिलो र झन्झटिलो लाग्न सक्छ । सामान्य नागरिकलाई बुझ्नै समय लाग्छ । तर, हामीले भन्ने गरेको दिगो विकास आत्मसात् गर्ने हो भने भूकम्पले संरचना नभत्कोस्, कसैको ज्यान तल–माथि नहोस् भन्नका लागि खर्चिलो र झन्झटिलो मान्नुहुँदैन । यससम्बन्धमा सरकारले नीति नियम बनाइदियो भन्ने झन् सहज हुन्छ । ‘तत्कालका लागि कहाँ, कति र कस्तो घर बन्दै छन् भनेर सम्बन्धित गाउँपालिका, नगरपालिकाले तथ्यांक लिनुपर्यो,’ उनले उदाहरण पेस गरे, ‘निश्चित समयावधिमा सम्बन्धित गाउँपालिका, नगरपालिकामा घर बन्न लागेको जमिनलगायत सबै–सबै परीक्षण गराउँदा कम खर्चिलो हुन सक्छ ।’

सम्बन्धित व्यक्तिले घर बनाउँदा सबै–सबै परीक्षण गराउँछु भन्दा सरकारले सुविधा दिन सक्नुपर्छ । ‘बाँचुन्जेल घरको तिरो तिरेपछि सरकारले त्यो सुविधा दिन सक्नुपर्छ,’ उनको मान्यता छ, ‘त्यसको सबै व्यवभार नागरिकले मात्रै बेहोर्नुपर्ने बाध्यतालाई सरकारले सहज बनाइदिनुपर्छ ।’ सर्वसाधारणलाई प्रविधिसम्बन्धी ज्ञान हुँदैन । सम्बन्धित ठाउँका इन्जिनियर, ठेकेदार, डकर्मी, सिकर्मीलाई तालिम दिएर सबैलाई सुसूचित गराउँदै लैजानुपर्छ । कस्तो ठाउँमा घर बनाउने ? जमिन कसरी छान्ने ? जमिनअनुसारको भवन कसरी निर्माण गर्ने ? विद्यालय, मन्दिर, चर्च कसरी निर्माण गर्ने ? भन्ने विषयमा तालिम दिन सकियो भने भूकम्प प्रतिरोधी संरचना बन्दै जाने उनको ठम्याइ छ । 

अमेरिका, जर्मनी, क्यानडालाई हेरेर भूकम्प प्रतिरोधी संरचना निर्माणबारे बनेका नीति नियम र प्रविधि नेपालको सन्दर्भमा कामयावी छैन । ‘हाम्रो देशको भूगर्भ, माटो र चट्टान हेरेर अनुसन्धान गरेर बनाइयो भनेमात्रै संरचना बलियो हुन्छ,’ उनको दाबी छ, ‘हामीले कमजोर जमिनमा बनाउनुपर्ने संरचना बलियो बनाएका छैनौं । तर, बलियो जमिनमा नचाहिने बलियो संरचना बनाएका छौं । कमजोर जमिनमा बलियो संरचना बनाउनुपर्छ ।’ भवन आचारसंहितामा सबै जमिनमा बनाइने संरचनाबारे एकनाशको नीति नियम छ । यो अवैज्ञानिक छ । त्यसलाई सुधार्नुपर्छ ।    
 

दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ