शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निर्दोष व्यक्ति जेल परेको १३ दिनपछि रिहा

बिहीबार, १३ वैशाख २०७५, १४ : १०
बिहीबार, १३ वैशाख २०७५

काँकडभिट्टा– झापा जिल्ला अदालतले फरार अभियुक्तसँग नाम थर मिलेका कारण अनाहकमा १३ दिन कैद बस्नुपरेका मेचीनगर–६ का ३५ वर्षीय श्याम थापालाई रिहा गरेको छ । 

झापा जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको आदेशमा थापालाई निर्दोष सावित गर्दै बुधबार चन्द्रगढी कारागारबाट मुक्त गरिएको हो । घटना विवरणअनुसार २०६४ जेठ २२ गते झापा जिल्लाको साविक टाघनडुब्बा वडा नं २ का गुलाम रसुल मियाँ मौलबीको घरबाट ठूलो परिमाणको रक्त चन्दनको काठ प्रहरीले बरामद गरेको थियो । 

सो काठ लुकाएको अभियोगमा मेचीनगर–१० काँकडभिट्टाका अर्कै श्याम थापा नाम गरेका व्यक्तिलाई झापा जिल्ला अदालतले रु २६ लाख ९९ हजार २०० जरिवाना र छ महिना कैद सजाय हुने ठहर गरेको थियो । 

तर फरार अभियुक्तको खोजी गर्ने सिलसिलामा प्रहरीले घटना भएका बेला वैदेशिक रोजगारीमा कतारमा रहेका निर्दोष श्याम थापालाई गत चैत ३० गते पक्राउ गरेर कारागारमा कैद गरेको थियो । 

निर्दोष श्याम थापाले परराष्ट्र मन्त्रालयबाट आफू घटना भएका बेला कतारमा रहेको प्रमाण निकालेर अदालतमा पेश गरेपछि मात्र उनलाई झापा जिल्ला अदालतले बुधबार निर्दोष सावित गर्दै रिहा गरेको हो । 

अदालतको फैसला कार्यान्वयन गराउने नाममा फरार अभियुक्तसँग नाम मिलेकै आधारमा बिना प्रमाण सर्वसाधारणलाई प्रशासन र अदालतले जेल हालेर दुःख दिने कार्य हुनु लोकतन्त्रको उपहास भएको भन्दै झापा क्षेत्र नं १ का प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीले आपत्ति जनाएका छन् । 

निर्दोष अवस्थामा जेल बस्नुपरेका पीडितलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने स्थानीय सामाजिक कार्यकर्ता राजु दाहालको धारणा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप