शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्तम्भ लेखकको पीडा : सम्पादकसँग ‘बार्गेनिङ’ का आधारमा पारिश्रमिक

मङ्गलबार, ३० जेठ २०७४, १२ : ४१
मङ्गलबार, ३० जेठ २०७४

स्तम्भलेखनले जनमत बनाउने र भत्काउनसम्मको काम गर्छ भन्ने गरिन्छ । उल्लिखित भनाइसँग स्तम्भलेखक राजेन्द्र महर्जन सहमत छन् । 


‘कुनै पनि पत्रपत्रिकामा प्रकाशित समाचार, छलफल वा कुराकानीका आधारमा धारणा बनिरहेकै हुन्छ । ती धारणामाथि प्रश्न गर्ने, फरक ढंगले विचार राख्ने र छलफललाई प्रेरित गर्ने मूलभूत काम स्तम्भलेखकले गर्दै आएका छन्,’ स्तम्भलेखक महर्जन भन्छन्, ‘तर, त्यो कतिसम्म सम्भव/असम्भव छ भन्ने प्रश्नचाहिँ रहिरहन्छ । स्तम्भलेखक स्वयम्ले हेर्दा आफ्नो विचार कत्तिको सम्प्रेषण भइरहेको छ । त्यसले कस्तो असर/प्रभाव पारिरहेको छ भन्न सकिँदैन ।’ 


कुनै जमघट, भेटघाट र सामाजिक सञ्जालबाट त्यसको पक्ष विपक्षमा ठीक र बेठिक भन्ने प्रतिक्रिया आइरहे पनि ‘मास लेभल’ मा त्यसको असर कस्तो परिरहेको छ भन्ने कुरो आँकलन गर्न गाह्रो छ । तर, प्रभाव परेकै हुन्छ । 


दैनिक समाचार प्रकाशित/प्रसारित भएकै छन् । हल्लाखल्ला भइरहेकै हुन्छन् । दुवैलाई तोड्ने, तथ्यपरक बनाउने, ठीक भयो कि भएन भन्ने काम स्तम्भलेखकले गर्दै आएका छन् ।  सरकारले कुनै पनि विषयमा निर्णय गरेपछि त्यो सही वा गलत भन्ने बहस चले पनि सो बहसमाथि तथ्य र तर्कले पुष्टि गर्ने वा त्यसमाथि राजनीतिक वा दार्शनिक अवधारणाका आधारमा त्यसलाई विमर्शमा ल्याउने काम स्तम्भलेखकबाट भइरहेको छ । महर्जनको बुझाइ छ, ‘त्यसका आधारमा प्रश्न र फरक विचार निर्माण गर्ने काम त भइरहेकै हुन्छ । नभए त अहिलेसम्म स्तम्भ लेखनको अर्थ रहँदैनथ्यो । स्तम्भलेखन अहिलेसम्म टिकिरहनु भनेकै त्यसको औचित्य हुनु हो ।’


अधिकांश पत्रपत्रिका, अनलाइन म्यागेजिन वा टीभीले वैचारिक सामग्री पस्कनुका कारण त्यसको औचित्य र प्रभाव रहनु हो । ‘त्यसलाई झिकिदिने हो भने सञ्चारमाध्यमबाट सूचनाको व्यापारमात्रै भइरहन्छ,’ उनले थपे, ‘जानकारीको कारोबारमा मात्रै सीमित रहन्छ । प्रकाशित/प्रसारित समाचार ठीक छ कि छैन भनेर क्रसचेक कसले गर्लान् ? त्यसमाथि प्रश्न कसले गर्ने ?’ 


नेपालमा स्तम्भ लेखनको अभ्यास भएको ५० वर्ष बढी भइसकेको छ । व्यावसायिक रूपमा पत्रपत्रिका प्रकाशन हुन थालेपछि सम्भावना देखिन थालेको हो । त्यसपछि अलि बढी स्तम्भलेखक अनुहारिए । त्यसमध्ये टिकिरहने लेखक कमै छन् । कारण ? स्तम्भलेखन व्यावसायिक रूपमा फलिभूत नुहुनु हो । लेखेरै टिकिरहने धेरै गाह्रो छ । स्तम्भ लेखेरै दुईछाक खान सक्ने लेखकको अवस्था छैन । ऐच्छिक र स्वेच्छिक रूपमा स्तम्भलेखन चलिरहेको छ । स्तम्भलेखकले अन्य पेसा÷व्यवसाय अपनाउँदै स्तम्भलेखनलाई निरन्तरता दिँदै आएका छन् । 


‘तर, सम्भावना बढ्दो छ । च्यालेन्ज पनि त्यत्तिकै छ । दुई छाकलाई छाड्ने हो भने सम्बन्धित लेखकले विवेकले जे देखेको हो, त्यो अनुसार लेख्न सक्ने हो कि होइन ? धेरै हिसाबले मानिसमाथि अंकुश छ,’ स्तम्भलेखक राजेन्द्र महर्जनले सुनाए, ‘सबैभन्दा ठूलो अंकुश आफ्नो विवेक प्रयोग गर्न सक्ने हो कि होइन भन्ने नै हो । विवेकसम्मत लेख्दै आएका स्तम्भलेखक पनि छन् । तर, विभाजित छन् । कुनै पार्टी वा समुदायसँग जोडिएकाले वैचारिक रूपमा संकीर्ण भएकाले प्रस्फुटन हुन गाह्रो हुन्छ तर विवेकसम्मत लेख्ने नै हो । विवेकसम्मत नलेख्ने भने किन लेख्ने ?’


विवेक प्रयोग नगरीले लेख्दा सबैभन्दा ठूलो घाटा सम्बन्धित लेखकलाई नै हुन्छ । त्यसको असर पाठकलाई पर्ने नै भयो । निहित स्वार्थले विवेक प्रयोग गरेन भने लेखनको औचित्य रहँदैन । 

लामो समय ‘ओपएड पेज’ का सम्पादकको भूमिका निर्वाह गरेका राजेन्द्र महर्जनले लेखेको आलेख सम्पादन हुन्छ कि हुँदैन होला ? उनले आलेख लेख्दा सकेसम्म तथ्य, तर्कपूर्ण र कलात्मक बनाउने प्रयास गर्छन् । त्यति गर्दागर्दै पनि सम्पादन हुँदोरहेछ । भने, ‘कहिलेकाहीं सम्पादनका नाममा सम्पादन गर्दा आफूले जहाँ जोड दिएर भन्न खोजेको हो, त्यही हटाइदिँदा लेख अपुरोजस्तै बन्न पुग्छ ।


स्तम्भलेखनमा आनन्द र अप्ठ्यारो पनि छ । पटकेलेखाइले विषय छनोट, विषयप्रतिको ज्ञान, अनुभव, अभाव अनुभूति गराउने महर्जनको भनाइ छ । पेसा नै स्तम्भलेखन बनाउनेले सातैपिच्छे लेख्नुपर्यो । त्योबाहेक पनि धेरै लेख्न पर्ला । रुचिमात्रै हो भने जतिखेर लेखे पनि भयो । स्तम्भलेखकको समयसीमाभित्र निश्चित शब्दमा र सकेसम्म तात्कालिक मुद्दामा लेख्न जरुरी हुन्छ । हामीकहाँ त्यसरी बाँधिएर लेख्ने धेरै कम छन् । 


स्तम्भलेखन सजिलो काम होइन । कसैले प्यालेस्टाइनबारे लेखे भने इजरायल सरकारलाई आपत्ति हुन सक्छ । उनले उदाहरण दिए, ‘२०५९/०६० तिर इजरायलले प्यालेस्टाइनमाथि आक्रमण गरिरहेको थियो । त्यो विषयमा मैले आलेख लेख्दा इजरायलका राजदूतले लामो पत्र लेखेर आपत्ति जनाए । मैले प्रतिक्रिया दिन बाध्य भएँ । त्यो घटना नेपालबाट हेर्द/देख्दा नेपालीले इजरायलको राजदूतका आँखाबाट मात्रै हेर्दैनन् । त्यही घटनालाई नोम चम्स्कीले कसरी हेर्लान् भनेर लेख्ने हो भन्दै काउन्टर गरें । तर, त्यसको चौतर्फी दबाब सम्बन्धित पत्रिकाको सम्पादक/प्रकाशकलाई मात्रै होइन राजनीतिक वृत्तमा पनि पर्छ ।’ 


लामो समय ‘ओपएड पेज’ का सम्पादकको भूमिका निर्वाह गरेका राजेन्द्र महर्जनले लेखेको आलेख सम्पादन हुन्छ कि हुँदैन होला ? उनले आलेख लेख्दा सकेसम्म तथ्य, तर्कपूर्ण र कलात्मक बनाउने प्रयास गर्छन् । त्यति गर्दागर्दै पनि सम्पादन हुँदोरहेछ । भने, ‘कहिलेकाहीं सम्पादनका नाममा सम्पादन गर्दा आफूले जहाँ जोड दिएर भन्न खोजेको हो, त्यही हटाइदिँदा लेख अपुरोजस्तै बन्न पुग्छ । जोड दिएर भन्न खोजेकै कुरा काटिँदा हिँड्दाहिँड्दै पाइन्ट च्यातिएजस्तो हुन्छ । कहिलेकाहीं एउटा अंश नै फालिदिन्छन् । फालिएको अंश राख्दा प्रभावकारी हुने भए पनि हटाउँदा प्रभाव घट्न सक्छ । तथ्य र तर्क कमजोर बन्न पुग्छ ।’ 


२५ वर्षे लेखन अवधिमा राजेन्द्र महर्जनले लेखेका दुई आलेख प्रकाशित भएनन् । कहिलेकाहीं सम्पादक समूहको आपत्ति रहँदा प्रकाशित हुँदैन, त्यतिबेला त्यही विषयलाई घुमाउरोपाराले लेख्नुपर्ने अवस्था आएको थियो । उनले लेखेको आलेखमा भन्न खोजेको कुरा पुगेन भनेर अहिलेसम्म सम्पादकले थपेका छैनन् । बरु कहिलेकाहीं जे पठायो, त्यही छापिदिएका छन् । जे पठाए पनि प्रकाशित गर्दा लेखकलाई अल्छे बनाउँछ । 


पाठकले स्तम्भलेखकसँग दुई/तीन कुरा अपेक्षा गरेको उनले ‘नोटिस’ गरेका छन् । कुनै पनि नौलो विषयमा चर्चा चलिरहेको छ भने त्यसबारे विचार/विमर्श आओस् भन्ने पाठकले चाहेका हुन्छन् । लेखकले त्यसलाई कसरी हेरिरहेका छन्, त्यसको गहिराइमा पुगेर विचारसहित पाठकले  नौलो कुरा पढ्न चाहन्छन् । 


भारतीय प्रधानमन्त्री मोदीलाई उदाहरण लिन सकिन्छ । पाठकले पत्रपत्रिका तथा अनलाइनमा प्रकाशित समाचार पढेर मोदीबारे जानकारी लिन्छन् । त्यस्तो अवस्थामा लेखकले मोदीको इतिहास, उनले गरेका राम्रा नराम्रा कामबारे सांगोपांगो लेख्दा आलेख बलशाली हुन्छ । लेख बलशाली हुनु भनेको पाठक लाभान्वित हुनु हो । मोदीको प्रशंसा, आलोचनाका नाममा गालीगलोज वा शब्दको चमत्कार गरियो भने आलेख बलशाली बन्दैन । पाठकले समेत रुचाउँदैनन् । 


सम्पादक/प्रकाशकसँगको सहमतिमा स्तम्भलेखकको पारिश्रमिक तोकिन्छ । उनीहरूले त्यसमै चित्त बुझाएका छन् । लेखकको लेखन प्रभावशाली छ भने त्यसका आधारमा उसले ‘बार्गेनिङ’ गर्न सक्नुपर्छ । ‘बार्गेनिङ’ गरेका आधारमा स्तम्भलेखकको पारिश्रमिक तोकिएको हुन्छ । धेरै ‘बार्गेन’ गरेर स्तम्भलेखन भएको आफूलाई त्यति थाहा नभएको राजेन्द्र महर्जनले बताए । 


स्तम्भलेखकको क्लब बनाउने भनेर मकवानुपरको दामनमा ठूलै भेला भयो । ०६२ सालको सो भेलामा ‘तपाईंहरूले जति बार्गेनिङ गर्न सक्नुहुन्छ, त्यसका आधारमा तपाईंको पारिश्रमिक तोकिन्छ’ भनेर एक सम्पादकले भनेको महर्जनले सुनाए । 


स्तम्भलेखकको हक/हितका लागि क्लब गठन गर्ने भनिए पनि भेलामै सीमित रह्यो । आफ्नै पेसाबारे अन्तक्र्रिया गर्नु त छँदै छ, कहिलेकाहीं गम्भीर विषयमा बोल्नुपर्दा संगठित रूपमा आवाज बुलन्द पार्न क्लब भए सजिलो हुने थियो । 


विदेशी स्तम्भलेखकले महिनामा एउटा आलेख लेखेर घरबार चलाएका छन् । स्तम्भलेखकलाई अरू पत्रिकामा लेख्न नदिई आफ्नैमा बाँधिएर राखिएको हुन्छ । अन्यमा लेख्न नदिँदासमेत सम्बन्धित लेखकलाई ‘पे’ गरिन्छ । लेखेबापत पाउने त छँदै छ । नेपालमा त्यस्तो अभ्यास छैन । लेखकलाई कसरी बचाउने भनेर सम्बन्धित सञ्चारमाध्यमका सम्पादक÷प्रकाशकको ध्यान पुगेको छैन । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप