शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ब्लगः म्याच फिक्सिङ रिपोर्टिङका ९ दिन

आइतबार, २५ असार २०७४, ११ : ३२
आइतबार, २५ असार २०७४

मदन ढुङ्गाना


कीर्तिपुरमा असार ५ गतेदेखि चलेको एउटा ‘अन्तर्राष्ट्रिय’ खेल, जसको आयोजक थियो एसियन क्रिकेट फेडेरेसन । यसले ६ देशबाट अन्तर्राष्ट्रिय खेलाडी ल्याएर खेल खेलाउने भन्दै व्यापक प्रचारबाजी गर्यो र एसियन क्रिकेट लिग अर्थात् एपीएल टी ट्वान्टी सुरु भयो । म कहिलेकाहीँ क्रिकेट हेर्ने गरे पनि त्यति धेरै ध्यान दिने व्यक्ति भने होइन । तर आयोजकले श्रीलङ्काका पूर्वखेलाडी तिलकरत्ने दिलसानलगायतका खेलाडी ल्याएर नेपालमा खेल खेलाउने र सोनी सिक्स टेलिभिजनबाट त्यसको प्रत्यक्ष प्रसारण गर्ने भनेपछि केही चाख दिएको थिएँ । 


प्रारम्भिक चरणका खेलहरू मैले हेर्नै पाइन वा भनाँै कार्य व्यस्तताका कारण हेर्न सकिनँ । तर जब मैले असार १३ गतेको खेल टेलिभिजनबाट हेरेँ अनि मलाई अचम्म लाग्यो । मैले हेर्ने गरेको अन्तर्राष्ट्रिय क्रिकेटमा त यति लज्जास्पद खेल हुँदैन थिए । त्यहाँ हातमा परेको बललाई फुत्काएर जबरजस्ती बाउन्ड्री कटाइएको थियो । रन आउट हुनै नसक्ने बेलामा रन आउट भएको थियो भने दौडेर भेट्ने बललाई पनि छाडिदिएर चौका दिइएको थियो । खेलमा ‘फिक्सिङ’को शङ्का लागेपछि यही विषय मैले जनता टेलिभिजनका समाचार प्रमुख अरुणदेव जोशीलाई बताएँ । अरुण सरले पनि यी खेलहरूमा फिक्सिङ भएको शङ्का गर्नुभयो । त्यसपछि भने यो खेलबारे बुझ्नैपर्ने निर्णय गर्दै खेल हेर्न कीर्तिपुर मैदान पुगियो । कीर्तिपुरमा भएको खेलको प्रकृति हेर्दा के स्पष्ट हुन सकिन्थ्यो भने खेलमा फिक्सिङ भएकै छ । यो ‘ओपन सेक्रेट’ त खेल हेर्ने दर्शक र खेलकुद पत्रकार सबैलाई जानकारी थियो, मात्र आधार र प्रमाण भेट्न गाह्रो थियो । 


त्यसपछि सुरु भयो, एसियन प्रिमियर लिगमा म्याच फिक्सिङ रिपोर्टिङको शृङ्खला । म आफ्नो टिमसहित दोस्रो दिन फेरि कीर्तिपुर पुगेँ र खेल हेरेँ । त्यो खेलमा पनि मिलेमतो भएको स्पष्ट बुझियो तर प्रमाण भएन । तर आयोजकले झुट बोलेको र झुटो विवरण पेश गरेको भने पत्ता लाग्यो । 


खेलसम्बन्धी आधिकारिक वेभसाइट एसियन प्रिमियर लिग डट एसियामा आयोजक एसियन क्रिकेट फेडेरेसन लेखिएको रहेछ । तर त्यो संस्था क्रिकेटसँग सम्बन्धित संस्था नै नभएको र कतै दर्ता नभएको पत्ता लाग्यो । अर्को झुट आयोजक भनिएको अर्को सस्ंस्था क्रिकेट काउन्सिल अफ इन्डिया थियो । जबकि यो संस्था पनि दर्ता नभएको र क्रिकेटसँग सम्बन्धित संस्था नै नभएको पत्ता लाग्यो । हामीले यी दुई संस्थाको आधिकारिकताबारे आयोजकका अध्यक्ष आर एस डान्डीवाललाई सोध्यौँ, उनले ती संस्थाहरू दर्ता नै नभएको स्वीकार गरे ।

जब आयोजक नै फिक्सर भएको पत्ता लाग्यो ...
डान्डीवालको बयानपछि सुरु भयो गहन खोज । खोजका क्रममा पत्ता लाग्यो, खेलमा फिक्सिङ नभएर खेल नै फिक्सर अर्थात् सट्टेबाजहरूले खेलाएका रहेछन् । नेपालमा कानुन कार्यान्वयनको फितलो पाटो देखेर उनीहरूले नेपालमा खेल खेलाएका रहेछन् र खेलबाट पैसा कमाउने उद्देश्य रहेछ । यहीबीचमा खेलमा फिक्सिङ गराउन संलग्नहरू मनी भन्ने मनवीर, कुलदीप, प्रदीप, करन वालियालगायतको संलग्नताको पुष्टि भयो । मनीले नै खेलाडीलाई कुनलाई जिताउने र कुनलाई हराउने भनेर भन्दा रहेछन् । अनि कुन कलमा चौका हान्ने कुनमा छक्का हान्ने र कुन बल नो बल फाल्नेसमेत उनैले भन्दा रहेछन् । अनि कीर्तिपुरबाटै अनलाइन बेटिङको धन्दा चल्दोरहेछ । जुन कुराको सदृश्य प्रमाण हामीले उनीहरूकै भारतीय खेलाडीलाई प्रयोग गरेर देखायौँ । त्यो त त्यसअघि नै एकजना नेपाली खेलाडीले यी खेलहरूमा फिक्सिङ भएको बताइसकेका थिए, मात्र हामीलाई प्रमाण जुटाउनु थियो । 


सबै प्रमाण जुटेपछि हामीले असार १५ गतेदेखि कीर्तिपुरमा जारी खेल फिक्सरहरूले खेलाएको भनेर समाचार सुरु गर्यौँ । पहिलो दिन सामान्य जानकारी दिनेगरी समाचार प्रसारण भयो भने दोस्रो दिन फिक्सिङको प्रमाणस्वरूप हामीले समाचार दियौँ । त्यसपछि हामीलाई असार १८ गते आइतबार त प्रवेश नै दिइएन, जब कि म लगायत मेरो टिमसँग सूचना विभागबाट जारी पास र आयोजकले उपलब्ध गराएको अर्को पास पनि थियो । 


यसै विषयमा हामीले खेलकुद परिषद्लगायतका सरोकारवाला निकायलाई जानकारी गरायौँ र सोही दिन को–को हुन् फिक्सर भनेर भिडियो देखायौँ । हामीले यो खेलमा फिक्सिङ भएकाबारे महानगरीय अपराध महाशाखा टेकुका एसएसपी दिनेश अमात्यलाई पनि जानकारी दियौँ । उनले ‘छानविन गर्छु भन्दै हामीलाई पन्छाइदिए । यद्यपि हामी हाम्रो काम गरिरह्यौँ । 

को थिए १२ पत्रकार ?
यहीबीचमा राष्ट्रिय खेलकुद परिषद्का कर्मचारी चूडामणि खरेलले आयोजकसँग सबै कागजात मागेर दिने भन्दै हामीलाई नै झुक्याए । सुरुमा उनले भारतीय दूतावासको सिफारिश पत्र मिडियामा नल्याउन आग्रह गरे र साँझ सदस्यसचिव, आयोजक र तपाईं हामी सबै बसेर छलफल गर्दै कागजात माग्ने बताए । सोही अनुरूप हामीलाई आयोजक बसेको होटल अन्नपूर्णमा बोलाइयो । तर न सदस्यसचिव केशवकुमार बिष्ट आए, न त खरेल नै । बरु हामीलाई अर्कै व्यक्ति प्रयोग गरेर आयोजकमध्यकै अर्का एक व्यक्तिसँग भेटाइयो र मिल्न भनियो । तपाईंजस्तै अन्य १२ जना पत्रकारसँग टेकुमा वार्ता चलिरहेको भन्दै उनले हामीलाई पनि ती १२ पत्रकारसँग मिल्न आग्रह गरे । हामीले त्यो आग्रह अस्वीकार गर्यौँ । 


कुन कुन व्यक्तिले कसरी फिक्सिङमा काम गरिरहेका छन् भनेर हामीले देखाइदिएपछि केही खेलाडी र आरोपितहरू मध्यरातमै होटलबाट फरार भए । तर त्यसको भोलिपल्ट अर्थात् फाइनल खेल हुने दिन असार २० गते बिहानै खेलका आयोजक भनिने स्वामी चिन्मयनन्दको फोन आयो । आफू खेलको आयोजक भन्दै उनले किन फिक्ङिसम्बन्धी रिपोर्टिङ गरेको भन्दै धम्क्याउन खोजे । कुराकानीको सुरुवातमै उनले परिवार सबै ठीक छ नि हैन भन्दै धम्काउने प्रयास गरे । यससम्बन्धी रिपोर्टिङ नगर्न भन्दै यसैमा भलाइ हुने बताए । यो उनको आग्रह नभएर धम्की थियो, जुन मसँग अझै सुरक्षित छ ।

पत्रकारलाई सधैँको सेक्युरिटी थ्रेट
जब हामीले फाइनल खेल हुने अघिल्लो साँझ खेलाडी तथा आयोजकको मिलेमतोबारे सदृश्य प्रमाण पेश गर्यौँ, फाइनल खेल खेलाउन नै हम्मेहम्मे पर्ने स्थिति आयो । यही विषयलाई लिएर गृह मन्त्रालयले छानविन गर्न प्रहरीलाई भनेको थियो भने गृह मन्त्रालय, क्यानका पूर्व सदस्यहरूबीच छलफल नै चलेको थियो । यस खेलमा भारतीय राजदूतावासको प्रत्यक्ष संलग्नता भएका कारण विषय गम्भीरसमेत थियो । यसै कारण हुनसक्छ, गृह मन्त्री जनार्दन शर्माको सचिवालयमा काम गर्ने एकजना मित्रले बिहानै फोन गरेर तपाईंलाई खतरा भएकाले बाहिर ननिस्कन सुझाव दिए । अनि नेपाल क्रिकेट सङ्घ क्यानका पूर्व सदस्यले पनि खतरा भएकाले एक्लै कहीँ नजान सुझाव दिए । 

पत्रकारलाई प्रहरीको असहयोग किन ?
जब चौतर्फी सुरक्षा खतरा बढेको जनाउ भयो, मैले यो कुरा उपत्यकाको सुरक्षा हेर्ने मेट्रो वानका डीआईजी बमबहादुर भण्डारीलाई जानकारी गराएँ । उनले सुरक्षा खतरालाई मध्यनजर गर्दै महानगरीय प्रहरी परिसरबाट २ जना प्रहरीलाई सिभिलमा पठाइदिन भने । तर जब म परिसरको कार्यालय टेकुमा पुगेँ, कथा मोडियो । परिसरका एसएसपी छविलाल जोशीले सुरक्षा खतरा भए आफूसँगै बस्न भने, जबकि एक क्रियाशील पत्रकारका लागि त्यो सैह्य हुने कुरै थिएन । जोशीको प्रस्ताव अस्वीकार गर्दै मैले रिपोर्टिङमा जानैपर्ने कुरा बताएँ । तर उनले यो वा त्यो बहाना बनाएर सुरक्षा दिनै नचाहेको स्पष्ट गरे । हामी त्यहाँबाट बाहिरियौँ । 


यहीबीचमा सर्वोच्च अदालतमा खेल रोक्न भन्दै रिट दायर भयो । तर अदालतले समयमै रिटमाथि बहस गरेन र खेल सकिएको भोलिपल्ट मात्रै बहस गर्दै र खेल खेलाउनुको उद्देश्य र औचित्यबारे प्रष्ट पार्न भन्दै विपक्षीहरूलाई कारण देखाउ आदेश दियो । हामीले सप्रमाण म्याच फिक्सिङको समाचार दिए पनि प्रहरीले यसमा त्यति धेरै चासो दिएन । परिसरका एसएसपी छविलाल जोशीको हर्कत त यतिसम्म भयो कि बङ्गलादेशी खेलाडी आफै प्रहरी कार्यालयमा पुगेर म्याच फिक्सिङ भएको बताइरहँदा समेत उल्टै ती खेलाडी र हामीलाई अपशब्द बोल्दै गाली गरे । यसभित्रको उनको भूमिका के हो, बुझ्नै सकिएन । 

के हेर्दैछ सरोकारवाला निकाय ?
अचम्मका विषय त यो छ कि खेलमा मिलेमतो भएको, सट्टेबाजहरूले नै खेल खेलाएको र त्यसमान नेपाली खेलाडीसमेत खेल्दा पनि प्रहरी प्रशासनले फिक्सिङबारे खाजबिन गरेको जानकारीसम्म आएन । अहिले पनि फिक्सिङका प्रमाण मसँग सुरक्षित छ, जसमा नेपाली खेलाडीले समेत खेलमा मिलेमतो भएको स्वीकारेका छन् । तर यसबारेमा न खेलकुद परिषद्ले चासो दिएको छ न त प्रहरी प्रशासन नै तातेको छ । बरु मजस्ता खोज पत्रकारहरू कुन दिन कसको गोलीले उड्नुपर्ने हो थाहा छैन । किनभने यस्ता खेल र कर्तुतहरूमा सरकारी निकायदेखि सबैखाले गुण्डा र तस्कारहरूको प्रत्यक्ष संलग्नता हुन्छ । 


(पत्रकार ढुङ्गाना जनता टेलिभिजनका संवाददाता हुन् । उनी खोज पत्रकारितामा सक्रिय छन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप