बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

घरघरमा इन्डक्सन चुल्हो बाल्नेगरी विद्युत उत्पादन हुँदैछः मन्त्री पुन

आइतबार, १६ वैशाख २०७५, १२ : ३४
आइतबार, १६ वैशाख २०७५

 रसुवा–उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले जनताको घरघरमा इन्डक्सन चुल्हो बाल्नेगरी विद्युत उत्पादन हुन लागेको बताएका छन् । 

१० वर्षमा कम्तीमा १० हजार मेगावाट विद्युत उत्पादन गरेर नेपाललाई जलबिद्युतमा आत्मनिर्भर बनाउने नीति अगाडि ल्याउन लागेको बताएका हुन् ।  

रसुवामा निर्मार्णाधिन जलबिद्युत आयोजनाको अवलोकन गरेर काठमाडौं फर्कने क्रममा आइतबार बिहान कालिका गाँउपालिकामा गरिएको स्वागत कार्यक्रममा मन्त्री पुने स्थानीयको ज्ञापनपत्र बुझ्दै सो कुरा बताएका हुन् । 

उनले जनमतबाटै परिमार्जन गर्न सक्ने संविधान आएको बताउदै अब विकास निमार्णका लागि स्थायित्वको जग खडा भएको उल्लेख गरे  । 

उनले भने–‘नेपाली जनताको चाहना विकास र समृद्धि हो । विकास र समृद्धिबिना कुनै पनि राजनीतिक परिवर्तन संस्थागत हुन सक्दैन । सत्तापक्ष र प्रतिपक्ष मिलेर राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि काम गर्नुपर्छ । अहिले हामीप्रति जनअपेक्षा बढी छ । जनअपेक्षा अनुसार काम नभए सरकार खुकुरीको धारमा हुन्छ । सरकार अत्यन्तै गंभिर ढंगले जनअपेक्षा पूरा गर्न प्रतिबद्ध छ ।’

मन्त्री पुनले भूकम्पपछि रसुवा व्यापारिक र पारवाहन केन्द्रका रुपमा स्थापित गराउन लागेको जानकारी गराए । उनले रसुवामा नयाँ सम्भावनाको ढोका खुलेको बताँउदै उत्तरतिरबाट आउने रेलको बाटो, र नेपाल, भारत, चीन जोड्ने त्रिदेशीय प्रसारण लाइन यहीँबाट सुरु हुने बताए । 

रसुवा सबै कोणबाट आकर्षणको केन्द्र बन्दै गरेको बताउँदै मन्त्री पुनले अहिले ट्रान्समिटर लाइनमा समस्या आएको बताए ।

 यो समस्या समाधानका लागि स्थानीयले पनि लाभ पाउने गरी नयाँ मोडेलमा नयाँ नीति शूरु गर्न खोजेका उनको भनाई छ । 

उनले भने–‘प्रभावित क्षेत्रका बासिन्दालाई सबैभन्दा बढी लाभ पाउने र समग्र नेपाली जनताले पनि लाभ पाँउने नीति निर्माण गर्न खौज्दैछौँ । सबै आयोजनाबाट स्थानीयले लाभ पाउने कार्ययोजना अगाडि बढाउन गइरहेका छौँ । ५ सय मेगावाट अहिले नै छ, अरु थप योजना पनि थपेर रसुवाबासीलाई थप शेयर दिएर सम्पन्न बनाउने हाम्रो योजना छ ।’

मन्त्री पुनले अहिले सबा खर्ब भन्दा बढी इन्धन आयात भइरहेको र त्यसलाई  प्रतिस्थापन गरेर ब्यापार घाटा कम गर्ने सरकारको रणनीति रहेको बताए । उनले  १० बर्षमा १० हजार मेगावाट बिद्युत उत्पादन गरेर  हरेक घर घरमा बिद्युतिय चुलो अभियान अगाडि बढ्ने उल्लेख गरे । 

रसुवाबासीको मागलाई संबोधन गर्दै उनले रसुवामा स्नातकोत्तर तहसम्म अध्यापन हुने क्याम्पस लगायतका अन्य विकास निर्माणको कामका लागि पहल गर्ने बताए । 

मन्त्री पुनलाई ज्ञापनपत्र बुझाउदै कालिका गाँउपालिकाका उपाधयक्ष भवानी प्रसाद न्यौपानेले रसुवामा उत्पादित जलबिद्युत आयोजनाको प्रतिफल कालिका गाउँपालिकालाई पनि उपलब्ध गराउन आग्रह गरे ।

उनले गाउँपालिकाका कृषियोग्य भूमि भएपनि सिंचाइको असुविधा भोग्नुपरेको गुनासो गरे । जलबिद्युत आयोजनाबाट प्राप्त प्रतिफलाई रसुवाको मिडिया क्षेत्रको विकासमा पनि सहयोग गर्नुपर्ने बताए ।

यस्तै माओवादी केन्द्रका रसुवा जिल्ला अध्यक्ष इन्द्र गौतमले रसुवामा निर्माणाधिन झन्डै ५ सय मेगावाट जलबिद्युत  आयोजना रहेको बताउदै जिल्लाको विकासमा यसको समुचित प्रयोग हुनुपर्ने बताए । रसुवा पर्यटकीय क्षेत्र समेत रहेको बताउँदै उनले पर्यटन विकासका लागि विशेष कार्ययोजना ल्याउन आग्रह गरे । 

यस्तै नेकपा एमाले जिल्ला अध्यक्ष माधव अर्यालले रसुवाका जलबिद्युत आयोजनाबाट समग्र स्थानीय तहले लाभ लिने नीति बनाँउन आग्रह गरे । उनले रसुवामा एउटा पनि नगरपालिका नभएको बताउदै कालिका गाउँपालिकालाई नगरपालिकाका लाई नगरपालिका बनाँउन पहल गर्न आग्रह गरे । उनले जलबिद्युत आयोजनामा कुनै पनि बहाना बनाएर स्थानीयले बन्द हडताल गर्ने कामलाई प्रश्रय दिन नहुने उल्लेख गरे ।  
 

  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप