शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आपराधिक मुद्दा खेपिरहेका चर्चित भारतीय बाबाहरू : बाहिर राम राम, बगलीमा छुरा

बिहीबार, १३ वैशाख २०७५, ११ : ३४
बिहीबार, १३ वैशाख २०७५

स्वघोषित भगवान आशाराम बापुलाई भारतको जोधपुरमा रहेको विशेष अदालतले बालिका बलात्कारको मुद्दामा आजीवन काराबास सजाय दियो । उनका समर्थकहरूले हिंसा मच्चाउने डरमा उनको अदालती सुनुवाइ उनी थुनिएको जोधपुरको केन्द्रीय जेलमै राखिएको थियो ।

सन् १९७० सम्म टाँगा चलाउने आसारामले धार्मिक क्षेत्रमा आएपछि निक्कै छिट्टै नै निक्कै सफलता हासिल गरे । उनको हाल भारतभरी आफ्ना ४०० वटा आश्रमहरू रहेका छन् । उनका शिष्यहरू भारतका अतिरिक्त विदेशमा पनि रहेका छन् ।

आसाराम सन् २०१३ अगस्टदेखि जेलमा छन् । उनलाई आफ्नो आश्रमकी  एक १६ वर्षीया किशोरीले बलात्कार गरेको आरोप लगाएकी थिइन् । उत्तर प्रदेशकी ती युवती उनको आश्रममा विद्यार्थीका रूपमा बसिरहेकी थिइन् । आसारामलाई ‘प्रोटेक्सन अफ चिल्ड्रेन अफ सेक्सुअल अफेन्स (पोक्सो)’ ऐन र ‘सेक्लुडेड कास्ट र ट्राइब (प्रिभेन्सन अफ एट्रोसिटी)’ ऐनअन्तर्गत सजाय दिइएको छ ।

यो मुद्दाको अतिरिक्त उनलाई गुजरातमा पनि अलग बलात्कारको मुद्दा परेको छ । सुरतका दुई दिदीबहिनीले उनी र उनको छोराले उनीहरूलाई अलग अलग बलात्कार गरेको मुद्दा दायर गरेका छन् । ती दिदीबहिनीहरूले आफूहरूलाई बलात्कार गर्नका लागि उनीहरूले जबरजस्ती आश्रममा बन्दी बनाएको पनि आरोप लगाएका छन् ।

आसाराम बापु अपराधमा घटनामा पक्राउ परेका वा सजाय भोगेका एक मात्र धार्मिक नेता होइनन् । पछिल्लो समय भारतका कैयांै धार्मिक नेताका अपराध बाहिर आएको छ र कानुनी कारबाही भोगिरहेका छन् । यहाँ हामीले आपराधिक आरोप खेपिरहेका वा सजाय भोगिरहेका भारतका केही चर्चित धार्मिक नेताहरूको चर्चा गरेका छौं ।

नारायण साई 

नारायण साई आसाराम बापुका छोरा हुन् । उनी आफ्ना बाबुलाई उनको आश्रममा सघाउँथे । यसका साथसाथै आफ्नो बाबुको सम्पत्ति र कारोबार हेर्ने गर्थे । गुजरात प्रहरीका अनुसार नारायण ५० अर्ब भारुको

कारोबार गर्ने गर्दथे । उनलाई सन् २०१३ मा सुरतकी एक महिलाले सन् २००२ देखि २००५ बीचमा आफूलाई बलात्कार गरेको आरोप लगाइन् । पीडितकी दिदीले पनि आसाराम बापुलाई यस्तै आरोप लगाएकी छिन् । 

हाल उनी मुद्दाको अदालती कारबाहीका लागि हिरासत राखिएका छन् ।

गुरमित राम रहिम सिंह

गुरमित राम रहिम सिंह ‘देरा सचा सउदा’ नामक धार्मिक सम्प्रदायका प्रमुख थिए । यसका अतिरिक्त उनले आफूलाई केन्द्रित बनाएर विभिन्न फिल्महरू पनि बनाएका छन्, जसमा उनको आफ्नै लेखन, लगानी , सङ्गीत हुने गर्छ । फिल्म समीक्षकका अनुसार अत्यन्त निम्न कोटीका उनका फिल्म खासमा उनको सम्प्रदायको प्रोपोगेन्डा बढी होइन ।

गुरमित राम रहिम सिंहलाई जबरजस्ती आफ्ना चार सय चेलाहरूको परिवार नियोजन गरेको र दुई महिलाहरूलाई बलात्कार गरेको मुद्दा रहेको छ । यसका साथै उनीमाथि आफ्नो सम्प्रदायका एक सदस्य रन्जित सिंह र पत्रकार राम चदर छत्रपतिलाई मारेको आरोप रहेको छ ।

सन् २०१७ अगस्टमा उनलाई बलात्कार आरोपमा जेल सजाय फैसला गरियो । उनलाई यो सजाय सीबीआई अदालतले दिएको थियो । उनलाई सजाय दिएपछि भएको हिंसामा ३० जनाभन्दा बढी उनको सम्प्रदायका सदस्यहरू मरेका थिए भने सयौंको सङ्ख्यामा घाइते भएका थिए । उनी हाल बलात्कारका लागि २० वर्षको जेल सजाय भोगिरहेका छन् ।

स्वामी नित्यानन्द 

स्वामी नित्यानन्द ‘नित्यानन्द ध्यानापितम’का संस्थापक हुन् । उनका शिष्यहरू भारत र विदेशमा पनि रहेका छन् ।

उनी अमेरिकाका विभिन्न ठाउँमा हिन्दु धर्मसँगसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरिरहन्छन् । यसका अतिरिक्त उनी योग पनि अभ्यास गर्छन् । उनले योगसँग जोडिएको दुईवटा गिनिज वल्र्ड रेकर्ड बनाएका छन् । 

उनीलाई पनि यौन शोषणको आरोप रहेको छ । उनीमाथि सन् २००९ देखि नै यो मुद्दा चलिरहेको छ । उनको आफ्नै शिष्या आरथी रावले नित्यनान्दले आफूलाई कैयांै पटक बलात्कार गरेको आरोप लगाएर मुद्दा हालेकी छिन् ।

राधे मा

पन्जाबमा जन्मिएकी राधे माका शिष्यहरूका अनुसार उनलाई सानैदेखि दैवीशक्ति आएको थियो जुन दाबी उनका गाउँलेहरूले भने अस्वीकार गर्दै आएका छन् ।

१७ वर्षको उमेरमा बिहे भएको राधे मा आफ्नो घरको कमजोर आर्थिक अवस्थाका कारण सिलाई बुनाइ गर्थिन् । केही समयपछि उनका श्रीमान कामका लागि खाडी मुलुक गए । त्यसपछि उनको जीवनले फरक मोड लियो । उनी स्थानीय परमहंश देरासँग जोडिइन् । 

त्यसमा उनी सत्सङ्ग गर्थिन र छिट्टै त्यसमा चर्चा पाउन थालिन् । त्यसपछि उनले आफूलाई दुर्गाको पुनर्जन्म भनेर प्रचार गर्न थालिन् । 

उनी आफ्ना भक्तहरूसँग नाच्ने र तिनलाई बोक्न दिने जस्ता अनौठो तरिकाले पूजा विधि गर्ने गरेर चर्चामा थिइन् । उनको भक्त रहेका व्यापारी सञ्जीव गुप्ताले उनको ठूलो पोस्टर बनाएर मुम्बई सहरको ठाउँठाउँमा राखेपछि उनको चर्चा झनै ब्यापक भएको थियो ।

सन् २०१५ मा निक्की गुप्ता नाम गरेकी एक महिलाले राधे मामाथि उनको श्रीमान र उनको सासू र ससुरालाई दाइजोका लागि उकासेको आरोप लगाउँदै मुद्दा हालिन् । यसका साथै धेरै कलाकारहरूले राधे मालाई वेश्यावृत्ति धन्दा चलाइरहेको आरोप लगाएका छन् ।

विक्रम चौधरी

विक्रम चौधरी भारतीय योगा शिक्षक हुन् । उनी अमेरिकामा रहेको विक्रम योगाका संस्थापक हुन् । ७४ वर्षीया विक्रम चौधरीलाई धेरैवटा बलात्कारको आरोप लागेको छ । उनकी पूर्वअधिवक्ता मिनाक्सी जफा–बोढेनले उनीमाथि बलात्कारको आरोप लगाएकी थिइन् । यसका लागि अदालतले उनलाई ६८ लाख अमेरिकी डलर हर्जना स्वरूप तिर्न आदेश दिएको थियो ।

उनीमाथि धेरैवटा यौनहिंसा र यौनिक अल्पसङ्ख्यकविरुद्ध विभेदको आरोप लागेपछि अमेरिकी अदालतले उनको विक्रम योगालाई नै उनकी पूर्वअधिवक्ता मिनाक्सी जफ–बोडेनको स्वामित्व हुने गरी हस्तान्तरण गराइदिएको थियो । त्यसपछि उनी अमेरिका छाडेर हाल भारतमा बसिरहेका छन् ।

स्वामी प्रेमानन्द 

खास नाम प्रेमकुमार रहेको स्वामी प्रेमानन्द श्रीलङ्काबाट भारत आएका थिए । उनले तिरुचिरापालीमा आश्रम खोलेका थिए । स्वामी प्रेमानन्दलाई तेह्र महिलाले बलात्कारको आरोप लगाए । जुन आरोप उनले अस्वीकार गरे तर पछि मेडिकल जाँचबाट यी आरोप प्रमाणित भए । सन् १९९७ मा उनलाई बलात्कार र एक हत्याको आरोपमा दोब्बर जन्म कैदको सजाय दिइयो । उनी जेलमा सजाय भोगिरहँदा सन् २०११ कलेजो बिग्रिएर मरे ।

शिव मूर्त द्विवेदी वा सन्त स्वामी भिमानन्द जी महाराज चित्रकुटवाले

उनी इच्छाधारी बाबाका रूपमा परिचित छन् । उनी दक्षिण दिल्लीमा यौनधन्दा चलाएको आरोपमा सन् २०१७ मा समातिए ।

सन्त रामपाल जी महाराज

सन्त रामपाल जी महाराज कविरपन्थी साधु हुन् । उनी ब्रह्मा, विष्णु र महेश्वरभन्दा पनि सर्वोच्च देवताका रूपमा कविरलाई मान्छन् । 

पूर्वइन्जिनियर रहेका रामपालले सन् २००६ मा अर्को धार्मिक सम्प्रदाय आर्य समाजको विरोध गरेका थिए । त्यसले गर्दा उनको र आर्य समाजका भक्तालुहरूबीचमा भिडन्त भयो । यसमा एक आर्य समाजका भक्त मारिए । यो क्रममा उनले आर्य समाजीहरू बस्ने गाउँमा आगो लगाउन उक्साएको पनि आरोप रहेको छ । यो मुद्दामा उनलाई पक्राउ गरेर सन् २००८ धरौटीमा मुक्त गरियो । यही मुद्दासँग जोडिएर पटक पटक बोलाउँदा पनि अदालतमा उपस्थित नभएपछि नोभेम्बर २०१४ मा अदालतले उनको नाममा पक्राउ पुर्जी जारी ग¥यो । 

यो आदेशको पालना गर्न गएका पुलिसहरूले रामपालको सत लोक नामक आश्रमको गेटमा ठूलो सङ्ख्यामा उपस्थित उनका भक्तालुको सामना गर्नु प¥यो । प्रहरीका अनुसार त्यहाँ उपस्थित भएका अधिकांश मानिसहरू आश्रमका आश्रमका कर्मचारीहरूले जबरजस्ती ल्याइएका थिए ।

यो समयमा भएको भिडन्तमा कम्तीमा छ जना भक्तहरूको मृत्यु भएको थियो । प्रहरीले आश्रम कब्जा गरेपछि त्यहाँबाट ठूलो मात्रामा हातहतियार बरामद गरेको थियो ।

अहिले रामपाल पनि आफ्नो मुद्दाको सुनुवाइका लागि जेलमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप