मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अधिकांश बैङ्कले नाफा बढाए पनि प्रतिसेयर आम्दानीमा गिरावट, कसको कति छ ?

बिहीबार, १३ वैशाख २०७५, १३ : ००
बिहीबार, १३ वैशाख २०७५

चालु आर्थिक वर्ष (२०७४/७५) को तेस्रो त्रैमास सकिएसँगै बैङ्क तथा वित्तीय संस्थाले वित्तीय विवरणहरू धमाधम सार्वजनिक गरिरहेका छन् । यसैबीचमा हामीले  २८ वटा वाणिज्य बैङ्कमध्ये हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका १५ बैङ्ककोे विवरणलाई केलाउने प्रयास गरेको छौं । बैंकिङ प्रणालीमा  लगानीयोग्य रकमको चरम अभाव चुलिँदा ऋण लगानी गर्ने पैसासमेत नभएको अवस्थामा बैङ्कहरुको नाफा खुम्चने कतिपयको अनुमान थियो । तर वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश बैङ्कले  नाफा बढेको देखिएको छ ।  यता लगानीकर्ताको मुख्य चासोको सूचक प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ । 

१४ बैङ्कको प्रतिसेयर आम्दानीमा गिरावट, सेञ्चुरीले बढायो 

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा प्राइम बैङ्कबाहेक सबै बैङ्कको प्रतिसेयर आम्दानीमा गिरावट आएको छ ।  प्राइम बैङ्कको प्रतिसेयर आम्दानी भने बढेको छ ।  गत  आवको तेस्रो त्रैमासमा २०.३२ रुपियाँ प्रतिसेयर आम्दानी रहेको प्राइमको यो त्रैमासमा बढेर २०.८९ रुपियाँ  पुगेको छ । एभरेष्ट बैङ्कको प्रतिसेयर आम्दानी भने सबैभन्दा बढी घटेको छ । गत वर्ष ४४.९५ रुपियाँ प्रतिसेयर आम्दानी रहेको एभरेष्टको चालु आवको तेस्रो त्रैमासमा घटेर २९.९६ रुपियाँ पुगेको हो । 

कुनै पनि कम्पनीमा लगानी गर्ने लगानीकर्ताले सम्बन्धित कम्पनीको प्रतिसेयर आम्दानीलाई  महत्व दिएर हेर्ने गर्छन् । कम्पनीले लगानीकर्तालाई उच्च प्रतिफल दिन प्रतिसेयर आम्दानी पनि उच्च नै हुनुपर्छ । यसकारण पनि लगानी गर्दा जोसुकैले जान्नुपर्ने सूचक प्रतिसेयर आम्दानी हो ।  

अर्बपति क्लबमा  ११ बैङ्क, सबैभन्दा बढी नाफा बढाउनेमा सेञ्चुरी 

वित्तीय विवरण सार्वजनिक गरेका १५ वाणिज्य बैङ्कमा ११ वटा बैङ्कको नाफा  एक अर्बभन्दा माथि  पुगेको छ ।  इन्भेष्टमेन्ट बैङ्क र नेपाल बैङ्कको नाफा भने २ अर्ब रुपियाँ माथि छ । सिटिजन्स बैङ्क, एभरेष्ट बैङ्क, सिद्धार्थ, सानिमा, ग्लोबल आईएमई, हिमालयन, प्राइम बैङ्क, एसबीआई र स्टान्र्डड चार्टडको नाफा एक अर्बभन्दा माथि पुगेको हो ।  ग्लोबल आईएमईको नाफा १ अर्ब बढी भए पनि गत वर्षको यसै अवधिको तुलनामा भने नाफा २.१२ प्रतिशतले घटेको हो । ग्लोबल आईएमईले गत वर्ष १ अर्ब ४७ करोड नाफा गरेको थियो भने चालु आवको तेस्रो त्रैमासमा २.१२ प्रतिशतले नाफा घटेर १ अर्ब ४४ करोड रुपियाँमा झरेको हो ।  यता सेञ्चुरी बैङ्कको नाफा अर्बमाथि नभए पनि गत वर्षको तुलनामा सबैभन्दा बढी नाफा कमाउनेमा देखिएको छ । गत वर्ष ३१ करोड रुपियाँ नाफा गरेको सेञ्चुरीले चालु आवको तेस्रो त्रैमासमा १०२.६३ प्रतिशतले नाफा बढाएर ६३ करोड पुर्याएको छ ।  सनराइज, लक्ष्मी बैङ्कको पनि नाफा बढेको छ । तर, यी बैङ्कको नाफा अर्ब भन्दा तल रहेको छ ।  एनआईसी  एसिया बैङ्कको नाफा भने १८.५१ प्रतिशतले घटेको छ ।  

६ वटा बैङ्कको खराब कर्जा बढ्यो, नेपाल बैङ्कको सबैभन्दा बढी,  ९ बैङ्कले घटाए 

चालु आवको तेस्रो त्रैमासमा १५ बैङ्कमध्ये नेपाल बैङ्कको सबैभन्दा बढी खराब कर्जा देखिएको छ ।  बैङ्कको खराब कर्जा २.९१ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २.८५ प्रतिशत खराब कर्जा थियो ।  यता सानिमा बैङ्क (०.१७%), हिमालयन बैङ्क (१.१९%), सेञ्चुरी बैङ्क (०.७६%), एसबीआई बैङ्क (०.१३%) र इन्भेष्टमेन्ट बैङ्कको (०.७६%) खराब कर्जा बढेको छ ।  एनआईसी एसिया, सिटिजन्स बैङ्क, एभरेष्ट, सिद्धार्थ, ग्लोबल  आईएमई, सनराइज, लक्ष्मी, प्राइम र स्टान्डर्ड चाटर्ड बैङ्कको खराब कर्जा घटेको छ । 

बैङ्कले निश्चित समयका लागि भनेर दिएको कर्जा समयमै उठाउन सकेन भने त्यस्तो कर्जालाई खराब कर्जा (नन परफर्मिङ लोन–एनपीएल) भनिन्छ । कुनै पनि बैङ्कमा ५ प्रतिशतभन्दा बढी खराब कर्जा रहेमा त्यस्तो बैङ्कलाई जोखिमयुक्त मानिन्छ । 

चुक्ता पुँजी ८ अर्ब पुग्यो 

वित्तीय विवरण सार्वजनिक गरेका १५ वटै बैङ्कले नेपाल राष्ट्र बैङ्कले तोकेको न्यूनतम चुक्तापुँजी पुर्याएका छन् ।  नेपाल राष्ट्र बैङ्कले २०७४ असार मासन्तसम्ममा   ८ अर्ब  रुपियाँ पुर्याउन निर्देशन दिए पनि धेरैजसो बैङ्कले चुक्ता पुँजी पुर्याउन सकेनन् । निर्धारित समयमा पुँजी पुर्याउन नसकेपछि राष्ट्र बैङ्कले लचकता अपनाउँदै  वार्षिक साधारण सभा हुने समय (पुस) सम्म  पुँजी पुर्याउने आधारसहितको लेखापरीक्षण देखाउँदा मिल्ने बनायो । सो समयमा पनि पुँजी पुर्याउन नसकेका बैङ्कहरुले तेस्रो त्रैमासमा भने ८ अर्ब रुपियाँ पुर्याएका छन् ।  बैङ्कहरुले पुँजी वृद्धिका लागि मर्जर, एक्विजिसन, हकप्रद सेयर र बोनस सेयरको साहारा लिएका थिए ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप