प्रेमबारे रञ्जु : यो प्रश्न ‘स्कीप’ गरौं न ‘प्लीज’

person access_timeअसार २५, २०७४ chat_bubble_outline0


स्थानीय तहअन्तर्गत पहिलो चरणको निर्वाचनमा विवेकशील पार्टीबाट रञ्जु दर्शनाले काठमाडौं महनगरपालिकामा मेयरको उम्मेदवारी दिइन् । निर्वाचनअघि, पछि र हिजोआज पनि उनको चर्चा/परिचर्चा हुने गर्छ । 


उनले इन्द्रेणी सपना देखेकी छैनन् । ‘आफू भलो त जगत् भलो’ भन्ने उखानको विपक्षमा रहेकी उनको मान्यता छ– आफूलाई मात्रै बनाउन त्यति गाह्रो छैन । तर, समग्र नेपालीको भविष्य उज्ज्वल बनाउन कठिन छ । आफ्नो पुस्तालाई राजनीतिप्रति अभिरुचि जगाउन सकेमा मुलुकको उन्नति भएको देख्न समय लाग्दैन भन्ने विवेकशील पार्टीकी रञ्जु दर्शनासँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :
 

मेरो खाना

म ‘भेजिटेरियन’ हुँ । त्यस्तै खानेकुरा मन पर्छ । चिल्लो, पिरो, माछा, मासु र अन्डा मन पर्दैन । भान्छामा लौकाको तरकारी नपाकिदिए हुन्थ्यो भन्ने लाग्छ । हिजोआज खानकै लागि रेष्टुरेन्ट जान पाएकी छैन । फुर्सदमा टिचिङको मःमः म्याजिक पुग्छु । त्यहाँको मःमःको स्वाद जिब्रोमै झुन्डिनेखालको छ । 


रेष्टुरेन्ट पुगिहाल्दा रोजाइको स्न्याक्स चिप्स चिल्ली हो । तर, पिरोविनाको मगाउँथें । म खाजासम्म पकाउँछु । खाना पकाउनभन्दा भाँडाकुँडा माझ्न रुचाउँछु । 

मेरो पोसाक
विशेषतः ‘क्याजुअल वेयर’ लगाउँछु । आफैंले किन्न नभ्याउने भएकाले चुजी बन्न भएन । आवश्यक परेपछि मात्रै पोसाक किन्ने हो । तसर्थ, धेरै खर्च हुँदैन । मलाई चाहियो भनेर ‘कजन सिस्टर’हरूलाई पनि माग्छु ।


‘ब्ल्याक एन्ड ब्ल्यु कलर’ का पोसाक मन पर्छ । कपडा किनेरै सिलाउने भनेको कुर्तासुरुवालमात्रै हो । नत्र रेडिमेड धेरै हुन्छन् । ब्रान्डमा त्यति सचेत छैन । जाडो महिनामा टोपी लगाउने गर्छु । 

मेरो फिटनेस
बिहान कम्तीमा आधा घन्टा मेडिटेसन गर्छु । डान्स थेरापी पनि गर्दै आएकी छु । 


 

मेरो अध्ययन

पाठ्यक्रमअन्तर्गत डेभलपमेन्ट स्टडिज र बाहिरकामा डा. राजु अधिकारीको ‘यस्तै हो जीवनशैली’ किताब पढ्दै छु । मुख्यतः राजनीतिसम्बन्धी किताब पढ्न जाँगर चल्छ । म आफैं पनि ‘फिक्सन स्टोरी’ लेख्न रुचाउँछु । कतिपय ‘स्टोरी’ मेरो ब्लगमा पढ्न पाइन्छन् ।


मेरो निजी पुस्तकालयमा ५० किताब होलान् । त्यो पनि तानतुन पारेर संकलन गरेकी हुँ । कतिपय आफैंले किनेकी थिएँ । किताब आवश्यक हुनासाथ कसैलाई ल्याइमाग्छु । मतलब दाजुदिदीलाई किताब किन्न लगाएर पढ्दै आएकी छु । 

मेरो घुमफिर
 

घुमफिरमा असाध्यै रुचि छ । हाइकिङ, ट्रेकिङ जान मन पर्छ । झापादेखि महेन्द्रनगरसम्म आठदिने यात्रा गरेकी छु । ३० बढी जिल्ला पुगेकी छु । गत वर्षको दसैंमा म्याग्दीको पुनहिलसम्म पुगेकी थिएँ । 


घुमेकामध्ये लुम्बिनी असाध्यै मन पर्यो । सुदूरपश्चिमका जिल्ला घुम्न मन छ । अहिलेसम्म विदेश गएकी छैन । 

मेरो फुर्सद
बेफुर्सदी छु । व्यस्तताले मानसिक नभए पनि शारीरिक थकाइ लाग्ने नै भयो । जोकोहीले सम्बन्धित पेसा व्यवसायबाट कहिलेकाहीं आराम गर्न आवश्यक छ । स्थानीय तहअन्तर्गत पहिलो चरणको निर्वाचनपछि एक दिन आराम गर्न ललितपुरको बडिखेलमा रहेको ठूलीममीको घर पुगेकी थिएँ । त्यहाँबाट लेलेसम्मको हाइकिङ पनि गरें । 


फुर्सद भइहालेमा हजुरआमासँग कुराकानी गर्न रुचाउँछु । हजुरआमाबाट उहिलेका कुरा सुन्दा आनन्द लाग्छ । त्यसबखतका नेपाल बुझ्न सघाउँछ । परिवारसँग कहिलेकाहीं रेष्टुरेन्ट र फिल्म हेर्न जाने गर्छु । 

मेरो खेलकुद
हेर्नका लागि फुटबल र क्रिकेट रमाइलो लाग्छ । खेल्नचाहिँ ब्याडमिन्टन । म ब्याडमिन्टन खेल्छु । चार महिनाअघि पनि खेलेकी थिएँ । वल्र्डकप हुँदा ब्राजिललाई ‘सपोर्टर’ हुँ । 

मेरो मोबाइल
सामसुङ ग्यालेक्सीको सेट प्रयोग गर्दै आएकी छु । यो साथीले उपहारस्वरूप पठाइदिनुभएको हो । बिग्रेपछि मात्रै मोबाइल किन्ने गर्छु । मोबाइलका एप्लिकेसन्स सदुपयोग गर्न पछि परेकी छैन । 

मेरो टेलिभिजन
समाचार प्राथमिकतासाथ हेर्छु । म्युजिक च्यानल पनि रोजाइमा पर्छन् । घरमा भएको टीभीको ब्रान्ड र साइजबारे अनभिज्ञ छु ।

मेरो चलचित्र
चलचित्र एकदमै कम हेर्छु । प्रियंका कार्की र दयाहाङ राईको अभिनय लोभलाग्दो छ । 

मेरो रोग
ज्यानलाई ठिकठिकै छ । दीर्घरोग छैन । नहोस् पनि । बिरामी भएर अस्पताल पुग्दा ‘होलबडी चेकअप’ गराउने बानी छ । स्वस्थ रहन पानी धेरै पिउनुपर्छ । सकारात्मक सोच्नुपर्छ । अस्वस्थ खानेकुरा खानुहुँदैन । मेडिटेसन त छँदै छ । यति गर्न सकियो भने स्वस्थ रहन सकिँदोरहेछ । 

मेरो भाषणशैली
विषयवस्तुअनुसार मेरो भाषण आक्रामक हुन्छ । भाषण गर्नुअघि सम्बन्धित विषयवस्तुमा पढेकै हुनुपर्छ । भाषण गरेकै आधारमा विवादमा तानिएकी छु । त्यो अस्वाभाविक होइन । 

मेरो मापसे
अहिलेसम्म मापसे गरेको छैन ।

मेरो संगीत
गीत/संगीत सुन्छु । अरूणा लामा, राजु लामा र नवीन के. भट्टराईको आवाज मन पर्छ । ‘सम्झना बिर्सना सलललल’ शीर्षाकृत गीत समय÷समयमा गुनगुनाइरहन्छु । 

मेरो भूल
मानिस भएपछि जान÷अन्जानमा भूल गरिन्छ । म पनि अछुतो छैन । तर, पश्चाताप लाग्नेगरी भूल गरेकी छैन । भूल गरेपछि कर्मले सजाय दिन्छ । अरूले दिनै पर्दैन । ‘म्याथ’ को टेबल नआउँदा शिक्षकबाट सजाय पाएकी थिएँ । 

मेरो घर
म महाराजगन्ज चक्रपथमा जेन्मे÷हुर्केकी हुँ । म बस्दै आएको घर हजुरआमा र ममीको हो । यो २०५५÷०५६ तिर बनाइएको हो । घरको डिजाइन साधारण छ । घर बनाउँदा कति खर्च लाग्यो मलाई थाहा भएन । 

मेरो राशी
मेरो राशी कर्कट हो । ग्रहदशा ठिकै होला, त्यही भएर ठिकठाक छु । आजसम्म ग्रहशान्ति गराएकी छैन । देब्रेहातमा लगाएको औंठी हजुरआमाले दिनुभएको हो ।

मेरो सौन्दर्यचेत
कपालमा केही पनि लगाउँदिनँ । फेसियल गराएकी छैन । अनुहार सुख्खा भयो भने कहिलेकाहीं सामान्य क्रिम लगाउँछु । 

मेरो प्रेम
यो ‘क्वैसन स्कीप’ गरौं न प्लिज ।

मेरो सपना
झाडापखालाको औषधि नपाएर कोही पनि मर्न नपरोस् । नागरिकका लागि चाहिने आधारभूत आवश्यकताले परिपूर्ति भएको मुलुक बनाउने ध्येय हो । सहरमा मात्रै विकास भएर मुलुक पुग्दैन । गाउँगाउँसम्म विकास हुनुपर्यो । 


आफूलाई भन्दा मेरो पुस्तालाई राजनीतिमा अभिरुचि जगाउने बनाउने सोचेकी छु । त्यसमा लागिपर्नेछु । गर्न नसकिने केही छैन । 

मेरो मृत्यु
 

मृत्यु जीवनको एक पाटो हो । मृत्यु एक दिन अवश्य हुन्छ । डर लाग्दैन । गोरखा भूकम्पपछि मृत्युसँग झनै डर लाग्न छाड्यो । गोरखा भूकम्प जाँदा नेपाल यातायातमा थिएँ, त्यतिबेला मृत्युको नजिक पुगेको अनुभूति गर्न पाएँ । 


भूकम्पपीडितलाई राहत बाँड्न सिन्धुपाल्चोकको लिस्तिकोट पुगेका थियौं । जाँदा अघिअघि डोजरले बाटो बनाउँदै गयो, पछिपछि हामी थियौं । राहत बाँडेर काठमाडौ फर्कंदा भूकम्प गइरहेकै थियो । त्यतिबेलाचाहिँ डर लाग्यो ।


मृत्युबारे केही पनि सोचेकी छैन । 
 

यो जीवनकथा पनि पढ्नुहोस्

 

कृषिविद् मदन राईको जीवन : मेरो मलामी श्रीमती पनि नजाऊन्

 

नेपाल टेलिकम प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको जीवन : नेपाल टेलिकमलाई ‘लिडिङ रोल’ मा राख्न प्रतिबद्ध

अमेरिकाका लागि नेपाली वाणिज्यदूत कृसु क्षेत्रीको जीवन : माफी माग्दै उनले प्रेमपत्र पठाइन्

दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ