बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चिनियाँ लगानीमा २५ वटा उद्योग खुल्दैछन्: प्रचण्ड

बुधबार, १२ वैशाख २०७५, १३ : २६
बुधबार, १२ वैशाख २०७५

चितवन–माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चिनियाँ लगानीमा चितवनमा मात्रै २५ वटा उद्योग खोल्ने तयारी भएको बताएका छन् । बुधबार प्रेस सेन्टरले गरेको छलफलका क्रममा अध्यक्ष प्रचण्डले छिमेकी मुलुक चीनबाट आएका व्यावसायीहरुको टोलीसँग मंगलबार साँझमात्रै चितवनमा उद्योग खोल्ने विषयमा छलफल भएको बताए । ‘जिल्लामा स्टिल, फलाम, कपडा, चप्पलजस्ता २५ वटा उद्योग खोल्न चिनियाँ टोली सकारात्मक छलफल भएको छ’ अध्यक्ष प्रचण्डको भनाई छ ।

उनले आफ्नो चाहना कृषिमा आधारित उद्योग खोल्ने रहेको पनि बताए । ‘मेरो चाहना उद्योग मात्रै नभएर कृषिमा आधारित उद्योग खोल्नुपर्छ भन्ने हो’ चितवनको विकास र समृद्धिबारे अन्तरक्रियामा उनले नवलपुर, मकवानपुर, धादिङ र पर्साको ठोरी क्षेत्रलाई समेत समेटेर विकासको योजना बनाउनु पर्ने धारणा राखे ।

चितवन र छिमेकी जिल्लालाई समेटेर एकीकृत विकासको मोडल तयार गर्न लागिएको भन्दै प्रचण्डले प्राकृतिक स्रोत साधनलाई अधिकतम् उपयोग गर्दै यस क्षेत्रलाई नमुना विकासका रुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

चितवन शिक्षा र स्वास्थ्यको हब हुन सक्ने भन्दै उनले आफूले यससँग सम्बन्धित कार्यक्रमलाई उच्च प्राथमिकता दिइरहेको जानकारी दिए । ‘खासगरी नवलपुर, मकवानपुर, धादिङ, ठोरी र भारतसँग पनि चितवनको सम्बन्धलाई भूराजनीतिक अवस्थितिलाई हेरेर विकासको मोडेल बनाउनुपर्छ’ पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने ।

विश्वमा नै कृषि क्षेत्रमा ख्याती कमाएको देश इजरायलसँग सहकार्य गरेर एकीकृत कृषि प्रणाली सुरु गरिने बताउँदै उनले नेपालका १५ ठाउँ र सोमध्ये चितवनको एक ठाउँमा नमूना कृषि क्षेत्र बनाउने विषयमा इजरायलसँग छलफल भइरहेको पनि जानकारी दिए ।

प्रचण्डले निर्वाचनका समयमा आफूले गरेका प्रतिबद्धता पूरा गर्न लागिरहेको भन्दै आउँदो वर्षमा नै निकुञ्जमाथिबाट माडी जोड्ने आकाशे पुलको कामको प्रक्रिया सुरु गर्ने, नारायणीमा पुल बनाउन र पूरक बजेटमार्फत नै यही आर्थिक वर्षमा केही सडक, ढल, तटबन्धल गायतका काम गर्ने तयारी भइरहेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप