शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्वर्गीय ठकुरी काँग्रेसको सच्चा सिपाहीः सभापति देउवा

बुधबार, १२ वैशाख २०७५, १५ : ०२
बुधबार, १२ वैशाख २०७५

काठमाडौँ– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस नेता चक्रबहादुर ठकुरी पार्टीको सच्चा सिपाही भएको बताएका छन् ।  चक्रबहादुर ठकुरी फाउण्डेशनले स्वर्गीय चक्रबहादुर ठकुरीको तेस्रो स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले ठकुरीको निधनले काँग्रेसलाई ठूलो घाटा पुगेको बताए । “पार्टी संगठन निर्माणमा स्वर्गीय ठकुरीको महत्वपूर्ण योगदान रहेको छ,”– उनले भने । 

स्वर्गीय ठकुरीले देखेको सपना पूरा गरेमात्र उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने सभापति देउवाको भनाइ थियो । उनले मुलुकको विकास र समाजसेवाको क्षेत्रमा स्वर्गीय ठकुरीले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । 

सो अवसरमा नेपाली काँग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले नेपालको लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय ठकुरीले पुर्याएको योगदान अतुलनीय रहेको बताइन् । 

नेकपा (एमाले) काठमाडौँ क्षेत्र नं ३ का सांसद कृष्णकुमार राईले स्वर्गीय ठकुरीसँग विपक्षी दलका व्यक्तिलाई समावेश गरेर अगाडि बढ्ने क्षमता भएको बताए । “स्वर्गीय ठकुरीको निधनले काठमाडौँ क्षेत्र नं ३ को विकासलाई समेत समस्या पारेको छ,”– उनले भने । 

फाउण्डेशनका अध्यक्ष गजेन्द्र महर्जनले स्वर्गीय ठकुरीको नाममा सामाजिक काम गर्ने उद्देश्यले गत वर्षदेखि फाउण्डेशनको स्थापना गरेर सामाजिक काम गर्दै आइरहेको जानकारी दिए । 

वि.सं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पमा रसुवा जिल्लाको केरुङ नाकानजिक ढिस्कोले पुरिएर उनको निधन भएको थियो । ठकुरी वि.सं २०६४ मा काठमाडौँ क्षेत्र नं ३ बाट काँग्रेसको तर्फबाट निर्वाचित सांसद हुन् भने विसं २०७० को निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप