शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

किन चितवन केन्द्रित छन् प्रचण्ड ?

आइतबार, १६ वैशाख २०७५, १६ : ००
आइतबार, १६ वैशाख २०७५

काठमाडौं– २०७४ मङ्सिर २८ मा नेपाल पत्रकार महासङ्घ चितवनले जिल्लाबाट निर्वाचित सांसदहरूका लागि शुभकामना दिने कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा चितवन–३ बाट निर्वाचित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भए र सबैका लागि आकर्षणका पात्र बने ।

आकर्षण यसकारण कि २ पटक प्रधानमन्त्री भइसकेका प्रचण्ड पहिलो पटक आफ्नो गृहजिल्लाबाट चुनाव लडेका थिए । निकै पेचिलो प्रतिस्पर्धामा उनले चुनाव जितेका थिए । त्यति मात्र होइन चितवनको विकास र पार्टी एकताबारे उनी के बोल्छन् भन्ने उत्सुकता सहभागीको थियो ।

प्रचण्डको मन्तव्य सुरु हँुदा सबैको ध्यान उनीप्रति थियो । मन्तव्यको सुरुमै प्रचण्डले भने– ‘मेरो जीवनमा पहिलो पटक निर्वाचन लडेजस्तो अनुभूति भयो । पहिलो संविधानसभा निर्वाचनको क्रममा रोल्पामा चुनाव लड्दा एक पटक मात्रै गएँ । काठमाडौंमा पनि खासै चुनावमा हिँडिनँ । दोस्रो पटकको निर्वाचनमा काठमाडौं र सिरहाको चुनाव प्रचारप्रसारमा पनि खासै जुटिनँ । तर यस पटक भने चुनावमा हुने सबैखाले तीतामिठा अनुभव गर्न पाएँ । जनतासँग नजिकबाट जनभावना बुझेजस्तो भयो ।’

चुनाव जितेलगत्तै प्रचण्डले दिएको यो अभिव्यक्ति अर्थपूर्ण र महत्वपूर्ण छ । प्रचण्डको यो अभिव्यक्ति र चुनावपछि चितवन केन्द्रित प्रचण्डको आवत–जावतबीच केही तारतम्यता देखिन्छ । निर्वाचनका बेला हरेक नेता अधिकतम समय आफ्नो निर्वाचन क्षेत्रमा खटिन्छन् । चुनाव जितेपछि कम जान्छन् । यो राजनीतिक संस्कारजस्तो मानिन्छ । त्यसैले मतदाताको पनि गुनासो आउँछ ।

आफ्नो राजनीति जीवनमा गृहजिल्लामा खास चासो नदिएका प्रचण्डले दोस्रो पटक प्रधानमन्त्री हुँदादेखि नै चितवनबाट चुनाव लड्ने ‘मूड’ बनाएका थिए । दोस्रो पटक प्रधानमन्त्री भएपछि प्रचण्डले चितवन आवत–जावत बाक्लो बनाए । चितवनमा विकासका लागि बजेट केन्द्रित गरे । यति हुँदाहुँदै पनि उनले चितवनमा एक्लै चुनाव जित्ने अवस्था बनिसकेको थिएन । अन्तिममा वामगठबन्धनको उम्मेदवार बनेर चुनाव लडे । काँग्रेसको समेत समर्थन पाएका विक्रम पाण्डेलाई कडा प्रतिस्पर्धाकैबीच हराए । प्रचण्डको अभिव्यक्ति ‘मेरो जीवनमा पहिलो पटक निर्वाचन लडेजस्तो अनुभूति भयो’ भन्नुको तात्पर्य पनि यही थियो ।


कडा प्रतिस्पर्धामा गृहजिल्लाबाट चुनाव जितेका प्रचण्डले निर्वाचन क्षेत्रतिर चाहिँ प्रर्याप्त ध्यान दिन थालिसकेका छन् । उनले अहिले साना–साना कार्यक्रममा पनि चितवन पुग्छन् । महिनामा पटक पकट चितवन गएका हुन्छन् । निर्वाचनको मत परिणाम घोषणाको झन्डै पाँच महिनामा प्रचण्ड २ दर्जनभन्दा बढी पटक चितवन पुगे ।

त्यसअघि २०७४ फागुन १२ मा प्रचण्ड गृहजिल्ला चितवन पुगेर दिएको सन्देशले पनि उनी भविष्यमा पनि पटक–पटक चितवन जाने कुराको संकेत गर्छ । त्यसदिन पत्नी सीतासहित उनी भरतपुर विमानस्थलमा मिडियासामु आएर भनेका थिए, ‘म एक–दुई दिन विराएर चितवन आउँछु । ठूलो मुद्दा नहुँदा पत्रकार सम्मेलन गर्न पर्दैन है ।’

 

प्रचण्डको चितवन आवत–जावत शृङ्खला
प्रचण्डको चितवन उपस्थितिको पछिल्लो कडीका रूपमा यही वैशाख महिनालाई लिऊँ ।

२०७५ वैशाख ११ गते प्रचण्ड चितवन पुगे । त्यो समय २ दिन त्यहाँ रहे ।

१२ गते प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको चितवनको विकास र समृद्धिबारे अन्तक्र्रियामा प्रचण्डले छिमेकी जिल्लालाई समेत समेटेर विकास योजना बनाउने बताए । नवलपुर, मकवानपुर, धादिङ र पर्साको ठोरी क्षेत्रलाई समेत समेटेर यहाँको विकास योजना बनाउने योजना सुनाए । यस क्षेत्रको प्राकृतिक स्रोत साधनलाई अधिकतम उपयोग गर्दै नमुना क्षेत्रका रूपमा विकास गर्नुपर्ने उनले बताए । त्यो दिन प्रचण्डले नेपाल नेत्रज्योति सङ्घको २५औं केन्द्रीय सभालाई सम्बोधन गरे । त्यही दिन उनी पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका–२१ पार्वतीपुरमा आयोजित ज्येष्ठ नागरिक सम्मान तथा स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटनमा पनि पुगे ।

त्यसअघि २०७५ वैशाख ५ गते उनी चितवन पुगे । पे्रस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाटमा पार्टी एकताबारे बोले ।

त्यसै दिन प्रचण्डले दुई विद्यार्थीको अभिभावकत्व ग्रहण गरे । भरतपुर महानगरपालिका–२८ मा रहेको साझापुर माध्यमिक विद्यालयमा स्थानीय राजकुमार मुसहरका नौ वर्षीय छोरा अरुण मुसहर र सुरज माझीका चार वर्ष छ महिनाका छोरा पत्रुस माझीलाई भर्ना गरी प्रचण्डले अभिभावकत्व ग्रहण गरेका थिए ।

२०७४ को अन्तिम दिन पनि प्रचण्ड चितवनमै थिए । प्रचण्ड चैत ३० गते बाँदरमुढे सहयोग समितिले माडीमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागी भए । प्रचण्डले ‘बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती’ भएको बताए । प्रचण्डले बाँदरमुढे पीडितको घाउमा मल्हमपट्टी लगाउने आफ्नो नैतिक र राजनीतिक जिम्मेवारी रहेको बताए ।

त्यस अगाडि चैत २९ मा प्रचण्ड चितवन पुगेका थिए । प्रचण्डका आफ्नै साला (सीता दाहालका भाइ) महाप्रसाद पौडेलको निधनको सातौँ दिनमा माओवादी केन्द्र भरतपुर महानगरपालिका–१४ नं. वडा कमिटीले श्रद्धाञ्जलिसभा आयोजना गरेको थियो । प्रचण्ड त्यहाँ सहभागी भए ।

त्यसै दिन प्रचण्डले पश्चिम चितवनको सुन्दरबस्तीस्थित आधारभूत विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गरे । सार्वजनिक विद्यालयको गुणस्तर सुधार गरेर ‘निजी विद्यालयलाई विस्तारै नियन्त्रण गर्नेतिर’ जाने प्रचण्डको भनाइ थियो ।

२०७४ चैत २५ मा पनि प्रचण्ड चितवन पुगे । भरतपुर अस्पतालको ५५औँ वार्षिकोत्सवमा चितवन पुगेका प्रचण्डले शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकाले सबैले समान ढङ्गबाट यो अधिकारको उपयोग गर्न पाउनुपर्ने बताए ।

त्यस अगाडि उनी २०७४ चैत  १९ मा चितवन पुगे । भरतपुर विमानस्थल पुगेर उनले ‘बराबरी सिद्धान्तका आधारमा पार्टी एकता’ हुने बताए ।

२०७४ चैत २० मा प्रचण्ड चितवनमै थिए । नेपालको पहिलो सहकारी संस्था बखान बहुउद्देश्यीय सहकारी संस्थाले शारदानगरमा आयोजना गरेको बखान राष्ट्रिय सहकारी सङ्ग्रहालयको शिलान्यास तथा ६१औँ राष्ट्रिय सहकारी दिवस कार्यक्रममा सहभागी भएका प्रचण्डले पत्रकारसँग राजनीतिक कुरा पनि गरे ।
त्यसअघि २०७४ फागुन १२ मा प्रचण्ड गृहजिल्ला चितवन पुगे । जबकि काठमाडौंमै ओली सरकारमा पठाउने मन्त्री छनौट मुख्य कार्यभार थियो । पत्नी सीतासहित उनी भरतपुर विमानस्थलमा मिडियासामु

आए । त्यसै दिन प्रचण्ड नारायणी विद्या मन्दिर माध्यमिक विद्यालयको ५४औं वार्षिकोत्सवका अवसरमा प्रमुख अतिथि बने । त्यो दिन उनी रत्ननगरस्थित श्रीकृष्ण प्रणामी मन्दिर ‘धर्मधाम’को स्वर्ण महोत्सव समारोहमा पुगेका प्रचण्डले ‘आर्थिक समृद्धिका लागि धार्मिक पर्यटनको विकास गर्नु जरुरी रहेको’ सुनाए ।

चैत १३ मा प्रचण्डले चितवन–३ को सांसद सम्पर्क कार्यालय उद्घाटन गरे । भरतपुर महानगरपालिका–९ स्थित हाकिमचोकमा कार्यलय उद्घाटन गर्दै प्रचण्डले जनताका गुनासो, विकास निर्माण र सुशासनसँग सम्बन्धित काम संस्थागत रूपमा अगाडि बढाइने बताएका थिए । यो कार्यालय जनसम्पर्क कार्यलय थियो ।

२०७४ फागुन ८ मा प्रचण्ड पुनः चितवन पुगे, जहाँ उनले आफ्नी छोरी रेणु दाहाललाई पनि सम्मान गरे । कार्यक्रम थियो– भरतपुर महानगरपालिका–२२ पदमपोखरीस्थित अमर माध्यमिक विद्यालयको वार्षिकोत्सव । प्रचण्डले  पूर्वविद्यार्थी तथा भरतपुर महानगरपालिकाकी मेयर रेणुलगायतका ६३ जनालाई सम्मानपत्र प्रदान गरेका थिए ।


फागुन १ मा ओलीसँग वान टू वान संवादमा जानुअगाडि प्रचण्ड दुईवटा कार्यक्रममा सहभागी भएका थिए । पहिलो, पार्टी मुख्यालयमा भएको जनयुद्ध दिवस र दोस्रो चितवनमा एक विद्यालयको वार्षिकोत्सवमा । प्रचण्ड छोटो समयका लागि हेलिकप्टरमा चितवन गएर फर्केका थिए । चितवनको कार्यक्रममा प्रचण्डले आफू ढिलोचाँडो प्रधानमन्त्री बन्ने बताएर नयाँ बहस अगाडि सारेका थिए ।
२०७४ माघ २७ गते चितवन पुगेका प्रचण्ड २ दिन त्यहाँ बसे । भरतपुरस्थित तीनखोले महाबौद्ध गुम्बाको उद्घाटन समारोहमा सहभागी भए ।

२८ गते प्रचण्डले परिवारका दुई सदस्य जोडिएका दुई भिन्दाभिन्दै कार्यक्रममा सहभागी भए । पहिलो कार्यक्रम थियो– चितवनको पटिहानीमा आयोजित प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता । नेपाल पुलिस क्लब र हरियाणा प्रहरी क्लबबीच भएको खेलको प्रचण्डले अवलोकन गरे । त्यसै दिन चितवनमै प्रचण्डले प्रकाश दाहालको स्मृतिमा आयोजित राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गरे ।

२०७४ माघ २१ गते प्रचण्ड चितवन झरे र अर्को दिन गलेश्वर आश्रम देवघाटले आयोजना गरेको धनधान्याञ्चल विराट् ज्ञान महायज्ञलाई सम्बोधन गरे ।
त्यसअघि २०७४ पुस २० गते सपरिवार चितवनको धार्मिक स्थल देवघाट पुगेका थिए । प्रचण्ड चितवन भरतपुर महानगरको परिषद् उद्घाटन गर्न गएका थिए । त्यही क्रममा उनले देवघाटका धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गरेका थिए ।

२०७४ पुस ७ गते प्रचण्ड चितवन क्षेत्र न. ३ बाट निर्वाचित भएपछि पहिलो पटक जिल्ला पुगेका उनी ३ दिन विताए । त्यही दिन बेलुका उनी पत्नी सीता दाहालसँगै नारायणी किनारमा इभिनिङ वाकमा देखिएका थिए । छोरा प्रकाशको अल्पायुमै आकस्मिक निधन भएपछि सबैभन्दा पीडामा रहेकी सीतालाई पीडा भुलाउने प्रयासमा प्रचण्ड त्यहाँ निस्केका थिए ।
उनी चितवनबाटै ८ गते भैरहवा पुगे र पुनः चितवन नै फर्किए । ९ गते  भरतपुर शुक्रनगरको प्रभात माविको ४७औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले पार्टी एकता हुँदैन कि भनेर कसैले सोचेको भए त्यो कल्पना मात्र हुने बताएका थिए । त्यही दिन चितवनका वाम बुद्धिजीवीहरूले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा पनि उनी सहभागी भए ।

मतदातालाई महत्व
विगतका २ वटा संविधानसभा निर्वाचनमा फरक फरक ठाउँबाट चुनाव जितेका प्रचण्ड निर्वाचन क्षेत्रमा कमै जान्थे । तर उनी अहिले प्रतिनिधिसभाको निर्वाचनमा चितवन –३ बाट निर्वाचित भएसँगै उनले मतदाता र आफ्नो क्षेत्रमा निकै ध्यान दिएका छन् । निर्वाचन क्षेत्र सम्बन्धी कर्यलय नै खोलेका छन् ।

जिल्ला केन्द्रित गतिविधिले एक खालको बहस सिर्जना भएको छ । पूर्णकालिन राजनीतिमा लागेका नेता, निर्वाचन परिणाम घोषणा पश्चात पुन अर्को निर्वाचनको तयारीमा लाग्ने गर्छन् भन्य मान्यता राजनीतिमा रहेको छ । चुनाव लगत्तै प्रचण्डका राजनीतिक गतिविधि, दौडधुप र अभिव्यक्तिले उनी पनि त्यहि मान्यतालाई आत्मसाथ गरेको हुन पनि सक्छन् ।  

अध्यक्ष प्रचण्ड निकटका नेताहरूको भनाई अनुसार प्रचण्डले प्रचण्डको चितवन उपस्थिति हेर्दा निर्वाचन पछि सवै भन्दा धेरै आफ्नो क्षेत्र पुग्ने प्रतिनिधिको रुपमा उनलाई लिन सकिन्छ ।
राष्ट्रिय राजनीतिमा महत्व राख्ने कार्यक्रम र बैठक सँगसँगै प्रचण्डले आफ्नो गृहजिल्ला र मतदातालाई उत्तिकै महत्व दिने गरेको चितवनमा उनी सहभागी कार्यक्रमको विवरणले देखाउँछ । पार्टी र सरकारको नेतृत्व गर्ने नेताले गृहजिल्लाका मतदातालाई चटक्कै बिर्सिने गरेको गुनासो जनताबाटै आउने गरेका छन् ।

सायद पछिल्लो समय आफ्नो चुनावी प्रचार प्रसारमा मसिनो गरी लागेका प्रचण्डले त्यो गुनासोलाई मेटने कोशिष गरेका हुन सक्छन् वा उनले अरू नेताहरूलाई सन्देश दिन खोजेका पनि हुन सक्छन् ।
‘गृहजिल्लाबाट मतदाताले निम्ता पठाएको साना ठूला दुवै कार्यक्रममा पुग्ने गर्नुभएको छ । राष्ट्रिय राजनीति सँगसँगै मतदातालाई पनि उत्तिकै महत्व दिनुभएको हो । चितवनको विकास र जनताका लागि सकारात्कमक कुरा हो’, माओवादी चितवन जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले रातोपाटीसँग भने, ‘दुई दुई पटक प्रधानमन्त्री भइसकेको व्यक्ति अहिले चितवनले पाएको छ । उहाँ“ प्रधानमन्त्री हँुदादेखि नै चितवनको विकासका लागि चिन्तित हुनुहुन्थ्यो । बजेट र विकासका योजना पनि पार्नुभएको छ । चुनाव जितेर गएका नेता फर्किंदैनन् भन्ने परिपाटीको उहा“ले गलत सावित पार्नुभएको छ ।’
उनले थपे, ‘चितवनमा माओवादीको सङ्गठन कमजोर थियो । त्यो लुकाउनुपर्ने म केही देख्दिनँ । उहा“ चितवन आएपछि सङ्गठन पनि बलियो हँुदै गएको छ । जनताले महसुस गर्नेगरी विकासका काम अघि बढाउने योजना छ । हामी त्यहीअनुसार अघि बढेका छौं । अध्यक्षलाई चितवन बढी आइदिनुप¥यो भनेर हामी आग्रह गर्छौं उहा“ले स्वीकार गर्नुभएको छ, यसमा चितवनका जनता खुुशी छन् ।’

विगतका निर्वाचन क्षेत्रहरूमा उनको उपस्थिति  
२०६४ र २०७० को निर्वाचनमा प्रचण्ड आफ्नो चुनाव प्रचारका लागि खासै हिँडेनन् । उनी आफ्ना लागि भन्दा पनि पार्टीका अन्य उमेदवारको चुनाव प्रचारमा धेरै जिल्ला पुगेका थिए । २०६४ को निर्वाचनमा रोल्पा र काठमाडांैबाट फराकिलो मतान्तरमा प्रचण्डले चुनाव जितेका थिए । चुनाव जितेपछि उनी आफ्ना निर्वाचन क्षेत्रमा फर्केर गएका समाचार कमै सुन्नमा आए । त्यतिवेला उनले सजिलै चुनाव जितेका थिए । २०७० को निर्वाचनमा काठमाडौं र सिरहाबाट उम्मेदवारी दिएका उनले सिरहाबाट निर्वाचन जितेका थिए । चुनाव प्रचारमा र जितेपछि पनि उनी सिरहा खासै गएनन् ।

प्रधानमन्त्री हुँदादेखि नै चुनावको तयारी
विगतमा अन्य जिल्लाबाट निर्वाचन जितेका प्रचण्डले यो पटक आफ्नो गृहजिल्ला चितवनबाट चुनाव लड्ने मनसाय दोस्रो पटक प्रधानमन्त्री हुँदादेखि नै बनाएका थिए । दोस्रो पटकको प्रधानमन्त्री कार्यकालमा उनले चितवनलाई बढी प्राथमितामा राखेको उनको उपस्थितिले देखिन्थ्यो । त्यतिबेला उनले एक कार्यक्रमा भनेका थिए– ‘चितवनका जनता, राजनीतिक पार्टीहरू सबैले मलाई चितवनबाटै चुनावमा उठ्न सुझाव दिनुभएको छ । चितवनसँग मेरो सबै खालको सम्बन्ध छ । म चितवनका विकासका लागि छिट्टै प्याकेज कार्यक्रम लिएर आउने छु । तर पार्टीले मलाई जहाँबाट उठाउँछ म त्यहीँबाट निर्वाचनमा उठ्छु ।’

 

उनले थपेका थिए, ‘आफ्नो कर्मथलो र राजनीतिक विकास चितवनमै भएको प्रधानमन्त्री हुनुको नाताले मसँग यहाँका जनता, राजनीतिक दलले केही अपेक्षा गर्नु स्वाभाविक हो । यसर्थ, मैले उहाँहरूको त्यो अपेक्षालाई केही न केही सम्बोधन गर्ने प्रयास गरेको छ ।’

दोस्रो प्रधानमन्त्री कार्यकालको समयमा विकास प्याकेज कार्यक्रम लिएर चितवन पुगेका उनले आफ्नो मनसाय त्यतिबेलै व्यक्त गरिसकेका थिए । प्रधानमन्त्री कार्यकाल र त्यसपछि पनि उनी चितवन केन्द्रित कार्यक्रमलाई बाक्लो बनाएका थिए ।

२०७४ मङ्सिर १० र २१ गते २ चरणमा सम्पन्न गर्नेगरी प्रतिनिधिसभा निर्वाचनको मिति तय भएपछि प्रचण्ड चितवन नै केन्द्रित थिए ।

पार्टीका उम्मेदवारको टुङ्गो लगाउने क्रममा उनलाई पार्टीले चितवन ३ बाट उम्मेदवारको रूपमा घोषणा गरेको थियो ।

विगतका निर्वाचनमा प्रचण्ड पार्टीका उम्मेदवारको चुनावी प्रचार प्रसार सभालाई सम्बोधन गर्न धेरै जिल्ला डौडधूप गर्ने गर्थे ।

एमाले र काङ्ग्रेसका शीर्ष नेतालाई चुनाव जति सहज थियो प्रचण्डलाई भने असहज देखिन्थ्यो । विगतको चुनावी अनुभव र नयाँ ठाउँबाट प्रतिस्पर्धा गर्नुपर्ने भएकाले उनका लागि चुनौतीपूर्ण परिस्थिति थियो । वाम गठबन्धनले चुनाव जित्न कठिन मानिएका केही जिल्लाहरूमा दुई शीर्षनेता केपी ओली र प्रचण्ड सम्बोधनका लागि पुगेका थिए ।

हेलिकप्टरमा एकै दिन ४÷५ जिल्लाका सभालाई सम्बोधन गरेका थिए । अहिले ७÷८ जिल्ला मात्र पुगेका प्रचण्ड मुख्य त आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित भए । त्यो बीचमा निर्वाचन अभियानमै रहिरहँदा युद्धकालदेखि कुसल रूपमा राजनीतिक, पारिवारिक व्यवस्थापन सम्हाल्दै आएका छोरा प्रकाश दाहालको निधनको पीडा प्रचण्डले सामना गर्नुप¥यो ।

लगातार त्यहीँबाट निर्वाचन जित्दै आएका विक्रम पाण्डे प्रचण्डका लागि निकै चुनौतीका रूपमा देखिएका थिए । क्षेत्र नं. ३ बाट निर्वाचित भएका प्रचण्डले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेलाई ९ हजार ३ सय २७ मन्तारले पराजित गरेका थिए । प्रचण्डले ४८ हजार २ सय ६९ मत ल्याएका थिए भने विक्रम पाण्डेले ३८ हजार ९ सय ४२ मत ल्याएका थिए । चुनावको परिणाम घोषणापश्चात प्रचण्ड पुनः मङ्सिर २६ र २७ गते मतदातालाई धन्यवाद दिन घरदैलो अभियान सञ्चालन गरेका थिए ।

त्योसँगै स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतपरिणाम विवाद सेलाइसकेको थिएन । एमाले माओवादी गठबन्धनबाट उम्मेदवार बनेका प्रचण्डलाई त्यतिबेला एमालेबाट हुन सक्ने अन्तर्घातको चर्चा पनि उत्तिकै थियो ।

पहिलो पटक गृहजिल्लाबाट उम्मेदवारी दिएका प्रचण्डले परिणाम आफ्नो पक्षमा पार्न निकै मेहनत गर्नुपरेको उनका पूर्वस्वकीय सचिव विकेश श्रेष्ठ स्वीकार्छन् । ‘प्रचण्डले मिहिनेत नगरेको भए परिणाम राम्रो नहुन पनि सक्थ्यो । आफ्नो गृहजिल्ला समेत भएको हुँदा एक हिसाबले जसरी खट्नु भयो, नजिकबाट जनतालाई चिन्ने मौका र खास समस्या के छन्, ती बुझ्ने मौका मिल्यो’ उनले भने ।

के चाहन्छन् प्रचण्ड ?
तेस्रो दल भए पनि, राष्ट्रिय राजनीतिमा निर्णायक तहमा रहेको प्रचण्ड पछिल्लो समय धेरै आफ्नो निर्वाचन क्षेत्र केन्द्रित हुनुको अर्थ के हुनसक्छ ? प्रचण्ड जति पटक चितवन पुगे, त्योभन्दा निकै कम ओली झापा र देउवा डडेल्धुरा गएका छन् ।
तर अहिले प्रचण्डलाई चुनावमा जति मिहिनेत गर्नुप¥यो अर्को निर्वाचनमा सहज बनाउनलाई पनि उनी चितवन केन्द्रित भएका हुन पनि सक्छन् । भौगोलिक बसोवासका रूपमा हेर्दा ७५ वटै जिल्लाका मानिसहरू त्यहाँका बासिन्दा छन् ।


सबै पार्टीका लागि ती उम्मेदवार स्वीकार्य नहुन पनि सक्छ । अहिलेदेखि नै भेटघाटलाई बाक्लो बनाई जनमत आफ्नो पक्षमा बनाइराख्ने योजना प्रचण्डको हुनसक्छ वा उनी अरू नेताभन्दा फरक देखिन पनि हुन सक्छ ।
तर पछिल्लो समय चितवन आवतजावत हेर्दा प्रचण्ड अर्को निर्वाचनको तयारीमा लागेको पनि चर्चा हुन थालेको छ । उनको यो उपस्थितिलाई केहीले सकारात्मक रूपमा लिएका छन् भने केही व्यक्तिले नकारात्मक टिप्पणी गर्ने गरेका छन् ।

प्रचण्डका पूर्वस्वकीय सचिव विकेश श्रेष्ठ भन्छन्, ‘निर्वाचनपछि प्रचण्डका चितवन आवतजावत हेर्दा अर्को निर्वाचनलाई सहज बनाउन खोजेको पनि हुन सक्छ र अर्को कुरा छोरी महानगरपालिकाको मेयर भएकी हँुदा उनलाई हौसला बढाउन पनि प्रचण्ड चितवन केन्द्रित हुनुभएको होला ।’

काँग्रेसको मत छ
चितवनमा प्रचण्डसँग काँग्रेस रुष्ट देखिन्छ । स्थानीय तहको निर्वाचनको बेला काँग्रेसको सहयोगमा छोरी रेणुले चुनाव जितिनन् । रेणुको जित निकै विवादमा थियो । त्यस्तो समयमा हामीले साथ दियौं भन्ने दाबी काँग्रेसको छ । पछि प्रदेश र केन्द्रको चुनावमा एमालेसँग गठबन्धन गरेर उनले चुनाव जिते ।
‘प्रचण्डले चुनाव जित्न गाह्रो छ भन्ने बुझेर नै चुनाव प्रचारमा खट्नुभएको हो । उहा“ त्यसरी नहिँडेको भए चुनाव हार्नुहुन्थ्यो । त्यो बेला केही सान्त्वना भोट पनि आएर चुनाव जित्नुभयो । त्यो बुझेर अहिलेदेखि नै उहा“ चितवन केन्द्रित हँुदै अर्को चुनावको तयारी गर्नुभएको हो’, चितवनका काँग्रेस सभापति जितनारायण श्रेष्ठले भने, ‘२ पटक प्रधानमन्त्री भइसकेको मान्छे, चुनाव जितेपछि धेरै विकासका काम गर्छु भन्नुभएको छ । उहा“ले विकास गर्नुभयो भने हामी पनि स्वागत गर्छौ । तर, बोलेर भएन काम गरेर देखाउनु प¥यो । हामी विकास विरोधी होइनौं । काम गर्नु भएन भने खबरदारी गर्न पनि पछि परिन्न ।’
भरतपुर महानगरपालिकाको चुनावमा छोरी रेणुले चुनाव जिते पनि विवादमुक्त भएन । चितवन काँग्रेस यही कारण रुष्ट देखिन्छ ।
प्रतिनिधि सभाको निर्वाचनमा एमालेसँग गठबन्धन गरेता पनि चुनावमा प्रचण्डले कठोर मिहिनेत गर्नुपरेको उनी आफैले स्वीकार एमाले माओवादी मिल्दा पनि प्रचण्डको मतान्तर अन्य शीर्ष नेताको भन्दा निकै कम हो । अहिले रुष्ट रहेको काँग्रेसलाई कम विरोधी बनाउन सक्ने अफ्ठ्यारो प्रचण्डलाई छ । सबै पार्टीलाई समेटेर विकासका काम अघिसार्ने योजनामा प्रचण्ड देखिन्छन् । त्योसँगै अहिलेको जनमत जोगाइराख्नु र अर्को निर्वाचनलाई सहज बनाई अहिलेको मतपरिणामको मतान्तर बढाउनुपर्ने चुनौती उनले लिएको पाइन्छ । त्यसकारण पनि प्रचण्ड चितवन केन्द्रित भएका हुनसक्छन् ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप