बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्पका तीन वर्षः पीडितलाई अनेक समस्या, नक्सा पासमै बित्यो १८ महिना

बुधबार, १२ वैशाख २०७५, ११ : ४१
बुधबार, १२ वैशाख २०७५

भक्तपुर – नेपालमा विनाशकारी भूकम्प गएको आज तीन वर्ष पुरा भएको छ । तीन वर्षसम्म धेरै पीडितहरु त्रिपाल र टहरो भित्रै बस्न बाध्य छन् । 

जाडो, तातो, पानी, हुरी बतास सहँदै तीन वर्ष बिताएका पीडितलाई अब कति वर्ष यसरी नै बस्नुपर्ने हो पत्तो छैन । 

भक्तपुर नगरपालिका वडानम्बर ७ इनाचोंकी दिलदेबी डुमरुले भूकम्प गएको एक वर्षपछि नै घर बनाउने अठोट गरिन् । तर, उनले र परिवार सदस्यले चाहेर मात्र घर निमार्ण हुन सकेन । उनीहरुको भत्किएको घर विश्वसम्पदा सूचीभित्र रहेको क्षेत्रमा पर्छ । त्यसैले नक्सा पास गर्न नै लामो समय लाग्यो । 

रातोपाटीसँग कुरा गदैं उनले भनिन् ‘नगरपालिकाले मात्र नक्सा पास गरेर नहुने रहेछ, अन्त जादाँ धेरै समय लाग्यो ।’ 

विश्व सम्पदा सुचिमा भक्तपुर नगरभित्रका केही क्षेत्र पर्ने हुदाँ पीडितलाई नक्सा पास गर्न लामो समय लागेको बताइएको छ । ‘आवश्यक प्रकिया पुरा गर्दापनि कर्मचारीले यो भएन र त्यो भएन भन्दै १८ महिना लगाए अहिले बल्ल नक्सा निस्कियो’ दिलदेबीले भनिन् । 

वडा कार्यालयको सिफारिसमा नगरपालिकाबाट नक्सा पास हुने भएपनि विश्व सम्पदा सूचीमा परेका क्षेत्रका घरधनीले भने पुरात्वविभागबाट समेत नक्सा पास गर्नुपर्ने कानुनी प्रावधान छ । 

अर्की भुकम्प पीडित लक्ष्मी केशरी सुवालको समस्या पनि कम छैन । उनले सरकारले पूर्ननिमार्णको मिति तोक्दा श्रमिकको ज्याला र निमार्ण सामाग्रीको मुल्य बढ्दा समस्या भएको बताइन् । 

 

रडमा किलोको २० रुपैयाँ, सिमेन्टमा ४ सय, बालुवा– गिट्टीमा टिपको ५ हजारसम्म वृद्धि भयो कसरी सरकारले भने जस्तो घर बनाउन सकिन्छ ? दिपेश डुमरुको प्रश्न छ । 

यता भूकम्प गएको तीन वर्ष वित्दा पनि भक्तपुरका धेरैले घरको भग्नावशेष हटाउन नै सकिरहेका छैनन् । कतिपयले भुकम्पले हल्लाएकै घरहरुमा टेको लगाएर  बसिरहेका छन् । 

भक्तपुर र मध्यपुरथिमि नगरभित्र कम क्षेत्रफल रहेको जमिनमा बहुस्वामित्व रहेका घर कसले बनाउने भन्नेमा विवाद हुँदा समयमै निजी आवास निमार्ण हुन नसकेको हो । सूर्यविनायक नगरपालिका र चाँगुनारायणमा गुठी र मोहीको समस्याले गर्दा समस्या भएको छ । 

भक्तपुरमा निजी आवासमात्रै होइन, पुरात्वतिक महत्वका मन्दिर, शतल, पाटी, देवालय लगायत अन्य संरचनाको पूर्ननिर्माणले पनि गति लिन सकिरहेको छैन । 

निजी आवास निर्माणले गति लिएन 
भक्तपुर जिल्लामा भूकम्प पीडित भनेर पहिचान भएका लाभग्राहीको संख्या २७ हजार ६ सय ४४ छ ।  

जसमध्ये २२ हजार ७ सय ९२ लाभग्राहीले पहिलो किस्ता लिएका छन् । दोस्रो किस्ता लिने लाभग्राही २ हजार ७८ रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका प्रमुख शिवराम गेलालले जानकारी दिए । 

पहिलो किस्ता लिनेको तुलानमा दोस्रो र तेस्रो किस्ता लिनेको संख्या न्यून रहेको छ । जिल्लामा आवास निमार्ण सम्पन्न गरेर भूकम्प पीडितलाई सरकारले दिएको अन्तिम तेस्रो किस्ता लिनेको संख्या १ हजार ६६ मात्र रहेको कार्यालय प्रमुख गेलालले बताए । 

यसरी हेर्दा भक्तपुरमा पहिलो किस्ता लिएका २२ हजार ७ सय ९२ लाभग्राहीमध्ये तेस्रो किस्ता लिने १ हजार ६६ मात्र भएकाले २१ हजार ७ सय ६६ लाभग्राही बीचमै हराएका छन् । 

भक्तपुरका सूर्यविनायक, चाँगुनारायण, भक्तपुर र मध्यपुरथिमी नगरपालिकामध्ये सबैभन्दा धेरै लाभग्राही चाँगुनारायण नगरपालिकामा १० हजार ६ सय ४७ जना छन् ।

उक्त नगरपालिकामा ८ हजार ९ सय ९७ पहिलो, ६ सय ७२ दोस्रो र ४ ८९ लाभग्राहीले तेस्रो किस्ता लिएका छन् ।  भक्तपुरमा जग्गा विवाद र स्वामित्व सम्बन्धी समस्याले गर्दा निजी आवास निर्माणले गति लिन नसकको कार्यालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप