बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रविधिको पहुँच दूरदराजसम्म पुर्याइनुपर्छः सञ्चार राज्यमन्त्री

बिहीबार, १३ वैशाख २०७५, १७ : ००
बिहीबार, १३ वैशाख २०७५

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना तथा सञ्चार प्रविधिको पहुँच देशका ग्रामीण भेगका दूरदराजसम्म पुर्याइनुपर्ने बताएका छन् ।      ‘इन्टरनेशनल गल्र्स इन आइसिटी डे’ को अवसरमा सञ्चार तथ सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले सूचना प्रविधिको पहुँच शहर र सुविधायुक्त क्षेत्रमा मात्र केन्द्रित रहेको भन्दै यसलाई गाउँका कुना कुनासम्म पुर्याउन प्रभावकारी कार्यायोजना अघि बढाइनुपर्ने खाँचो औँल्याए । 

राज्यमन्त्री बाँस्कोटाले सूचना प्रविधि मुलुकमा समृद्धि प्राप्त गर्ने महत्वपूर्ण आधार बन्ने उल्लेख गर्दै आधुनिक सूचना प्रविधिको कसरी अधिकतम उपयोगिता बढाउने भन्नेतर्फ ध्यान दिन सरोकार भएका निकायको ध्यानाकर्षण गराए । 

उनले भने, “मानव जीवनमा परिवर्तन ल्याउने महत्वपूर्ण आधार आइसिटीको सही सदुपयोग आजको आवश्यकता हो । अनुसन्धान, नवनिर्माण र मानव जीवनको उपयोगितामा प्रयोग गर्न सके यसले जनताको जीवनस्तर सुधार्न मद्दत पुग्छ तर, प्रविधिको दुरुपयोग भयो भने मुलुकलाई बर्बादीतर्फ लैजान सक्छ । त्यसैले सूचना प्रविधिको विकास र प्रयोगलाई सही ढंगले सदुपयोग गर्नुपर्छ ।” 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले सूचना प्रविधिको असाधारण अवसर दिनप्रतिदिन बढ्दै गइरहेको र यसमा महिलाको पहुँच वृद्धि गर्न सकिए राज्यलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले सूचना प्रविधिको प्रयोगबाट महिलाको सशक्तीकरण तथा सामाजिक संस्कारको विभेद न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने धारणा राखे । 

सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले राज्यको हरेक निकायमा महिलाको पहुँच वृद्धि गर्न सूचना प्रविधि सहयोगीसिद्ध हुने विश्वास व्यक्त गरे । 

नेपाल दूर सञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दप्रसाद खनालले प्रविधिमा महिलाको पहुँच अभिवृद्धि गर्ने गरी प्राधिकरणले नीतिगत कार्यक्रम ल्याउने बताए । 

सन् २०१० र २०१४ मा सम्पन्न आइटियु सम्मेलनको निर्णय अनुसार नेपालले सन् २०१३ देखि यो दिवस मनाउन थालेको हो । 

सो अवसरमा सूचना प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने तिमिला यमी थापा, गुणकेशरी प्रधान, रत्नतारा वैद्यलगायतलाई सम्मान गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप